संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले विमानस्थल नागरिकको पहुँचमा नरहेको बताएका छन्।
बिहीबार हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले सर्वसाधरणको पहुँचमा विमानस्थल नरहेको बताएका हुन्।
अन्तर मन्त्रालय र विभिन्न विभागसँग समन्वय गरी अघि बढ्नुपर्ने अवस्थामा अपेक्षित सहकार्य नमिलेकै कारण यात्रुले सास्ती व्यहोर्नुपर्ने समेत उनले बताए। मन्त्री किरातीले विमानस्थलको थिति नसुध्रिए यसबारे प्रमाणसहित सार्वजनिक गर्ने बताए।
‘मन्त्रीले भनेपछि हराएको सामान पनि भेटिन्छ। तर सर्वसाधरणले सास्ती व्यहोर्नु परेको छ। साधारण मान्छेको निवेदन किन सुनुवाई हुँदैन?' उनले प्रश्न गरे।
'अब यो बेथितिको अन्त्य हुन जरुरी छ। आम नागरिकको पहुँचमा एयरपोर्ट हुनुपर्छ,' मन्त्री किरातीले थप भने।
बैठकमा मन्त्री किरातीले विमानस्थलमा यात्रु सुविधाका लागि बाहिर काउन्टर थप्ने, बाहिर जानका लागि घन्टौ लाइन बस्नुपर्ने समस्याको समाधान गर्ने, बोडिङ लिने ठाउँसम्म अशक्त व्यक्तिहरूलाई सहयोग गर्न जाने व्यवस्था मिलाउने बताए।
सुरक्षाको नाममा नागरिकले अनावश्यक दुःख पाइरहेको र यसको अन्त्य हुनुपर्ने उनको भनाइ छ। बैठकमा उनले भने, 'विमानस्थलमा सुरक्षा चुनौती छन्। सुरक्षामा कुनै सम्झौता गर्न हुँदैन। तर सुरक्षा संवेदनशीलता देखाएर यात्रुहरूलाई दुर्व्यहार भइरहेको छ।'
उनले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको सर्भर डाउनका कारण खोजी गरी समाधान गर्न समेत निर्देशन दिएका छन्।
त्यस्तै ट्याक्सी स्टेनमा छिरेपछि मात्र आफ्नो मान्छेलाई पिकअप गरेर लानुपर्ने बेथितिको अन्त्य हुनुपर्ने बताए।
बैठकमा वायुसेवा निगमका पदाधिकारी, प्राधिकरणका माहनिर्देशक, विमानस्थलका प्रमुख तथा गृह मन्त्रालय र परराष्ट्रका पदाधिकारीहरू सहभागी थिए।