संयुक्त राष्ट्रसंघ अन्तर्गत विश्व पर्यटन संगठन, नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, नेपाल पर्यटन बोर्डको आयोजनामा तीन दिवसीय 'वेटर डेटा फर वेटर टुरिजम इन साउथ एशिया एन्ड प्यासिफिक' क्षेत्रीय कार्यशाला सुरू भएको छ।
बुधबारदेखि काठमाडौंमा सुरू भएको कार्यशाला शुक्रबारसम्म चल्नेछ। तीन दिवसीय कार्यशालामा पर्यटनसँग सम्बन्धित विभिन्न सेसनमा छलफल हुने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए।
कार्यशालामा नेपाल, भारत, बगंलादेश, मलेशिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेन, लगायत ११ देश तथा युएनडब्लुयूटीओका प्रतिनिधिहरू सहभागी छन्।
विश्व पर्यटन संगठनले विश्व पर्यटनका विभिन्न आयामहरूमा छलफल गर्दै पर्यटन उद्योगलाई चलायमान गराउन क्षेत्रीय कार्यक्रम नेपालमा आयोजना गरिएको हो।
कार्यक्रममार्फत विश्व पर्यटनका नयाँ आयामहरूका बारेमा थप जान्न तथा अनुभव आदान-प्रदान गर्ने र दीगो पर्यटन विकासमा साझा धारणा तय गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको उट्घाटन सत्रमा बोल्दै पर्यटनमन्त्री सुदन किरातीले कोभिडले थालिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधिकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी बढाउनुका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्ने बताए।
कार्यशाला आयोजना गरेकोमा युएनडब्लु युटीओलाई धन्यवाद दिँदै मन्त्री किरातीले भने, 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रर्वद्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गर्न सबैले आ-आफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेछ।'
कार्यक्रममा विश्व पर्यटन संगगठनका एक्सटर्नल रिलेशन निर्देशक बेका जकेलीले पछिल्लो समय पर्यटनको आयामहरू परिवर्तन हुँदै गएको सन्दर्भमा पर्यटकीय योजना तर्जुमादेखि प्रर्वद्धनात्मक कार्यका लागि गुणस्तरिय तथ्यांक आवश्यक हुने बताए।
स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले कोभिडको प्रभाव कम हुँदै विश्व पर्यटन लयमा फर्किन थालेको समयमा नेपालमा आयोजना भएको यो कार्यशालामा विज्ञहरूका बीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशा निर्देश गर्ने बताइन्।
युएनडब्ल युटिओको आयोजनामा भइरहेको यो कार्यक्रममा पर्यटनका विभिन्न आयामहरूमा हुने छलफल तथा पर्यटन तथ्यांकका विषयमा विभिन्न देशहरूका अनुभव आदान-प्रदानले पर्यटनको लागि नयाँ दृष्टिकोण तयार पार्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए।