कुवेतको जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरू गरेको छ।
विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै कुवेतमा नियमित उडान गर्दै आएको जजिराले मौसमको कारण देखाउँदै पुस ६ गतेदेखि उडान रोकेको थियो। जजिराले करिब साढे दुई महिनापछि कुवेत-भैरहवा पुनः उडान सुरू गरेको हो।
जजिराको विमान कुवेतबाट ६६ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर १५ मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो। उक्त जहाज ८ बजेर ५ मिनेटमा ९३ जना यात्रु लिएर कुवेत उडेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।
जजिराले कुवेत-भैरहवा मंगलबार, बिहीबार र शनिबार गरी सातामा तीन उडान गर्नेछ। हाललाई भैरहवादेखि कुवेतसम्म २८ हजार आठ सय ३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ।