शंकरदेव क्याम्पसमा स्नातक तह पढ्ने २४ वर्षीय सागर धमलालाई पढ्ने बेला गीत नसुनी हुँदैन। युट्युबमा गीत सुन्दा पढाइमा अवरोध आउँथ्यो।
मैतीदेवी बस्ने २६ वर्षीय विनायक श्रेष्ठ घरबाहिर निस्कँदा पनि इयरफोन लगाएर गुनगुनाउँदै हिँड्न रुचाउँछन्। घरमा अनलाइन गीत सुन्ने उनी अफलाइन गीत सुन्न मिल्ने विकल्पको खोजीमा थिए।
छ महिनादेखि 'दाम्मी म्युजिक एप' प्रयोग गर्न थालेपछि खोजेजस्तै विकल्प भेट्टाएको उनीहरू बताउँछन्।
पुरानो पुस्ताको अनुभवलाई नयाँ समयले कहानी बनाइदिन्छ। ग्रामोफोनदेखि स्मार्टफोनको युगसम्म आइपुग्दा नेपाली गीत बन्ने र सुन्ने अभ्यासका पनि अनेक कहानी छन्। प्रविधिले ती अभ्यासलाई निरन्तर बदलिइरहेको छ। यसलाई प्रविधिले लेखेको कहानी भन्न मिल्ला कि!
२००७ सालअघिको पुस्ताले ग्रामोफोन सुन्यो। त्यसपछि रेडियो, क्यासेट प्लेयर, सिडी हुँदै एमपिथ्रीको समय हामीमध्ये धेरैले देखेकै हो। यो चरणसम्म घरको कोठामा होस्, वा ल्यापटप र मोबाइलमा- गीत संकलन गर्न हामीलाई 'स्पेस' चाहिन्थ्यो। एपमा गीत सुन्ने पुस्तासम्म आइपुग्दा भने गीत–संगीत 'भर्चुअल स्पेस' मा संकलन हुन थालेको छ।
अचेल गीतका एल्बम राख्न ठाउँ छुट्टयाउनु पर्दैन। ल्यापटप वा मोबाइलको 'स्टोरेज' पनि खाँदैन। गीतहरू हावामै उडिरहेका हुन्छन्। टपक्क टिप्यो, सुन्यो।
सागर र विनायक यही एप पुस्ताका प्रतिनिधि पात्र हुन्।
नेपाली फिल्मका गीत सुन्न रुचाउने सागर र नब्बे दशकका पप गीत मन पराउने विनायकले अचेल गीतकै लागि भनेर मोबाइलमा मेमोरी कार्ड प्रयोग गर्न छाडिसके। 'एउटै एपमा २० हजारभन्दा बढी गीत भएपछि मेमोरी कार्डको के खाँचो!' उनीहरू भन्छन्।
विनायक र सागर दुवै दाम्मी म्युजिकका प्रयोगकर्ता हुन्। एक वर्षदेखि सञ्चालनमा आएको दाम्मीमा १२ हजार सक्रिय सदस्य छन्। करिब २० हजार गीत संकलित छन्। यो एप प्रयोग गर्नेहरू औसतमा हरेक महिना हजारका दरले बढेको देखिन्छ। यो डिजिटल संसारमा नेपाली संगीत सुन्ने स्रोता बढेको उदाहरण हो।
नेपाली संगीत सुन्ने स्रोताका लागि एक भरपर्दो डिजिटल प्ल्याटफर्म बनेको 'दाम्मी' का सञ्चालक हुन्, रोशन श्रेष्ठ, सुदीप पोखरेल र राजकुमार श्रेष्ठ। यी तीन जनालाई संगीतको रूचि र व्यवसाय गर्ने चाहनाले आपसमा जोडेको हो। जनबोलीमा भिजेको अनौपचारिक शब्दको खोजीमा यो नाम जुरेको उनीहरू बताउँछन्।
३३ वर्षीय रोशन रेडियो र क्यासेट प्लेयरमा गीत सुनेर हुर्केका हुन्। कलानिधि विद्यालयबाट संगीतमा स्नातक तेस्रो वर्ष पूरा गरेका उनले आफ्नै एल्बम निकाल्दा माध्यम बदलिइसकेको थियो। २०७० सालमा उनले आठवटा गीत संकलित एल्बम 'सुसेरी' सिडीमा निकाले। त्यो बेला सिडी त निस्कन्थे तर सिडी पसलहरू क्रमशः मोबाइल पसलमा रूपान्तरण भइरहेका थिए। गीतहरू ब्लुटुथ र पेन ड्राइभबाट मोबाइल र कम्प्युटरमा सार्न मिल्ने भइसकेको थियो।
एल्बम बिक्रीबाट रोयल्टी पाएर आयआर्जन गर्ने गायक र संगीत कम्पनी संकटमा थिए। यस्तो अवस्थामा रोशनजस्ता धेरै गायक-गायिका संगीत क्षेत्रमा निरन्तरता दिन हच्किए।
रोशन भन्छन्, 'भविष्य अँध्यारो लागे पनि संगीत क्षेत्र चटक्कै छाडिहाल्न सक्दिनथेँ।'
केही समय संगीत पत्रकारितातिर लागेर उनले यो क्षेत्रलाई नजिकबाट नियाल्ने काम गरे। व्यवस्थापनका विद्यार्थी भएकाले पनि होला, उनी प्रविधिले संगीत बजारमा पारेका प्रभावबारे जिज्ञासु रहन्थे।
संयोगवश दुई वर्षअघि नेपालमा एनसेलमार्फत् 'योन्डर' म्युजिक एप भित्रियो। रोशनका साथी सुदीप पोखरेल योन्डर म्युजिकमा काम गर्न थाले। गायक र पत्रकारको नाताले संगीत क्षेत्रका धेरै कलाकारसँग रोशनको राम्रो सम्बन्ध थियो। योन्डर म्युजिकका लागि उनले बाहिरैबाट सघाए।
यसैबीच संगीतलाई माया गर्ने र प्रविधिमा ज्ञान भएका राजकुमार जोडिए। व्यवसायी भए पनि उनी नेपाली संगीत भनेपछि हुरुक्कै हुन्थे।
यी तीनै जना नेपाली संगीत क्षेत्रको संकट र सम्भावनाबारे गफ्फिन थाले। प्रत्येक छलफलपछि उनीहरू केही गर्न पाए हुने भन्ने निष्कर्षमा पुग्थे। सावन, गाना, हंगामा, स्पटिफाई, आइट्युन्सजस्ता एप प्रयोग गरेका उनीहरूलाई योन्डरले नेपाली संगीत एपको फराकिलो सम्भावना देखाइदिएको थियो।
'योन्डर नेपालसँगको अनुभवले डिजिटल बजारबारे आधारभूत ज्ञान र नेपाली संगीत विस्तारको सम्भावना देख्ने मौका मिल्यो,' सुदीप भन्छन्।
यसैमा राजकुमार थप्छन्, 'करिब एक वर्ष नबित्दै योन्डर ग्लोबली नै बन्द भयो। त्यसपछि हाम्रो सहयात्राको उद्देश्य झनै प्रस्ट भयो।'
युट्युबलगायत अन्य अनलाइन प्ल्याटफर्ममा निःशुल्क गीत सुन्ने बानी परेका स्रोताले पैसा तिरेर नेपाली एप प्रयोग गर्लान् त भन्नेबारे सुरूमा तीनै जना शंकालु थिए। तर, सोचेभन्दा कम समयमै सदस्य बढेको उनीहरू बताउँछन्।
'एक वर्षभित्र हामीले पाएको प्रतिक्रिया सकारात्मक छ। यसमा अझ लगानी थपेर विस्तार गर्ने आँट पलाएको छ,' रोशन भन्छन्।
दाम्मी म्युजिकमा पैसा तिर्ने र नतिर्ने दुवैथरी स्रोताका लागि अलग सुविधा उपलब्ध छ। फरक यत्ति हो, निःशुल्क सेवा प्रयोगकर्ताले गीत डाउनलोड गर्ने सुविधा पाउँदैनन्। पेजमा आउने विज्ञापन हेर्ने झन्झट पनि बेहोर्नुपर्छ। पैसा तिर्ने ग्राहकले भने राम्रो साउन्ड क्वालिटीमा बिनाविज्ञापन गीत डाउनलोड गर्ने सुविधा पाउँछन्। पैसा तिरेको अवधि सकिएपछि गीत आफैं हट्छ।
दाम्मी एपले दैनिक, साप्ताहिक र मासिक सेवा उपलब्ध गराएको छ। दैनिक प्याकेजका लागि भ्याटबाहेक तीन रुपैयाँ, साप्ताहिकका लागि १५ र मासिकका लागि ५० रुपैयाँ दर तोकिएको छ। यसमा भ्याट थप तिर्नुपर्छ।
राजकुमारका अनुसार, हरेक गीतबाट आउने रकमको ५० प्रतिशत हिस्सा दाम्मी म्युजिकले लिने र बाँकी कलाकार वा संगीत कम्पनीले पाउने सहमति गरिएको हुन्छ।
पछिल्लो समय नेपाली म्युजिक कम्पनी र कलाकारबीच विश्वासको वातावरण छैन। म्युजिक कम्पनीहरू रोयल्टी छलेको आरोपमा विवादमा तानिएका छन्। यस्तो अवस्थामा कसरी र किन दाम्मी म्युजिकलाई विश्वास गर्ने त भन्ने विषय सबैभन्दा ठूलो चुनौती बनेको रोशन बताउँछन्।
'कपीराइटको मामिलामा पहिल्यैदेखि कलाकार तल र म्युजिक कम्पनीहरू माथि थिए। त्यसैले गीत कोसँग लिने, कसरी लिने भन्ने प्रक्रिया झन्झटिलो छ,' गायकसमेत रहेका उनी भन्छन्, 'म आफैं गायक भएकाले कन्भिन्स गराउन अलि सजिलो हुन्छ।'
जति झन्झटिलो भए पनि यसको बजार असीमित रहेको उनको भनाइ छ। त्यही भएर उनीहरू अझै गीत थप्न प्रयासरत छन्।
'यो मन रम्दैछ' दाम्मी म्युजिक एपमा राखिएको सबभन्दा पहिलो गीत हो, जुन रोशनले नै गाएका हुन्। एक वर्षमा दाम्मी एपमा दर्जनौं कम्पनी र सयौं गायक-गायिकाका हजारौं गीत संकलन भइसकेका छन्। ती गीत-संगीतलाई स्रोताको रूचि ध्यानमा राखेर विभिन्न शीर्षकमा फोल्डर बनाएर राखिएको छ।
दाम्मी एप खोल्नुभयो भने तपाईंहरू देख्नुहुन्छ– एडिटर्स पिक, न्यू रिलिज, दाम्मी एक्सक्लुसिभ, ट्रेन्डिङ संग्स, फिचर्ड आर्टिस्ट, टप चार्ट्स, पपुलर संग्स, दाम्मी स्पेसल लगायत नेवार, थारू, भोजपुरी संगीत शीर्षकहरू। समयअनुसार यस्ता शीर्षक हेरफेर भइरहन्छन्।
उदाहरणका लागि, फेब्रुअरीमा मनाइने प्रेम दिवसलाई ध्यानमा राखेर लभ्ली फेब्रुअरी शीर्षकको फोल्डर बनाइएको छ। विधागत रूपमा पनि आुधनिक, र्याप, पप, रक गीतहरू छुट्याइएका छन्। गत महिना यमबुद्ध बितेको तीन वर्ष भएको सन्दर्भमा यमबुद्धका गीतको फोल्डर बनाइएको थियो।
रोशनका अनुसार, यस्तो प्लेलिस्टले स्रोतालाई गीत खोज्न सजिलो हुन्छ। उनीहरूले रोजेको गीत छोटो समयमै पाउँछन्। मुडअनुसार लभ, स्याड, पार्टी, डान्स र क्लब संग्ससँगै ट्राभल संग्स पनि भेटिन्छन्।
तपाईंको कोठाको कुनै कुनामा अझै क्यासेट वा सिडी छन् भने पल्टाएर हेर्नुस् त, तिनमा पक्कै 'स्क्र्याच' होला। धूलो पनि जमेकै होला। बाहिरी कभरमा तपाईंले भुल्न लागेका गीतका बोल पनि होलान्, जुन कहिल्यै झुक्केर पनि कतै बज्दैनन्। गीत हेर्ने जमानामा ती कर्णप्रिय गीत सायद तपाईंले नै बिर्सन लागिसक्नुभयो।
'दाम्मी' मा तपाईंहरू यस्ता ओझेलमा परेका गीत सुन्न सक्नुहुनेछ, जुन तपाईंको प्रिय गीत पनि हुन सक्छ। त्यसपछि तपाईं पक्कै भन्नुहुनेछ, 'वाह, दाम्मी म्युजिक!'