होटल संघ नेपालले अध्यक्ष सृजना राणाको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. रामशरण महतसँग भेटेर ज्ञापनपत्र बुझाएको छ।
उक्त अवसरमा संघका अध्यक्ष राणाले कोभिड-१९ बाट अति प्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरूत्थान हुन नसक्दा व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको बताइन्।
अध्यक्ष राणाका अनुसार कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए तापनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको छ।
दैनिक रुपमा घाटामा सञ्चालनमा रहेको हुँदा देशैभरका होटल व्यवसायीहरूले माग गरेका ज्वलन्त समस्याहरू समाधान गरिदिनु अनुरोध गरिन्।
यी हुन् संघले अर्थमन्त्रीलाई बुझाएका सुझाव
१.राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सम्बन्धमा-धेरै धनराशी खर्च भई, वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत तथा बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह आगामी बजेट र कानुनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा समावेश गरी यस उद्योगको जर्गेना गनुपर्ने
२.ब्याजदर सम्बन्धमा-यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेको बैंकको बढ्दो ब्याजदर होटल जस्तो अति संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकुल देखिएकोले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाइदिनु हुन अनुरोध
३.समय सीमा सम्बन्धमा-होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने बुझाउने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेको होटल उद्योगले हालको अवस्थामा कुनै पनि हालतमा बैंकलाई साँवा र व्याज बुझाउन सक्षम नरहेको तर बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यवसायीहरु आन्दोलित रहेको हुँदा तोकिएको समयसीमा बढाई थप सहजिकरणका लागि हार्दिक अनुरोध
४.पुनतालिकीकरण र पुनर्कर्जा सम्बन्धमा-मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनतालिकीकरण र पुनर्कर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था हुन विशेष अनुरोध