साँझ घाम अस्ताउनै लाग्दा राप्ती नदी किनारमा रहेका हात्तीको अगाडि उभिएर केही व्यक्ति फोटो खिच्दै थिए। हात्ती, नदी र चितवन राष्ट्रिय निकुञ्जको घना जंगललाई एकै साथ पृष्ठभूमिमा राखेर फोटो खिचाउन पाउनु पर्यटकको लागि ठूलै अवसर हो। भाग्यले साथ दियो भने त्यही फ्रेममा एक सिंगे गैंडा, पाटे बाघ, घडियाल गोही जस्ता दुर्लभ वन्यजन्तु पनि पर्न सक्छन्।
केहीबेरमा दर्जनौं विदेशी पर्यटक लामबद्ध भएर हात्तीको नजिक आइपुगे। हात्तीहरू तिनै पर्यटकको मनोरञ्जनका लागि पर्खिरहेका रहेछन्।
माउतेले हात्तीलाई नदीमा ओर्लन आदेश दिए। आदेश पालना गर्दै हात्तीहरू राप्तीको पानी पौडिन थाले।
जर्मनीका उलफले अजंगको हात्ती नदीमा लम्पसार परेर पौडिएको यसअघि कहिलै देखेका थिएनन्। शनिबार चितवन राष्ट्रिय निकुञ्जको पटिहानीमा हात्ती को गतिविधिलाई क्यामेरामा कैद गरेर रमाउन थाले।
गाइडले हात्तीसँग नुहाउने कार्यक्रम सुरु भएको जानकारी गराएपछि उलफ लगायतका पर्यटकहरु थप हौसिए। माउतेले मान्छे ढाडमा चढ्न सक्नेगरी हात्तीलाई नदीमा बसायो। दुई जना विदेशी चढेपछि हात्ती जुरुक्क उठ्यो। सुँडमा पानी भर्दै उनीहरुको शरीरमा फाल्न थाल्यो। उनीहरु पानीले जति निथु्रक्क हुन्थे, अनुहारको चमक थप बढ्दै गएको देखिन्थ्यो।
केही विदेशी भने हात्तीलाई नुहाएर मनोरञ्जन लिइरहेका थिए। उनीहरु नदीमा बसेको हात्तीको शरीर मिच्ने, पानीले धोइदिने गर्दै थिए।
‘म परै बसेर यहाँको गतिविधि हेरिरहेको छु। मलाई यो हेर्न र खिच्न रमाइलो लागिरहेको छ,’ उलफले भने,‘नेपाल साँच्चै सुन्दर छ। जंगलभन्दा बाहिर त यस्तो दृष्य देख्न पाइन्छ, भित्र कस्तो होला भन्ने सोचेर दंग परिरहेको छु।’
वन र वन्यजन्तुमा रुची भएका पर्यटकहरुका लागि चितवन राष्ट्रिय निकुञ्ज संसारकै उत्कृष्ट गन्तव्य हो। निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै रहेको पटिहानीमा पर्यटकको आकर्षण अहिले बढ्दै छ। कोरोना महामारीले संकटमा परेका यहाँको पर्यटन व्यवसाय अहिले जुर्मुराउन थालेको छ।
यहाँ रहेको पुरानो होटल सफारी नारायणीका सञ्चालक सञ्जिवदास श्रेष्ठले गत वर्षभन्दा यस बर्ष धेरै पर्यटक पटिहानी आएको बताए।
‘कोरोना महामारीभन्दा अघिको अवस्थामा त पुगेको छैन तर फेब्रुअरी र मार्चमा विदेशी पर्यटक आउनेक्रम बढेको छ। गत वर्षको भन्दा बढी विदेशी आएका छन्,’ उनले भने।
उनका अनुसार अहिले प्रायः युरोपियन पर्यटक आइरहेका छन्।
‘पहिले युरोपियनहरूले हात्ती चढ्न छाडिसकेका थिए। अहिले फेरि चढ्न खोजेका छन्। जीवनमा एक पटक यो अनुभव पनि लिउँ भन्छन्,’ श्रेष्ठले भने, ‘हामीकहाँ आउने प्रायः हात्ती चढेर जंगल घुम्नमा रुची राख्छन्।’
यसबाहेक हात्तीसँग नुहाउने, हात्तीसँग हिँड्ने, हात्तीलाई खाना खुवाउने जस्ता गतिविधिमा पनि विदेशी पर्यटकको रुची देखिने गरेको उनले बताए।
नारायणी सफारीका आफ्नै ४ वटा हात्तीहरू छन्। कोभिड १९ का कारण व्यवसाय धरासयी बन्दा चितवनमा धेरैले हात्तीहरू बिक्री गरे। श्रेष्ठले त्यतिखेर जोगाएर राखेका हात्तीहरू अब काम लाग्ने अपेक्षा गरेका छन्।
५२ वटा कोठा रहेको यस होटलले कोरोना महामारीपछि ३२ वटामात्रै सञ्चालनमा ल्याएको छ।
‘पछिल्ला दिनमा आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढ्दै जाँदा पर्यटन क्षेत्र विगतकै अवस्थामा फर्कने आशा पलाएको छ,’ श्रेष्ठले भने।
पटिहानी क्षेत्रमा आधा दर्जन ठूला होटल छन्। नारायणी सफारी, सोल्टी वेस्टएण्ड रिसोर्ट, कसरा रिसार्ट, जंगल भिल्ला, रिभर बैंक, इनटु द वाइल्ड इको रिसोर्ट यहाँ रहेका ठूला होटल हुन्। सोल्टी र रिभर बैंक कोरोना महामारीपछि सञ्चालनमा आएका हुन्। पटिहानीमा साना होटल पनि दुई दर्जन जति छन्। नजिकै रहेको जगतपुरमा जगतपुर लज, टाइगर ल्याण्ड जस्ता ठूला होटल छन्। यी सबै होटलहरुमा गरेर ५०० जना पाहुना राख्ने क्षमता छ।
‘राष्ट्रिय निकुञ्जमा डुँगा, हात्ती, जीप सफारी, जंगल वाक, थारु भिलेज टुर, कल्चर डान्सलगायतका लागि विदेशी पर्यटकको रोजाई पटिहानी बन्दै छ,’ सोल्टी वेस्टएण्ड रिसोर्टका म्यानेजर प्रविन्द्र सिंहले भने, ‘चितवन निकुञ्जको हेडक्वाटर कसराबाट नजिकै र शान्त वातावरण रहेकाले रोजाई परेको छ।’
यहाँ दुई रात तीन दिनका लागि आउने पर्यटकले करिब ३०० डलर खर्च गर्ने गर्छन्।
भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीका वडाध्यक्ष विष्णुराज महतोले जैविक विविधताको अवलोकनका लागि आउने पर्यटकलाई लक्षित गरेर पटिहानी क्षेत्रमा लगानी बढिरहेको बताए। यहाँ रहेको अम्रेला स्ट्रिटले आन्तरिक पर्यटक र निकुञ्ज, सामुदायिक वनहरुले बाह्य पर्यटकलाई लोभ्याएको उनले बताए। वडाले पर्यटनलाई खेलसँग पनि जोड्न प्रयास गरिरहेको उनले बताए।
पटिहानीमा प्रदेश सरकारको लगानीमा देशकै ठूलो कवर्ड हल निर्माण भएको छ। यहाँ खेल गतिविधि पनि हुन थालेका छन्। महतोले यसले पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। यहाँ अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता पनि गर्ने गरिएको छ। आगामि वर्ष प्रतियोगिता गर्नेगरी तयारी भइरहेको वडाध्यक्ष महतोले बताए।
‘क्रिकेट रंगशाला पनि निर्माण गर्न सकियो भने पश्चिम चितवनको पर्यटनले थप गति लिनेछ,’ उनले भने, ‘पर्यापर्यटन र खेल पर्यटनको माध्यमबाट समग्र चितवनले फाइदा लिनसक्छ।’
बिगतमा सौराहामामात्रै पर्यटकको चाप हुने गरेकामा अचेल पश्चिम चितवनमा पर्ने पटिहानी, मेघौलीमा पनि पर्यटकको उल्लेख्य उपस्थिति देखिन्छ। मेघौलीमा मेघौली सेराई, बाराही जंगल लज, साराङ वाइल्डलाइफ स्याङच्युरीलगायतका ठूला होटलहरु छन्। केही होटल निर्माण हुँदै छन्।
साराङ वाइल्डलाइफ स्याङच्युरीका सञ्चालक सुबोध प्रधानले शान्त वातावरण खोज्ने पर्यटकहरु मेघौली पुग्ने गरेको बताए। मेघौलीको विमानस्थल सञ्चालनमा आए यहाँको पर्यटनले थप गति लिने व्यवसायीहरु बताउँछन्। गत हप्ता मन्त्रिपरिषद्को बैठकले विमानस्थलको स्तरोन्नती गर्ने निर्णय गरेको छ।