धनकुटाको भेडेटारमा सिसाको 'स्काई वाक' बन्ने भएको छ। सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ।
वन्डर्स ग्रुप अन्तर्गत वन्डर्स एम्युजमेन्ट पार्क्स एन्ड अट्र्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ। अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए।
स्काई वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ। स्काई वाकमा एकैपटकमा दुई सयजना हिड्न सक्छन्। सिसाको स्काई वाकको तल भिर भएकाले झन् 'थ्रिल' अनुभव हुने पोख्रेल बताउँछन्।
भेडेटारको हालको भ्यू टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् २०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए।
परियोजना साँगुरीगढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुन्सरीको सिमानामा पर्छ। परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति दिएको शर्माले बताए।
काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको 'स्काई वाक टावर' र इलामको कन्याममा निर्माण भई सञ्चालनमा आइसकेको 'कन्याम क्लाउड' नामको स्काई वाक पनि वन्डर्स ग्रुपले निर्माण गरेको हो।