चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ।
सिचुवान एयरलाइन्सले चैत ६ देखि छेन्दुबाट साताको ४ उडान गर्नेछ।
सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५ः३५ बजे उडान भर्नेछ।
त्यस्तै, छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रातको ९ बजे अवतरण गर्नेछ।
नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै उक्त एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा ७९ हजार ९ सय ९९ र काठमाडौंदेखि नारितासम्म एकतर्फी भाडा ६५ हजार ९ सय ९९ रहेको जनाएको छ।
त्यस्तै उडानमा ४६ केजी चेक–इन लगेज र सात केजी ह्यान्ड क्यारी लैजान मिल्ने पनि कम्पनी भनाइ छ।
यो हवाईसेवाको सुरुआतसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अब छेन्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकोले लामो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ।
नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ।