दामी छ! – विशेषगरी युवा पुस्ताको जिब्रोको शब्द।
यसको अर्थ – निकै राम्रो छ।
यही शब्द र यसको अर्थलाई व्यवहारमा उतार्न लागिपरेका तीन युवा छन्– शुभम कार्की, सुवास अधिकारी र मनोज अधिकारी।
तीन जना नातेदार हुन्। सुवास र मनोज सहोदर दाजुभाइ, शुभम उनीहरूका मामाका छोरा।
उनीहरू साझेदार पनि हुन्। दाजुभाइ मिलेर व्यवसाय सुरू गरेका छन्। नाम हो– दामी छ!
'दामी छ' लुगाकपडाको नेपाली ब्रान्ड हो।
यसको यात्रा शुभमले वैदेशिक यात्रा छाडेपछि सुरू भएको थियो। कामको शिलशिलामा जापान, हङकङ, अष्ट्रेलिया लगायत विभिन्न देशमा करिब दुई वर्ष बिताएर शुभम नेपाल आए। नेपालमै केही गर्ने सोचेर फर्केका थिए।
के गर्ने, टुंगो भने थिएन!
उनलाई अस्ट्रेलिया हुँदाको एउटा घटना याद आयो।
एक जना साथीले आफ्नो ज्याकेटलाई सानो झोला (थैलो जस्तै) बनाएर देखाए। ज्याकेटलाई झोला अनि फेरि झोलालाई ज्याकेट बनाउन मिलेको देखेर शुभम दंग परे। एकभन्दा बढी प्रकारको वा प्रयोजनको बनाउन मिल्ने लुगालाई 'कन्भर्टिबल' भनिँदो रहेछ।
'नेपाल फर्किएपछि कुनै व्यवसाय गर्ने सोचमा थिएँ। कन्भर्टिबल ज्याकेटको अवधारणा रोचक थियो। यसबारे भाइ (मनोज) लाई सुनाएँ,' शुभमले भने, 'भाइलाई पनि मनपर्यो। यसपछि हामीले नेपालमा पहिलोपटक कन्भर्टिबल ज्याकेट बनाउन सुरू गर्यौं।'
मनोजका दाइ सुवासले पनि सघाउने भए। यसरी तीन दाजुभाइ मिलेर २०७८ को अन्तिमतिर कम्पनी सुरू गरे। 'ट्रेन्डी' नाम खोजी गर्ने क्रममा 'दामी छ' जुरेको शुभमले बताए।
हाल दामी छ अपिरल लिमिटेडमार्फत बजारमा कन्भर्टिबल ज्याकेटसँगै कन्भर्टिबल हुडी, विन्ड-चिटर (हावा नछिर्ने ज्याकेट), वाटर-रेसिस्टेन्ट (पानी नछिर्ने) ज्याकेट, ब्ल्यांकेट, टिसर्ट, ट्र्याक सुट, हुडी, रेनकोट गरी दुई दर्जनभन्दा बढी प्रकारका लुगा पाइन्छ। यी सबैजसो बहुप्रयोजनका हुन्। लुगाहरूमा भने 'दामी' ब्रान्ड नाम उल्लेख छ।
सुरूआती दिनमा ग्राहकहरू कन्भर्टिबलको अवधारणा नौलो मान्थे। ज्याकेट कसरी ब्याग बन्छ भन्दै चासो देखाउँथे। अहिले धेरैले कन्भर्टिबल फेसनको जानकारी पाएका छन्। दामी छले एक वर्षमै ग्राहकको मन जित्न सकेको सञ्चालकहरू बताउँछन्।
'ग्राहकहरूले उत्पादन दामी छ भन्नुहुन्छ। धेरैलाई मनपरेको छ,' मनोजले भने।
यहाँ बच्चा तथा वयस्क महिला र पुरूष सबैका लागि लुगा बन्छन्। मूल्य एक हजार पाँच सय रूपैयाँदेखि तीन हजार रूपैयाँसम्म पर्छ। ब्रान्डको लोगोमा 'शान्तिमय हंस' छ। सबै वर्गलाई समेट्ने सन्देश प्रवाह गर्ने भएकाले उक्त लोगो रोजेका हुन्।
'हरेक लुगाको डिजाइन म आफैं गर्छु,' शुभमले भने।
हाल २७ वर्षे शुभमको रूचि पहिल्यैदेखि डिजाइनमा थियो। प्लस-टु पूरा भएपछि बुटिकमा डिजाइनको काम पनि गरेका थिए। अहिले दामी छमा उत्पादनको काममा कर्मचारीलाई उनैले बुझाउँछन्।
तयार भएको सामान बजार पुर्याउने जिम्मा मनोजको छ। उनी मार्केटिङसँगै अन्य प्राविधिक काम सम्हाल्छन्। प्लस-टु पढ्दादेखि वेबसाइट निर्माण गर्ने प्राविधिक कार्यमा सक्रिय थिए। उनले व्यापार अध्ययनमा स्नातकोत्तर गरेका छन्।
कम्पनीको समग्र व्यवस्थापन भने सुवासको जिम्मामा छ। उनी ट्रेकिङ पेसामा थिए। पर्यटन क्षेत्रमा १४ वर्ष बिताइसकेका उनको काम कोरोनाले धरापमा पार्यो। ३५ वर्षीय सुवास भाइहरूसँगको सल्लाहअनुसारै दामी छमा आबद्ध भएका हुन्।
'हाम्रो पृष्ठभूमि फरक भए पनि सोच मिलेको छ,' मनोज भन्छन्, 'पहिले हामीलाई मार्गदर्शनको कमी थियो। दाइ (सुवास) भएकाले सहज भएको छ।'
कम्पनीको काम विभाजन रूचि र अनुभवका आधारमा गरिएको उनीहरू बताउँछन्। अस्ट्रेलिया जानुअघि शुभम अनलाइन सपिङ प्लेटफर्म 'ट्रेन्डमान्डु' मा आबद्ध थिए। मनोज पनि सँगै काम गर्थे। यस मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका विभिन्न सामग्री बिक्री हुन्थ्यो। यहाँ तीन वर्ष काम गर्दा उनीहरूलाई अनलाइन बजारको अनुभव थियो।
यी दाजुभाइले दामासाहीमा १२ लाख रूपैयाँ लगानी गरेर काम अघि बढाएका हुन्। कन्भर्टिबल ज्याकेट बनाउने छलफल भएकै दिन उनीहरूले पुरानो ज्याकेटबाट झोला बनाए। 'प्रोटोटाइप' तयार गरेपछि नमूना बनाउनुपर्ने थियो।
अनलाइन बजारमा काम गर्दा थुप्रै व्यवसायी र कारखानासँग सम्पर्क थियो। तिनैमध्येको एक कारखानामा डिजाइन दिए।
'सुरूमा मास्टर (लुगा सिलाउने व्यक्ति) लाई डिजाइन बुझाउनै समय लाग्यो। हाम्रो डिजाइन नौलो थियो,' शुभमले भने, 'बजार पुर्याउने डिजाइनको नमूना निकाल्न पनि करिब एक महिना लाग्यो।'
गर्मीमा उपयुक्त कन्भर्टिबल ज्याकेट बनाएर उनीहरूले बजार पुर्याए। अनलाइन मार्केटिङ र इ–सपिङमा जोड दिए। सामाजिक सञ्जालहरूबाट उत्पादन प्रवर्द्धन गरे। बिस्तारै अर्डर आउन थाल्यो, बढ्दै गयो। दामी छले बजारमा आफ्नो ठाउँ बनाउँदै गयो।
मनोजका अनुसार दामी छका हरेक उत्पादन नेपालमै बनेका हुन्। कपडा किन्न कुनै कम्पनी विशेषसँग सम्झौता छैन। बजारमा उपलब्धमध्ये सबभन्दा राम्रो किनिरहेको उनको भनाइ छ।
यो ब्रान्डको एउटा खास विशेषता छ। कुनै पनि उत्पादन बजारमा पुर्याउनुअधि त्यसको नामकरण गरिन्छ। त्यसरी नाम राख्दा ग्राहकले नयाँ ब्याचमा लुगा बनेको थाहा पाउँछन्।
'उत्पादनको गुणस्तर र विशेषता अपग्रेड गर्दै जान्छौं। यसबारे बुझ्न सहज होस् भनेर नाम राखेका हौं। ग्राहकलाई सामान अर्डर गर्न पनि सजिलो हुन्छ,' मनोजले भने।
सुरूको केही महिना अर्कैकहाँ सिलाइ गर्ने उनीहरू अहिले सामाखुसीमा जग्गा भाडा लिएर आफ्नै कारखाना चलाउँदै छन्। हाल यहाँ १८ जना कर्मचारी छन्। सुरूमा पाँच वटा सिलाइ मेसिन थिए, अहिले १५ वटा छन्।
जनशक्ति अभाव नभए पनि कहिलेकाहीँ कच्चा सामग्री नपाउँदा समस्या हुन्छ।
'बजारमा एकै प्रकारको कच्चा सामग्री पाइँदैन। एकपटक ल्याएको कपडा अर्कोपटक पाउन गाह्रो पर्छ,' मनोजले भने, 'यो समस्या समाधान गर्न भविष्यमा आफैं कच्चा सामग्री आयात गर्ने योजनामा छौं।'
कारखानाबाट करिब एक किलोमिटर पर कम्पनीको कार्यालय र एउटा सानो पसल छ। जोड भने अनलाइन व्यवसायमै हो। लुगा हेरेर मात्र किन्न चाहने ग्राहकका लागि पसल राखेका हुन्। कम्पनीले पोखरा, चितवन, हेटौंडा, स्याङ्जा लगायत दर्जनभन्दा बढी सहरमा पनि सामग्री पुर्याइरहेको छ।
'धेरै मानिसहरू अनलाइन सपिङमा पूर्ण रूपले विश्वास गर्दैनन्। इमानदारीपूर्वक गुणस्तरीय सामान बेच्न पनि चुनौतीपूर्ण छ,' सुवास भन्छन्, 'केही व्यवसायीको ठग्ने मनसाय हुन सक्छ। यसो हुँदा राम्रो मनसायले काम गर्ने व्यवसायी मर्कामा पर्छन्।'
अर्को चुनौती, बजारमा अझै पनि नेपाली ब्रान्डको लुगा गुणस्तरीय हुँदैन भन्ने छ।
'ठिकैको सामान भए पनि विदेशी ब्रान्डलाई धेरै तिर्न तयार हुने तर नेपाली भनेपछि हिचकिचाउँछन्,' उनी भन्छन्, 'हामी नेपाली ब्रान्ड गुणस्तरीय हुन्छ भनेर बुझाउँदै छौं।'
चुनौतीका बाबजुद दामी छले आफ्नो बजार विस्तार गर्दैछ। आफूहरू दीर्घकालीन योजनाअनुरूप अघि बढेको सुवास बताउँछन्। जतिसक्दो ठूलो बजार पुगेर नेपाली उत्पादन चिनाउने र नेपाली ब्रान्ड स्थापना गर्ने कम्पनीको लक्ष्य छ।
सरकारी निकायबाट सहयोग भए नयाँ व्यवसायीहरू बजारमा आउने विश्वास छ उनीहरूको।
भन्छन्, 'सम्बन्धित निकायको सहयोग पाए स्टार्टअप र व्यवसायीले नेपालमै राम्रा अवसर पाउन सक्छन्। वातावरण सहज हुँदा व्यवसाय चलायमान हुन्छ।'
(दामी छको फेसबुक पेजका लागि यहाँ र वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८०८८२७०४८)
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)