होटल संघ हानले होटल उद्योग बैंकको चर्को ब्याजदरका कारण बन्द हुने अवस्थामा पुगेको बताएको छ।
कोरोना माहामारीपछि पर्यटन उद्योग सञ्चालनमा आए पनि घाटामा चलाइरहेको र कर्मचारीलाई तलब समेत दिन सक्ने अवस्था नरहेको संघले जनाएको छ।
सोमबार पत्रकार सम्मेल गर्दै संघका प्रथम उपाध्यक्ष विनायक शाहले हाल देशभर २५ प्रतिशत मात्र बुकिङ रहेको बताए।
संघको अध्ययनअनुसार ३८ प्रतिशत अकुपेन्सी भएको अवस्थामा मात्रै व्यवसाय ब्रेक इभनमा जान्छ। लामो समयदेखि होटल व्यवसाय पूर्ण रूपमा सञ्चालन नहुँदा बैंकलाई ब्याज बुझाउन नसेकको समेत बताउँदै उनले भने, '२० प्रतिशत व्यवसायी पलायन भइसके। सरकारले समयमै ध्यान नपुर्याए भोलिका दिनमा सबै होटल बन्द गर्नुपर्ने अवस्था आउँछ।'
संघकी अध्यक्ष सृजना राणाले कोभिडयता होटल व्यवसाय धरायसी बन्दै गएको बताइन्। संघले होटल क्षेका समस्याबारे धेरै पटक सम्बन्धित निकायमा कुरा राख्दा पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरिन्। 'यस क्षेत्रका समस्याबारे पटक–पटक विभिन्न मन्त्रालयमा कुरा राख्दा पनि सुनुवाइ भएन। सरकारी संयन्त्र बलियो भएन। एउटै समस्या कहिलेसम्म कतिपटक उठाउनुपर्ने?' उनले भनिन्।
होटल व्यवसायलाई सरकारी वित्तीय मौद्रिक लगायतका आर्थिक नीति नियममा कुनै सरोकार नराखी अन्य उद्योग व्यवसायलाई प्रदान गरिएको व्यवस्था एवम् व्यवहारबाट समेत वञ्चित गर्दा नेपालको होटल क्षेत्र ह्रासोन्मुख अवस्थामा पुगेको समेत उनले बताइन्।
होटल क्षेत्रलाई कठिन आर्थिक अवस्थाबाट पुनर्जिवन प्रदान गर्न ऋणको साँवा ब्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउनुपर्ने संघको माग छ।
त्यस्तै कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण आवश्यक रहेको तथा बढ्दै गएको ब्याजदर एकल अंकमा झार्न सरकारलाई संघले अनुरोध गरेको छ।