पश्चिम नेपालको प्रमुख व्यापारिक सहर नेपालगञ्जस्थित राँझा विमानस्थलमा सुविधायुक्त नयाँ टर्मिनल भवन निर्माणको काम धमाधम चल्दै छ।
कुल तीन अर्ब रुपैयाँ लागतमा टर्मिनल भवन निर्माणको काम काठमाडौंको ‘शर्मा एन्ड कम्पनी’ ले गर्दै छ। कुल चार हजार ४६० वर्गमिटर क्षेत्रफलमा बन्दै गरेको टर्मिनल भवन तीन तलाको हुनेछ।
पुरानो संरचना साँघुरो भएपछि नयाँ टर्मिनल भवन बनाउन थालिएको हो।
निर्माणस्थलमा खटिएका स्ट्रक्चरल इन्जिनियर कमल पौडेलका अनुसार नयाँ टर्मिनल भवन आधुनिक सेवा सुविधायुक्त हुनेछ।
अपांगता भएका व्यक्तिहरूका लागि अनुकूल हुनेछ। बेसमेन्टको फ्लोर, फस्ट फ्लोर र सेकन्ड फ्लोर तीनतले भवन हुनेछ। टर्मिनल भवनले कुल ४४६० दशमलव ६६ वर्गमिटर क्षेत्रफल ओगटेको छ। आन्तरिक प्रस्थानतर्फको यात्रुहलमा ४४८ सिट र आगमनतर्फ २२० सिट रहनेछन्।
भवनको २२ प्रतिशत संरचना व्यापारिक प्रयोजनका लागि हुनेछ जसमा ७२ वटा पसल रहन सक्नेछन्। क्याफ्टेरिया हल तीन वटा हुनेछन्।
भिआइपी कक्ष तीन वटा र चिल्ड्रेन प्ले एरिया दुई वटा हुनेछन्। ‘स्मोकिङ जोन’ दुई वटा हुनेछन्।
निर्माणधीन टर्मिनलमा यात्रुका लागि १४ वटा टिकट काउन्टर र सुरक्षाकर्मीका कार्यालय पनि रहनेछन्। आइटी सिस्टम, सिसी टिभी सिस्टम र फायर अलर्ट सिस्टमका लागि अलगअलग संरचना रहनेछन्।
काम सुरु भएको तीन महिना पूरा भएको छ। अहिलेसम्म बेसमेन्ट ढलानको काम भइरहेको छ। बेसमेन्टका तीन वटा ब्लकमध्ये ‘ए’ ब्लकको ढलान करिब पूरा भएको छ।
‘बी’ र ‘सी’ ब्लकको ढलान एक हप्तामा पूरा हुने जनाइएको छ।
निर्माण कम्पनीका कन्ट्याक्टर विनोद सुवेदीका अनुसार टर्मिनल भवनको काम सन् २०२२ डिसेम्बर १६ मा सुरु भएको हो। सम्झौताअनुसार सन् २०२५ डिसेम्बर १५ मा काम पूरा भएको हुनुपर्नेछ।
सुवेदीका अनुसार तीन महिनाको प्रगति सन्तोषजनक छ। बेसमेन्टको काम लक्ष्यअनुसार नै भएको छ।
माघतिर केही दिन क्रसर उद्योगहरू बन्द हुँदा बालुवा–गिट्टी पाउन केही समस्या भए पनि अहिले अवस्था सामान्य छ।
भिडिओ:
‘बालुवा–गिट्टीले केही दिन अलमल भए पनि त्यसपछि काम धमाधम भइरहेको छ,’ सुवेदीले भने, ‘तीन महिनामा बेसमेन्ट एरियाको काम पूरा भयो। यो काम पूरै संरचनाको १८ प्रतिशत हो।’
उनका अनुसार निर्माणमा हाल दैनिक चार सय जना श्रमिकले काम गरिरहेका छन्। तीन वर्षको सम्झौता भए पनि दुई वर्षभित्रै निर्माण पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
नयाँ टर्मिनल भवन सञ्चालन भएपछि राँझा विमानस्थल नेपालको प्रमुख आन्तरिक विमानस्थलका रूपमा विकास हुनेछ।
राँझा विमानस्थलमा ६२ वर्षअघि सन् १९६१ मार्च १५ मा पहिलो उडान भएको थियो।
कुल १६६ बिघा जमिनमा फैलिएको यो विमानस्थलको धावनमार्ग १७०० मिटर लामो र ३० मिटर चौडा छ। राँझा विमानस्थलमा काठमाडौंबाट हुने दैनिक उडान र यहाँबाट कर्णालीका डोल्पा, जुम्ला, हुम्ला, मुगु लगायतका जिल्लामा हुने उडानको संख्या बढेको छ।
यहाँबाट बाजुरा र रुकुममा पनि उडान हुने गरेको छ। उडान संख्या बढेअनुसार हवाई ट्राफिक धान्नसक्ने पूर्वाधार नभएकाले नयाँ टर्मिनल भवन आवश्यक परेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार राँझा विमानस्थलमा पछिल्लो पाँच वर्षमा यात्रुको चाप दोब्बर बढेको देखिन्छ।
सन् २०१५ मा यात्रु संख्या १ लाख ७६ हजार रहेकोमा, सन् २०१९ मा ४ लाख ४३ हजार पुग्यो। उडान संख्या पनि ९ हजारबाट १५ हजार पुग्यो।
सन् २०२२ मा दैनिक औसत १५५२ यात्रु आवात जावात गरे। यसअनुसार सन् २०४० सम्ममा राँझा विमानस्थलमा यात्रुको संख्या २० लाख पुग्ने प्राधिकरणको प्रक्षेपण रहेको छ। यसै आधारमा सन् २०४० सम्मको आवश्यकता पूरा हुने गरी नयाँ टर्मिनल भवन डिजाइन गरिएको जनाइएको छ।
भविष्यमा धावनमार्ग विस्तार गर्ने लक्ष्य रहेको छ। यसअघि पनि दुई सय मिटर विस्तार गरेर १७ सय मिटर पुर्याइएको हो।
भारतीय सहरहरूमा पनि उडान गर्ने गरी धावनमार्ग विस्तार गर्ने लक्ष्य छ।
विमानस्थलमा जहाज पार्किङस्थल (एप्रोन) पनि नयाँ बनाइएको छ। हाल ६ वटा ‘एटिआर ७२’ जहाज पार्किङ गर्ने क्षमता रहेको छ।
नयाँ एप्रोनमा जहाज ३६० डिग्री घुम्न मिल्ने सुविधा छ।
उत्साहित सरोकारवालाहरू
नेपाल उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य तथा विकासका लागि नागरिक सरोकार समिति, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठका अनुसार राँझा विमानस्थलमा सुविधायुक्त नयाँ टर्मिनल भवन निर्माण हुन थालेपछि बाँकेका बासिन्दा उत्साहित भएका छन्।
सुख्खा बन्दरगाहाको काम अन्तिम चरणमा पुगेको र नौबस्तामा कार्यालयहरू स्थापना भइरहेकाले यस क्षेत्रको समग्र विकासका लागि विमानस्थलको स्तरोन्नति कोशेढुंगा सावित हुने उनको विश्वास छ।
राँझा विमानस्थल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्य ट्रान्जिट प्वाइन्टका रूपमा रहेको उनको भनाइ छ। विमानस्थलको स्तरोन्नतिबाट आसपासका जिल्लाहरूको विकास र पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने पनि उनको विश्वास छ।
भन्छन्, ‘धावनमार्ग विस्तार गर्न र यहाँबाट नेपाल–भारत सिधा उडान गर्न सकियो भने यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्छ। होटल र पर्यटक सेवाका अन्य क्षेत्रमा व्यवसाय बढ्छ।’
भारतका विभिन्न सहरहरूमा सिधा उडानका लागि राँझा विमानस्थलको सुरक्षा व्यवस्था बलियो बनाउनुर्ने उनको भनाइ छ।
बाँकेका नाटा अध्यक्ष श्रीराम सिग्देलले आफूहरूले नेपालस्थित भारतीय दूतावासका साथै भारतीय मन्त्रीलाई समेत नेपालगञ्जबाट भारतका दिल्ली, चण्डीगढ र देहरादुनमा सिधा उडानका लागि आग्रह गरेको बताए। उनका अनुसार यस विषयमा भारतका परिवहनमन्त्री निकै सकारात्मक छन्।
नेपालगञ्ज हुँदै मानसरोवरको यात्राका लागि वार्षिक एक लाखभन्दा बढी मानिसहरू आउँछन्।
भारतका केही सहरसँग सिधा उडान हुन सके त्यसले पश्चिम नेपालको विकासमा ठूलो टेवा पुग्ने अध्यक्ष सिग्देलको विश्वास छ।
सरकारले देशका धेरै ठाउँमा विमानस्थलहरू बनाए पनि कहाँको महत्व कति छ भन्ने थाहा नपाएको उनको टिप्पणी छ। राँझा विमानस्थलबाट भारतीय सहरहरूमा सिधा उडान हुन सके चाँडै प्रतिफल प्राप्त हुने हुने पनि उनको विश्वास छ।
उनको विचारमा काठमाडौंपछि पश्चिम क्षेत्रमा अन्तर्राष्ट्रिय उडानको बलियो सम्भावना राँझा विमानस्थलमै छ।
‘काठमाडौंबाट उडेर दिल्ली जाने जहाज नेपालगञ्जकै आकाशबाट जान्छन्,’ सिग्देल भन्छन्, ‘नेपालगञ्जबाट दिल्ली नजिक पर्छ। नेपालगञ्जलाई दिल्ली र भारतका केही सहरसँग एयर कनेक्टिभिटी चाहिएको छ।’
यस्तो कनेक्टिभिटीका लागि राँझा विमानस्थलमा बलियो र विश्वासिलो सुरक्षा व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
निकट भविष्यमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने भारत भ्रमणका क्रममा नेपालगञ्जबाट भारतीय सहरहरूमा एअर कनेक्टिभिटीको कुरा उठाउनुपर्ने उनले बताए।
उनका अनुसार बाँकेका प्रतिनिधिसभा सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिका पूर्वमेयर धवल शमशेर राणाले बुद्ध एयरको सहयोगमा नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज– देहरादुन र नेपालगञ्ज–चण्डीगढ उडानका लागि संवाद अघि बढाएका छन्।
‘काठमाडौंको तुलनामा आधा खर्च र आधा समयमा नेपालगञ्ज–दिल्ली यात्रा हुन्छ,’ सिग्देल भन्छन्, ‘अहिले टर्मिनल भवन बन्दै छ। अब धावनमार्ग बिस्तार गरेर छिट्टै नेपाल–भारत उडान गर्न जरुरी छ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणको राँझा विमानस्थल प्रमुख सुरेश खनालले विमानस्थल स्तरोन्नतिको प्रक्रिया अन्तर्गत भौतिक पूर्वाधार निर्माणको काम भइरहेको बताए।
धावनमार्ग विस्तार, जहाज पार्किङ एरिया थप काम क्रमिकरूपमा भएकाले भविष्यमा क्षेत्रीय र अन्तर्राष्ट्रिय उडानका लागि सहज हुने उनको विश्वास छ।
तस्बिर : नारायण खड्का