संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ५ बुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले तीन दिनभित्र जवाफ दिन भन्दै सोमबार स्पष्टीकरण सहितकाे पत्र पठाएको हाे।
पहिलो बुँदामा मन्त्रालयले मलेसियाको चार्टर उडानबाट नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) लाई के कति भार थपिएको हो स्पष्ट पार्न भनिएकाे छ।
यसैगरी दिल्लीमा पांग्रा बिग्रिएर उडान ढिलो भएको र भाडामा पांग्रा लिँदा हुने आर्थिक भारसँगै पांग्रा जगेडा नराखेको विषयमा मन्त्रालयले जवाफ मागेको छ।
काठमाडौं-दुबई उडानमा को-पाइलट बिरामी हुँदा रोकिएको उडान, त्यसबाट निगमलाई भएको आर्थिक क्षति र पाइलट व्यवस्थापनको विषयमा समेत मन्त्रालयले अधिकारीसँग जवाफ मागेको छ।
त्यस्तै गरी मन्त्रालयले विमानस्थलबाट लगेज हराएको विषय र मन्त्री सुदन किरातीले मन्त्रालयको जिम्मेवारी लिएपछि आन्तरिक उडानमा रहेको ट्विनअटर जहाजको उडान तथा ग्राउन्डेड समय र त्यसबाट निगमलाई परेको आर्थिक भारको विषयमा अधिकारीसँग जवाफ मागेको हो।