होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नयाँ नेतृत्व चयन हुने भएको छ।
बुधबार प्रदेशको दामन, चित्लाङमा बस्ने संघको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको हो।
संघको भावि नेतृत्व सर्वसम्मतिमा नै चयन गर्ने तयारी रहे पनि हालसम्म दुई जनाले अध्यक्षमा आकांक्षा देखाएका छन्।
संघको वर्तमान कार्यसमिति महासचिव दामोदर नेपाल र सचिव श्यामकुमार श्रेष्ठले अध्यक्षमा लड्ने घोषणा गरेका छन्।
यद्यपि, वर्तमान कार्य समितिकै वरिष्ठ उपाध्यक्ष दिपेश सुवेदी, द्वय उपाध्यक्ष निर्पु सर्राफ र देवराज नेपालले समेत अध्यक्षमा चासो देखाएका छन्। अन्य पदाधिकारी र सदस्यहरुमा भने अहिलेसम्म कसैको पनि उमेद्वारी दाबी घोषणा भएको छैन।
प्रारम्भिक रूपमा अध्यक्षमा पाँच जनाले आकांक्षा देखाएपनि संघको नेतृत्व सर्वसम्मतिबाटै खोजिने अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए।
'संघको वर्तमान कार्यसमिति वरिष्ठ उपाध्यक्ष, पहिलो र दोस्रो उपाध्यक्षसँगै महासचिव र सचिवले समेत अध्यक्षमा आकांक्षा देखाउनु भएको छ। तर निर्वाचन हुँदैन, हामी अधिकतम गृहकार्य गरेर सर्वसम्मतिमा नै नेतृत्व चयन गर्छौ' उप्रेतीले भने।
वर्तमान कार्यसमिति सर्वसम्मतिमा नै चयन भएकाले भावि नेतृत्व पनि सर्वसम्मतमै चयन गर्ने गरी सहमति जुटाउने प्रयास भइरहेको छ।
तीन वर्षे कार्यावधि हुने संघको नेतृत्वमा २३ जना सदस्य रहने छन्। २० जना प्रत्यक्ष चयन भएर बाँकी तीन जना सदस्य भने निर्वाचित कार्य समितिले मनोनित गर्ने संघको विधानमा व्यवस्था छ।
संघको वर्तमान अध्यक्ष उप्रेती आफ्नो ३ वर्षे कार्यकाल सकेर विदा हुँदैछन् उप्रेती यसअघि नै होटल तथा पर्यटन व्यवसायी महासंघको उपाध्यक्षमा चयन भइसकेका छन्।
कोभिड–१९ का कारण झण्डै साढे ३ वर्ष संघको नेतृत्व हाकेका उप्रेतीले आफ्नो कार्यकालमा संघमा आवद्ध व्यवसायीहरूलाई व्यवसायिक सहजिकरणका लागि राज्यसँग सहुलीयतपूर्ण कर्जाको प्रबन्ध गर्नेदेखि व्यवसायिक भाडा छुट तथा राहतको व्यवस्था गराएका थिए।