तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्न ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ ।
ठाउँ-ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुङ्गा बिछ्याउन थालिएको छ । बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुङ्गा छापेर आकर्षक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सडकमा सत्र बत्ती जडान गरेको थियो ।
उनले भने, 'यस वर्ष पर्यटन शाखामार्फत २० लाख विनियोजन गरी अन्य स्थानमा बत्ती जडान गर्न लागेका छौँ ।' त्यसैगरी, बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले क्यूआरकोडको व्यवस्था गरिएको छ । मुख्य बजारमा क्यूआरकोड राखिसकिएको छ भने अन्य १५ स्थानमा राख्ने तयारी भइरहेको छ ।
त्यसैगरी, पर्यटकीय क्षेत्र बन्दीपुर–३ रामकोटमा यसै वर्ष ढुङ्गा बिछ्याउन थालिएको छ । उक्त कार्यका लागि आठ लाख विनियोजन गरिएको छ । त्यसैगरी, आगामी वर्ष बन्दीपुर–५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी, कल्लेरी, माझथर, कोरिसालगायत स्थानमा ढुङ्गा बिछ्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
बन्दीपुरमा पर्यटक बढाउन सुविधा थपिँदै, मिनी ग्रेटवालदेखि ठाउँको प्रोफाइलसम्म
कोरोना महामारीपछि तनहुँको बन्दीपुर घुम्न जाने पर्यटकको संख्या बढ्न सकेको छैन। मुलुकमा विदेशी पर्यटक आगमन बढ्न नसक्दा पर्यटकीय गन्तव्यहरूमा चहलपहल कम छ। कतिपय ठाउँ आन्तरिक पर्यटकले भरिभराउ भए पनि बन्दीपुरको पर्यटन लामो समयदेखि थला परेको देखिन्छ।
त्यसैले पर्यटक बढाउन बन्दीपुर गाउँपालिकाले सम्बन्धित निकायसँगको सहकार्यमा विभिन्न कार्यक्रमको योजना बनाएको अध्यक्ष सुरेन्द्र बहादुर थापा बताउँछन्। प्रविधिमार्फत बन्दीपुरको प्रचारप्रसारका लागि अघि बढेको उनले बताए।
उनका अनुसार बन्दीपुरका घुम्नलायक गन्तव्य अब मोबाइलबाटै पढ्न, हेर्न र सुन्न मिल्ने छ। यसका लागि गाउँपालिकाले 'क्युआर कोड बोर्ड' तयार गर्दैछ। अबको एक महिनाभित्र सञ्चालनमा आउनेछ। योसँगै पर्यटकले आफू जान चाहेको ठाउँबारे स्थानीयलाई नसोधी सहजै विस्तृतमा बुझ्न पाउने छन्।
'यहाँका ठाउँहरूबारे इतिहास नै समेटेर एउटा डकुमेन्ट्री तयार हुँदैछ। विभिन्न भाषामा लिखित, अडिओ र फोटो हुन्छ,' गाउँपालिका अध्यक्ष थापाले भने, 'बन्दीपुरका कुनै गन्तव्यबारे बुझ्न परे मोबाइलमा स्क्यान गरेर सबै जानकारी लिन सकिन्छ।'
अहिले विभिन्न दस गन्तव्यको क्युआर कोड तयार भइरहेको छ। क्युआरमा बन्दीपुर बजारसँगै खड्गदेवी, सहिदपार्क, टुँडिखेल, थानीमाई, सिद्ध गुफा, मिनी ग्रेटवाल, चन्द्रकोट गढी, विन्ध्यवासिनी मन्दिर र होमस्टेका कथा र जानकारी हुनेछ।
यो व्यवस्थापछि पर्यटक आगमन बढ्नेमा अध्यक्ष थापा विश्वस्त छन्।
'पर्यटन प्रवर्द्धनका लागि प्रविधि प्रयोग गर्दैछौं,' उनले भने, 'यो जानकारी विभिन्न भाषामा हुनेछ। स्वदेशीसँगै विदेशी पर्यटकलाई पनि बन्दीपुरसम्म ल्याउने हाम्रो लक्ष्य हो।'
हाल बन्दीपुरमा मिनी ग्रेटवाल बन्दैछ। चीनको ग्रेटवालको झल्को दिलाउने बन्दीपुरको मिनी ग्रेटवाल पर्यटकको आर्कषण केन्द्र बन्ने उनी बताउँछन्। मिनी ग्रेटवाल स्थानीय ढुंगा प्रयोग गरी बनाइएको तीन किलोमिटर लामो पर्खाल हो। पर्खालसँगै पदमार्ग छ। बन्दीपुर गाउँपालिका–२ को थानीमाई मन्दिरबाट निर्माण सुरू गरिएको पर्खाल र पदमार्ग मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिन्छ।
पर्यटकीय गन्तव्य थप्ने उद्देश्यले तीन वर्षअघि गाउँपालिकाले मिनी ग्रेटवाल बनाउन थालेको हो। यसमा १० करोड रूपैयाँ खर्च हुने अनुमान छ। यो लगानी पालिका र केन्द्र सरकारले गर्ने उनले जानकारी दिए। हालसम्म डेढ किलोमिटर पर्खाल बनिसकेको छ। बजेट अभावका कारण काम निरन्तर हुन सकेको छैन।
'बजेट नभएकाले रोकिएको हो। अहिलेसम्म जति बनेको छ, त्यो फिनिसिङ गर्छौं,' थापाले भने, 'बाँकी काम हुँदै जान्छ। पाँच वर्षभित्र मिनी ग्रेटवाल तयार हुन्छ।'
मिनी ग्रेटवालको यात्रा बन्दीपुर बजारबाट सुरू हुनेछ। करिब तीन सय मिटर उकालो चढेपछि थानीमाई डाँडा पुगिन्छ। डाँडा पुगेपछि बन्दीपुर छर्लंग देख्न सकिन्छ। यो बाटो हाइकिङका लागि पनि प्रसिद्ध छ।
'शनिबार ठूलै संख्यामा आन्तरिक पर्यटक यो बाटोमा हाइकिङ जान्छन्। यसलाई अझै विस्तार गराउनुपर्नेछ,' उनले भने।
डाँडाबाट उत्तरतर्फ धौलागिरि, अन्नपूर्ण, निलगिरि, मनास्लु, लमजुङ र गणेश हिमालका दृश्य देखिने उनले बताए। दक्षिणतर्फ पाल्पा बजार देखिन्छ। त्यहीँबाट पश्चिमतर्फ मिनी ग्रेटवाल सुरू हुन्छ। मिनी ग्रेटवाल सञ्चालनमा आएपछि पर्यटक आगमन बढ्ने उनको विश्वास छ।
'चाइनाको ग्रेटवाल पुग्न धेरैको पहुँच नहोला तर बन्दीपुर पुग्दा चीनको ग्रेटवालको झल्को मेटिन्छ,' उनी भन्छन्।
त्यस्तै हाल निर्माणधीन केबलकार पनि बन्दीपुरको अर्को आर्कषण बन्ने छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले तीन अर्ब रूपैयाँ लगानीमा केबलकार, रेष्ट्रो-कार र तारेहोटल बनाइरहेको छ। विशेषगरी केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित निर्माण भइरहेको यो एड्भेन्चर मुलुककै रमणीय हुने विश्वास कम्पनीको छ।
यो केबलकार कम्पनीले आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेको छ। यसकारण पनि अबको केही वर्षपछि बन्दीपुर पर्यटकले भरिभराउ हुने गाउँपालिकाका अध्यक्ष थापा बताउँछन्।
बन्दीपुर पुग्नेमध्ये ८० प्रतिशत आन्तरिक र २० प्रतिशत विदेशी पर्यटक छन्। गाउँपालिकाको पहिलो प्राथमिकता भने आन्तरिक पर्यटक नै रहेको अध्यक्ष थापाले बताए। विदेशी पर्यटक बढाउन विभिन्न ठाउँ पुगेर प्रचारप्रसार गर्नुपर्ने भएकाले तत्काल सम्भव नरहेको उनको भनाइ छ।
अध्यक्ष थापाका अनुसार भूकम्पदेखि नै बन्दीपुरको पर्यटन सुस्ताएको हो। भूकम्पअघिसम्म ६० प्रतिशत हाराहारीमा विदेशी पर्यटक बन्दीपुर पुग्थे। विभिन्न संस्कृति झल्काउने होमस्टेमा बस्न र कला, संस्कृति, रहनसहनको आनन्द लिन पनि विदेशी पर्यटकहरू बन्दीपुर पुग्थे।
'६० को दशकमा बन्दीपुरको पर्यटन राम्रो प्रवर्द्धन भएको थियो। अहिलेसम्म त्यसकै प्रतिफल मात्र हो,' उनले भने, 'लामो समयदेखि यहाँको पर्यटन फस्टाउन सकेको छैन। ठूलो सम्भावना रहे पनि फैलाउन सकिएको छैन। त्यसकारण अब प्रविधिमार्फत केही गर्ने हाम्रो सोच हो।'
आन्तरिक पर्यटकको चहलपहल राम्रै भए पनि उनीहरूको बसाइ लम्बाउन नसकेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेल बताउँछन्। दुईदेखि चार दिनसम्म घुम्न मिल्ने 'प्याकेज' भएकाले बसाइ लम्बाउन पनि कार्यक्रमहरू तयार भइरहेको छ। यसका लागि सबभन्दा पहिले होमस्टेहरू प्रवर्द्धन गरिनेछ। होमस्टेमा कम्तीमा एक दिन वा रात बस्ने माहोल बनाएपछि बसाइ लम्बिने उनले बताए।
'यहाँ दुई/चार घन्टा होइन, दुई/चार दिनसम्म घुम्ने ठाउँ छन्,' पौडेलले भने, 'विभिन्न समुदायको कला-संस्कृति झल्काउने होमस्टे, मन्दिर, गुफा लगायत थुप्रै ठाउँ छन् जहाँ हिँडेर पनि जान सकिन्छ।'
सरकारले पहिले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बन्दीपुरमा थुप्रै होटल थपिए। पर्यटक बढ्न नसक्दा व्यवसायीहरू चिन्तित छन्। यसमा विशेषगरी पर्यटन विकास समितिले पनि प्रवर्द्धनका लागि नयाँ काम गर्दैछ।
स्थानीय झाँकी र संस्कृतिलाई जोड दिँदै धार्मिक र सांस्कृतिक हब बनाइरहेको पौडेलले बताए। त्यहाँका मगर र गुरूङ गाउँमा विभिन्न मेला महोत्सव गर्ने तयारी भइरहेको छ। यसबाहेक गाउँपालिकासँग मिलेर समितिले पनि ठाउँहरूबारे प्रोफाइल बनाइरहेको छ। अनलाइनबाट हेर्न मिल्ने प्रोफाइल देशभरका पर्यटकीय गन्तव्यमा पुर्याउने योजना छ।
उनका अनुसार बन्दीपुरमा साहसिक पर्यटनको सम्भावना खोजी गर्न विज्ञहरूलाई अवलोकन भ्रमण गराउने तयारी पनि भइरहेको छ।
'पहाडकी रानी नामले परिचित बन्दीपुरमा नयाँ एड्भेन्चरको विकास गराउन हामी लागि परेका छौं,' उनले भने।
बन्दीपुरमा दैनिक दुई हजार पर्यटक धान्न सक्ने पूर्वाधार छ। साना-ठूला गरी ७७ वटा होटल तथा रेस्टुरेन्ट र १२ वटा होमस्टे छन्। विशेष भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गमाई मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकका आकर्षण हुन्। त्यस्तै यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ।