साहसिक पर्यटनको लोकप्रिय गन्तव्य 'द क्लिफ' ले नयाँ साहसिक खेल ‘क्रेन स्वीङ’ सञ्चालनमा ल्याउने भएको छ।
क्लिफले आगामी एक साताभित्र क्रेन स्वीङ सुरू गर्ने तयारी गरिरहेको क्लिफका सञ्चालक राजु कार्कीले बताए।
उनका अनुसार अहिले स्वीङका लागि आवश्यक पूर्वाधार तयार गर्ने काम भइरहेको छ। 'अबको ५/६ दिनमा यो खेल सञ्चालनमा ल्याउने सोच छ,' सञ्चालक कार्कीले भने।
स्वीङ जमिनको सतहबाट करिब २५० मिटर माथि सञ्चालन हुने उनले बताए। तर, यसको डोरी भने १० मिटरको मात्रै हुनेछ।
'क्लिफमा आएका पाहुनाहरूले फोटो खिच्ने तथा नयाँ अनुभव लिनका लागि यो उचित हुन्छ भन्ने हिसाबले सञ्चालनमा ल्याउन लागेका हौँ,' उनले भने।
नेपालमा यस्तो किसिमको स्वीङ पहिलो पटक सञ्चालनमा ल्याउन लागेको उनी बताउँछन्। यस्तो स्वीङ बालबालिका, महिलाहरूलाई पनि उपयुक्त हुनेछ।
स्वीङ खेलका लागि २५० रुपैयाँ शुल्क लाग्नेछ।
द क्लिफ राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा स्काई ग्लाइडिङ, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ।