बुद्ध एयर काठमाडौं केन्द्रित उडानलाई प्रदेशहरुबाट पनि विस्तार गरिरहेको छ।
यही फागुन २५ (मार्च)देखि पोखराबाट भद्रपुरको दैनिक सिधा उडान गर्न लागेको बुद्धले जनाएको छ। पोखरादेखि भद्रपुरको उडान अवधि करिब एक घण्टाको हुनेछ। यी गन्तव्यको प्रमोशनल भाडादर सात हजार पाँच सय कायम गरिएको छ।
पोखराबाट हरेक बिहान ६ बजेर १५ मिनेटमा भद्रपुरका लागि उडान हुनेछ। त्यस्तै भद्रपुरबाट पोखराको उडान समय साँझ ६ बजेर ५५ मिनेटमा रहेको छ।
बुद्धले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै दुई सहरबीचको सिधा हवाई उडानले आगामी दिनमा पर्यटकको चहलपहल बढ्ने बताएको छ।
भद्रपुर नजिकै रहेका चियाबगान, विभिन्न धार्मिकस्थल तथा देशकै होचो ठाउँको अवलोकन गर्न सकिन्छ। इलाम तथा ताप्लेजुङबाट पूर्वको सगरमाथा, मकालु, कञ्चनजंघालगायतका हिमश्रृंखला सजिलै हेर्न सकिन्छ।
यस सिधा उडानबाट भद्रपुर नजिक रहेका भारतीय शहरहरू सिक्किम तथा पश्चिम बंगालका दार्जिलिङ, सिलिगुढी तथा विभिन्न शहरका पर्यटकहरुलाई पोखरा आवतजावत गर्न निकै सजिलो हुने बुद्ध एयरले बताएको छ।
यस्तै भद्रपुर तथा सिमापारीका पर्यटकहरुले पोखरा तथा वरिपरि रहेका तालतलाउ, हिमश्रृंखलाको आनन्द लिन सक्छन्। एडभेन्चर्स, ट्रेकिङ रुचाउने पर्यटकका लागि पोखरा अपरिहार्य गन्तव्य रहेको छ।
बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि सञ्चालनमा ल्याएको छ।
बुध्दसँग हाल ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा रहेका छन्।