जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः सुरू गर्ने भएको छ। जजिरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट सातामा तीनवटा उडान गर्ने कम्पनीको भनाइ छ।
जजिराले भैरहवाबाट कुवेतकोलागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ बजेर ५ मिनेटमा उडान भर्नेछ भने कुवेतमा स्थानीय समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा अवतरण गर्नेछ।
साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार आठ सय ३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ।
नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहका अनुसार जजिराले नेपालको प्रबर्द्धनमा सहयोग पुर्याउने छ। उनले भने, 'यसले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पुर्याउँछ भन्नेमा हामी विश्वस्त छौं।'