नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी कारबाहीमा परेका छन्।
पास र र्याम्प ज्याकेटबिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र 'एप्रोन' मा पुगेपछि नागरिक उड्डयन प्राधिकरणले अधिकारीलाई कारबाही गरेको हो।
फागुन २४ गतेको उक्त घटनामा सुरक्षा मापदण्ड उल्लंघन गरिएको भन्दै अधिकारीलाई कारबाही गरिएको प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।
निरौलाका अनुसार सिनामंगलमा रहेको ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्ड’ विभागले कार्यकारी अध्यक्ष अधिकारीलाई ‘र्याम्प सेफ्टी’ को तालिममा पठाउने निर्णय गरेको छ।
‘प्राधिकरणबाट मान्यता पाएको संस्थाबाट एक हप्ताभित्र कक्षा लिई प्रमाणपत्र बुझाउनू भनेर पत्र पठाएका छौं,’ महानिर्देशक निरौलाले सेतोपाटीसँग भने, ‘र्याम्प सेफ्टी कक्षा लिएको प्रमाणपछि उनलाई जरिवाना तिराउने वा बिना जरिवाना छाड्ने भन्ने निर्णय हुनेछ।’
उपमहानिर्देशक निरौलाका अनुसार संवेदनशील क्षेत्रमा र्याम्प ज्याकेट र पासबिना प्रवेश गर्ने उच्च तहका अधिकारीलाई प्राधिकरणले कारबाही गरेको यो पहिलो घटना हो।