नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई इन्जिनियरलाई जहाजको ढोका रातभरि खुला राखेको भन्दै निलम्बन गरेको छ।
प्राधिकरणले निगमका दुई इन्जिनियरलाई निलम्बन गरी आवश्यक छानविन अघि बढाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
उनकाअनुसार निगमका दुईजना एरोनटिकल इन्जिनियरले वाइडबडी जहाज १८ मार्चको रातभर ह्यांगरमा राख्दा ककपिटको ढोका खुला भएको पाइएपछि इन्जिनियरलाई ग्राउन्डेड गरिएको हो।
जहाज अवतरण गरी पार्किङमा लगिसकेपछि ढोका राम्रोसँग बन्द भएको हुनुपर्ने र ढोका खुला हुँदा बाहिरबाट अनावश्यक व्यक्तिको प्रवेश हुनसक्ने तथा शंकास्पद वस्तु विमानमा राख्न सक्ने जोखिम हुने उनले बताए।
'जहाजको ककपिटको दायाँतर्फको ढोका रातैभर खुलै छाडेका कारण प्राधिकरणले विमानको निरीक्षण गर्ने दुई इन्जिनियरलाई अर्को निर्णय नहुन्जेल ग्राउन्डेड गरेको छु,' उनले भने।