लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकलाई लक्षित गर्दै ट्रेकिङ रूट सार्वजनिक गरेको छ।
प्राकृतिक सम्पदाहरू हेर्दै रमणीय वातावरणमा हिड्न मिल्ने ट्रेकिङ रूट रहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।
पछिल्लो समय ट्रेकिङमा आन्तरिक पर्यटकहरूको पनि चासो बढ्दो छ। ट्रेकिङका पारखीहरूलाई लक्षित गरेरै यी रूटहरू तयार गरिएको गाउँपालिकाका अध्यक्ष अधिकारी बताउँछन्।
'पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिका अत्यन्त्यै सम्भावना भएको क्षेत्र हो। केही दिनको क्याम्पिङ ट्रेकका लागि अत्यन्तै उपयुक्त गन्तव्यको रूपमा यहाँ थुप्रै स्थानहरू छन्,' उनले भने, 'यी ठाउँहरूको प्रवर्द्धनका लागि हामी मिलेर काम गर्नेछौं।'
पालिकाले चालु आर्थिक वर्षका लागि ६९ लाख बजेट पर्यटन शीर्षकमा छुट्याएको छ। विशेष पर्यटकीय सम्भावना रहेका ठाउँलाई प्रवर्द्धन गरी दोर्दी गाउँपालिकालाई उत्कृष्ट गन्तव्य बनाउने तयारी रहेको अध्यक्ष अधिकारीले जानकारी दिए।
यही विषयमा अधिकारीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तीनवटा ट्रेकिङ रूटको चर्चा गरे।
उनकाअनुसार हालसालै दोर्दीमा चार दिनको नयाँ पदमार्ग खोजी कार्य सम्पन्न भएको हो। यससँगै ८ दिन र ११ दिनको ट्रेकिङ रूट पनि करिब एक वर्षमा तयार हुनेछ। ‘जंगलको बाटो भएकाले यी रूटमा केही पूर्वाधारको विकास गर्नुपर्नेछ’, उनले भने।
दोर्दीको नौथरसेराबाट सुरू हुने ट्रेकिङ रूट इलमपोखरी, लिपे लेक हुँदै दाम्राबबाट फेरि नौथरसेरा झर्नेछ। यो ट्रेकिङ चार दिनको हुनेछ।
त्यस्तै नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे हुँदै नौथर शेरा झर्न सकिन्छ। यो रूट भने ८ दिनको हुनेछ।
अर्को रूट भनेको नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरीतिर जानेछ। मेमे पोखरीबाट कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेसी शहर ११ दिनको ट्रेकिङ जान सकिन्छ।
लिपेको सिधै अगाडि देखिने मिमालचुली हिमाल (७८८३ मिटर) पनि दोर्दी गाउँपालिकामा छ। हिमाल चढ्ने सम्भावनाको खोजी भइरहेको छ। लिपे लेकबाट नौटाँचे, दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाब निस्कन सकिन्छ।
मानव वस्ती नभएकाले यो रुटमा मोटर बाटो छैन। यसकारण पनि ट्रेकिङ जानका लागि यो रुट उपयुक्त हुन सक्छ।
पश्चिमतिरको रूट बाह्र पोखरी हुँदै मेमे पोखरी जान सकिन्छ। पूर्वतिरको रूट इलमपोखरी हुँदै लिपे जान सकिन्छ। पूर्वी रूटको लिपे र पश्चिम रूटको मेमेपोखरी जोड्नका लागि पहल भइरहेको उनले बताए।
इलमपोखरी-लिपे-दाम्राब छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रूचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको ‘वार्मअप’ ट्रेकको रुपमा पनि जान सकिन्छ। यहाँको रूटहरू राउण्ड ट्रेक भएकाले यात्रा सकिँदासम्म उत्साह कायम रहन्छ।
मानव बस्ती नभएको सो क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकहरूलाई सहज होस् भन्ने हिसाबले पालिकाले रुटमा पर्ने भेडी गोठहरूलाई सेल्टरको रूपमा विकसित गर्ने कार्य गरिरहेको छ।
पालिकाको समन्वयमा भेडी गोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथीको स्वागत् गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम भइरहेको पालिकाका अध्यक्ष युवराज अधिकारीले बताए।
'यसो हुँदा सो रूटमा ट्रेकिङ गरिरहेका पर्यटकहरू हावाहुरी वा हिमपात भइरहेको अवस्थामा भेडी गोठलाई सेल्टर बनाएर बस्न सक्छन् भन्ने अपेक्षा लिएका छौं,' उनले भने, 'मानव बस्ती नरहेका कारण यी रुटहरूमा मोटरबाटोको विस्तार हुने अवस्था छैन। ट्रेकिङको अर्गानिक स्वाद लिनका लागि यो रूट निकै नै शान्त एवम् आनन्ददायी हुने अपेक्षा छ।'
छोटो ट्रेकका लागि अत्यन्तै उत्तम रूट रहेको यस क्षेत्रमा पर्यटकहरूलाई स्वागत गर्न गाउँपालिका आतुर रहेको उनी बताउँछन्। यी रूटबाट धौवलागिरी, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृङ्खलाहरू निकै मनमोहक देखिन्छन्।