मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे)मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन्। आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन्।
‘सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो’, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भनिन्, ‘अहिले त काठमाडौँ, बर्दियादेखि भारतका विभिन्न स्थानबाट पाहुना आउनुहुन्छ।’ उनले पूर्वी नाका हुँदै भारतलगायत तेस्रो मुलुक घुम्न जाने र आउने पर्यटक काँकडभिट्टाका सुविधासम्पन्न होटल छाडेर पनि गाउँमै खोलिएको होमस्टेमा आउने गरेको बताइन्।
सचिव श्रेष्ठले होमस्टेमा आउने अतिथिको रुचिअनुसारका खाना खुवाउने गरेको बताइन्। खानाको परिकारमा गुन्द्रुकको अचार, आफैँले उत्पादन गरेको तरकारी र स्थानीय कुखुराको मासु अतिथिलाई खुवाउँदै आएको उनको भनाइ छ।
त्यहाँ एक रात बास बसेको, खाना र खाजासहित रु एक हजार शुल्क लिने गरिन्छ। ‘महँगो लिदैनौँ पाहुनालाई’, उनले भनिन्, ‘अलि राम्रो होटलमा एक छाक खाने पैसाले यहाँ एक दिनलाई पुग्छ’, उनले अतिथि सत्कारसँगै आम्दानी हुन थालेपछि महिलाहरूको आत्मविश्वास बढेको बताइन्।
प्रत्येक घरका एक–एक कोठा अतिथिका लागि छुट्याइएको छ। घरको एक कोठामात्र छुट्याए पनि धेरै पाहुना एकैपटक आउँदा भने चारदेखि पाँच जनासम्मको व्यवस्था एउटै घरमा हुन्छ।
वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले स्थानीय महिलालाई स्वरोजगार बनाउने र आफ्ना वडामा आउने पाहुनालाई सत्कार सम्मानसहित स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा प्रोत्साहन गरेको बताए।
‘यहाँ वर्षौँदेखि मानव–हात्तीको द्वन्द्व छ। यही विषयमा शोधपत्र लेख्नेदेखि अनुसन्धान गर्नेसम्म आउँदा व्यवस्थित बस्ने स्थानको अभाव थियो’, उनले भने, ‘होमस्टे भएपछि सजिलो भएको छ।’ उनले होमस्टेलाई अझ व्यवस्थित बनाउन वडाबाटै तालिमको व्यवस्था गर्न लागिएको बताए।
महिलाले होमस्टेसँगै सात कठ्ठा जमिन लिजमा लिएर मौसमअनुसारका कृषिजन्य उत्पादन गर्ने गरेको होमस्टेका सचिव श्रेष्ठले बताए। उनले यतिबेला सो जमिनमा आलुको सामूहिक खेती गरिएको जानकारी दिए।