चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले चीन-नेपाल उडान थाल्ने भएको छ। कोभिडयता बन्द रहेको सिचुआनको व्यवसायिक उडान फेरि नियमित हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आगामी चैत ६ गते (मार्च २०, २०२३) देखि एयरलाइन्सले चीनको छेन्दुबाट काठमाडौंका लागि सिधा उडान गर्नेछ। कोरोनापछि कार्गो उडान गरिरहेको सिचुआनले अब यात्रु उडान गर्ने भएको हो।
सिचुआनले चैत ६ गतेदेखि सोमबार, बुधबार र शुक्रबार छेन्दुबाट काठमाडौं उडान गर्नेछ। छेन्दुबाट स्थानीय समय अनुसार २ बजे उड्ने जहाज त्रिभुवन विमानस्थलमा स्थानीय समय अनुसार २ः४५ मा अवतरण गर्नेछ। काठमाडौंबाट सोही दिन ३ः३५ बजे उड्ने जहाज छेन्दुमा स्थानीय समय अनुसार ९ बजे अवतरण गर्नेछ।
हाल हिमालय एयरलाइन्स र चाइना साउदर्नले चीन-काठमाडौं उडान गरिरहेका छन्।