आगामी वैशाख १ गते बन्दीपुरको होटलमा पुग्ने पहिलो पाहुँनाले एक रूपैयाँमै बस्न पाउने भएका छन्।
नयाँ वर्षलाई लक्षित गर्दै बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि यस्तो प्रयास गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार यो अफरका लागि बन्दीपुरको होटलमै पुगेर बुकिङ गर्नु पर्नेछ।
'बन्दीपुरको होटलमा पुग्ने पहिलो पर्यटकले वैशाख १ गतेका लागि एक रूपैयाँमा एउटा कोठा पाउनेछ,' उनले सेतोपाटीसँग भने, 'कोठामा दुई जना बस्न मिल्नेछ। खानाका लागि भने पेमेन्ट गर्नुपर्छ।'
विशेष कोभिडले थला पारेका बेला बन्दीपुरलाई उकास्नका लागि विभिन्न प्याकेजहरू बनाइरहेको उनी बताउँछन्।
यस्तै, नयाँ वर्षलाई विशेष बनाउन बन्दीपुरमा विभिन्न कार्यक्रमहरू तयार हुँदैछन्। अध्यक्ष श्रेष्ठकाअनुसार चैत ३०, वैशाख १ र २ गते (बिहीबार, शुक्रबार र शनिबार) बन्दीपुरमा १५ वटाभन्दा बढी कार्यक्रम हुनेछ।
बन्दीपुरका ठाउँ ठाउँमा लाखे नाच, बाघ जात्रा, पुतली ट्रे, बिस्केट यात्रा, चुड्का, घाटु लगायत सांस्कृतिक तथा मौलिक कार्यक्रम राखिएको अध्यक्ष प्रधानले बताए। पाहुनाहरूलाई आकर्षित गर्न होटलहरुले आ–आफ्नो तरिकाले प्याकेजका कार्यक्रम पनि घोषणा गरिरहेका छन्।
बन्दीपुरमा दैनिक दुई हजार पर्यटक धान्न सक्ने पूर्वाधार छ।
साना–ठूला गरी ७७ वटा होटल तथा रेस्टुरेन्ट र १२ वटा होमस्टे छन्। विशेष भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गमाई मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकका आकर्षण हुन्।
त्यस्तै, यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमशृंखला अवलोकन गर्न सकिन्छ।