मगर व्यवसायीको हकहित र मगर बाहुल्य गाउँको पर्यटन प्रवर्द्धनमा क्रियाशील मगर पर्यटन समाजले नयाँ नेतृत्व पाएको छ।
जीवन थापा मगरको नेतृत्वमा शुक्रबार १३ जनाको नयाँ कार्य समिति सर्बसम्मत रुपमा चयन गरिएको छ।
समाजले मगर जीवनशैली र संस्कृतिको ब्रान्डिङ गरि पर्यटकीय उपज बनाउने निर्णय गरेको छ। शुक्रबार काठमाडौंको ठमेल पार्क होटलमा आयोजित समाजको दशौं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनका अवसरमा विज्ञहरुले मगर संस्कृति पर्यटनको स्वादिलो प्रोडक्ट बन्ने विश्वास व्यक्त गरेका हुन्।
’मगरको पहिचान जोगाउँदै पर्यटनबाट लाभ लिने वातावरण बनाउन म सबैसँग आग्रह गर्दछु’ कार्यक्रमका प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले कार्यक्रममा भने, ‘धेरै भन्दा धेरै मगरलाई पर्यटन उद्यमी बन्न प्रेरित गरौं।’
कार्यक्रममा मगर व्यवसायी र अन्य जातजातिका प्रतिनिधिहरुको सहभागिता रहेको थियोर्। मगर समुदायको संस्कृति, रहसहन र खानपिनलाई राम्रोसँग ब्रान्डिङ गरेमा टुरिजम प्रोडक्ट बनाउन सकिन्छ’, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले भने, ‘आउनुहोस् हातेमालो गरौं नेपाल पर्यटन बोर्डले सक्दो सहयोग गर्नेछ।’
उक्त अवसरमा नेपाल मगर संघका उपाध्यक्ष जीवन प्रवेश रोकाले मगर बाहुल्य गाउँहरु कला, संस्कृति र प्रकृतिले समृद्ध भएता पनि त्यसबाट पर्याप्त लाभ लिन नसकिएको अबस्था चित्रण गरे।
’हामीले पहिचानको मुद्दालाई अगाडि बढाउँदै समाजको समृद्धीका लागि पनि सक्दो पहल गर्नुपर्छ, ’ उनले भने, ‘हाम्रो मौलिक संस्कार, संस्कृति र खानपान प्रवर्द्धन गरौं। सम्भाव्य ठाउँको सम्भावना एक्सप्लोर गरौं।’
कार्यक्रममा टानका अध्यक्ष निलहरि बाँस्तोला, गुरूङ पर्यटन समाजका अध्यक्ष पिताम्बर गुरुङ, तामाङ रिमठिमका अध्यक्ष अम्बर तामाङ, तनहुँ पर्यटन समाजका अध्यक्ष शुक्र श्रेष्ठ, शेर्पा पर्यटन समाजका अध्यक्ष संगम शेर्पालगायतको उपस्थिति थियो।
वि.सं. २०६८ मा स्थापित समाजको संस्थापक अध्यक्ष कृष्ण मगर हुन्।
समाजमा नयाँ नेतृत्व
शुक्रबार भएको अधिवेशनबाट सर्वसम्मत रुपमा जीवन थापा मगर अध्यक्ष, प्रथम उपाध्यक्ष भूपाल मगर, द्धितिय उपाध्यक्ष जितेन्द्र झाँक्री मगर, महासचिव चन्दन थापा मगर, सचिव डेम पुन मगर, कोषाध्यक्ष भरत थापा मगर, सहकोषाध्यक्ष कृपा राना मगर चुनिएका छन्।
त्यस्तै सदस्यहरुमा चीन बहादुर थापा मगर, केशर बहादुर थापा मगर, रञ्जु मगर, निर सरु मगर, सन्तोषी मगर र किरण थापा मगर छन्।
उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ। राजकुमार थापा नेतृत्वको कार्यकाल पुरा भएर नयाँ नेतृत्व आएको हो।
तीन ताराको सम्मान
यसैगरि कार्यक्रममा मगर समुदायमा जन्मे हुर्केर समाजमा उल्लेख्य योगदान दिने तीन तारालाई सम्मान गरियो। यसरी सम्मानित हुनेहरुमा पर्वतारोही हरि बुढा मगर, चर्चित कलाकार खड्गबहादुर पुन (खबपु) र आइटी विशेषज्ञ राजन बाबु थापा छन्।
उनीहरुलाई प्रमुख अतिथि तुलाराम घर्ति मगरले सम्मानपत्र प्रदान गरेका थिए।