अंग्रेजी शब्द 'समसारा' को अर्थ हो पुनर्जन्म।
यही अवधारणामा व्यवसायी बनेका छन् कुशल अछामी, चाँदनी महत, अजित भट्ट र विजय केसी।
कुशल, अजित र विजयले काठमाडौं विश्वविद्यालयबाट डेभलपमन्ट स्टडिजमा स्नातकोत्तर पूरा गरेका छन्। चाँदनी ह्युमन एन्ड नेचुरल रिसोर्स स्टडिजमा स्नातकोत्तर हुन्।
उनीहरू मिलेर कलेजको प्रोजेक्ट वर्क (परियोजना कार्य) का लागि एउटा अवधारणामा काम गर्नुपर्ने थियो। त्यो समूहमा सात जना थिए। उक्त समूहले प्रोजेक्टका लागि 'वेस्ट टु आर्ट' अर्थात 'फोहोरबाट कला' अवधारणा बनायो। यसैमा प्रोजेक्ट पूरा गर्यो।
समूहका केही सहकर्मीहरूले उक्त प्रोजेक्टको अवधारणा कागज र परीक्षाको अंक प्राप्तिमा मात्रै सीमित नराखी केही सिर्जनात्मक काम गर्ने सोच बनाए। त्यसै अनुसार निरन्तर काम योजना बनाए।
'कुनै सामग्री पुरानो भएपछि त्यसलाई पुनः प्रयोग गर्न सकिन्छ र फोहोरलाई पनि व्यवस्थित गर्न सकिन्छ भन्ने अवधारणामा प्रोजेक्ट तयार पारेका थियौं,' २८ वर्षीया चाँदनीले भनिन्, 'त्यसलाई कलेजको व्यावहारिक सिकाइको अंकका लागि मात्रै सीमित नराखी काममा निरन्तरता दिने सोच्यौं।'
चाँदनी, कुशल, अजित, विजय र अन्य दुई जनाले संयुक्त रूपमा २०७६ साउनमा सुरू गरे 'समसारा क्रिएसन्स'।
समसारा क्रिएसन्सले वातावरणअनुकूलका विभिन्न सामग्री उत्पादन गर्छ। केही सामग्री 'अपसाइकल' गरिएका हुन्। केही नेपाली कच्चा पदार्थबाट बनाइएका छन्। अपसाइकल भनेको पुराना भएर काम नलाग्ने सामग्रीबाट काम लाग्ने अर्को कुनै नयाँ सामान बनाउने काम हो।
हाल यहाँको मुख्य उत्पादन झोला र ढाकाको टाई हो। यसबाहेक मौसम र मागअनुसार ह्याट, बुनेको टोपी, मास्क पनि बन्छ।
पुराना सामग्रीलाई नयाँ ढंगबाट उपयोग गर्न सकिने बनाउने गरी व्यवसाय सुरू गरेको हुनाले सञ्चालकहरूले पुनर्जन्म' अर्थ शब्द 'समसारा' बाट 'समसारा क्रिएसन्स' नाम रोजेको कुशलले बताए।
सुरूमा ६ जना संस्थापक सञ्चालक रहेकोमा हाल चाँदनी, कुशल, अजित र विजयले जिम्मेवारी सम्हालेका छन्।
३० वर्षीय कुशल प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। उनी बजार व्यस्थापन पनि हेर्छन्। चाँदनी कम्पनीको बिक्री प्रबन्धक र परियोजना सहयोगीको जिम्मेवारीमा छिन्। सामाजिक सञ्जाल पनि उनकै जिम्मामा छ।
२८ वर्षीय अजित 'प्रमुख परियोजना अधिकारी' को जिम्मेवारीमा छन्। र, २९ वर्षीय विजय प्रमुख रणनीति अधिकारी हुन्। समसाराको बजार व्यवस्थापन र अन्य संस्थाहरूसँग समन्वयको जिम्मा उनले लिएका छन्।
काम सुरू गरेपछि करिब ६ महिना सञ्चालक टोली परीक्षणमा थियो। बजार अध्ययन गर्यो। मेलाहरूमा आफ्नो स्टल राख्यो।
समसारा क्रिएसन्स फोहोर व्यवस्थापनको अवधारणाबाट सुरू भएको कम्पनी हो। यसले वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धिको काम पनि गर्छ।
'हामी पुनर्प्रयोग गर्न सकिने सामग्रीबाट नयाँ वस्तु बनाउँछौं। बजारको मागअनुसार चल्छौं,' सिइओ कुशल भन्छन्, 'उत्पादन बिक्रीसँगै वातावरण प्रदूषण नियन्त्रण, वातावरणअनुकूल सामग्रीको आवश्यकता लगायतका विषयमा जानकारी गराउन कार्यक्रमहरू आयोजना गर्छौं।'
समसारा थुप्रै समूह र समाजसँग जोडिएको छ र यो क्रम जारी छ। हालसम्म कम्तीमा ३० वटा कर्पोरेट कम्पनीहरूसँग सहकार्य भइसक्यो। यो सहकार्यमा जनचेतना अभिवृद्धिका कार्यक्रमहरू आयोजना हुन्छन्। विद्यालय तहका विद्यार्थीहरूलाई 'कौशल प्रशिक्षण' दिन्छ। प्राथमिक तहका विद्यार्थीलाई प्रशिक्षण दिने गरेको परियोजना सहयोगी चाँदनीको भनाइ छ।
समसाराले युवाहरूका लागि पनि प्रशिक्षण आयोजना गर्छ। सन् २०२२ मा तीन सय जना युवाले प्रशिक्षण पाएका छन्। उक्त वर्ष पुनर्प्रयोग गर्न सकिने झोला दुई हजार वटा र वातावरणअनुकूल अन्य सामग्री सात सय वटा उत्पादन तथा बिक्री गरेको छ। यी सबै उत्पादन वातावरणअनुकूल रहेको चाँदनीले बताइन्।
समसाराले काठमाडौं उपत्यकामा महिलाहरूसँग सहकार्य गरेर पनि झोला उत्पादन गर्छ। यसअन्तर्गत महिलाहरू घरमै बसेर काम गर्छन् जसलाई समसाराले 'समसारा होमबेस्ड आर्टिस्ट' भन्ने गरेको छ। यस्ता महिला २५ जना छन्। यीमध्ये केही महिला घरेलु तानमा कपडा बुन्छन्। त्यही कपडाबाट झोला बनाइन्छ।
समसाराले उत्पादनमा प्रयोग भएको सामग्रीका आधारमा नाम राख्छ। जस्तो कि 'रेसा झोला', 'लुहा झोला' इत्यादि।
झोलाको डिजाइनमा कुशलकी बहिनी पनि संलग्न छिन्। उनीसँगै 'नमूना कलेज अफ फेसन टेक्नोलोजी' का विद्यार्थीहरू डिजाइनमा काम गर्छन्।
चाँदनीका अनुसार ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले समसारा टिम उत्साहित छ। हालका लागि लक्षित बजार नेपाली नै हो। करिब ८० प्रतिशत ग्राहक महिला छन्।
समसाराका उत्पादन अनलाइन अर्डर गर्न सकिन्छ। यसको वेबसाइट र फेसबुक पेजसहित 'दराज नेपाल' र 'मेड इन' नेपाल अनलाइन स्टोरमा पनि पाइन्छ। डेलिभरी समसाराले नै गर्छ, काठमाडौं उपत्यकाभित्र बढीमा दुई दिनमा र उपत्यका बाहिर एक हप्तासम्ममा। डेलिभरीका लागि सिटी कार्गोसँग सहकार्य छ।
हालसम्ममा करिब ७० प्रतिशत ग्राहक सामाजिक सञ्जालमा जोडिएका छन्।
समसारा क्रिएसनका युवा सहकर्मीहरू धैर्य र इमानदारीमा विश्वास गर्छन्। यही मान्यतामा उनीहरू अघि बढेका छन्।
कुशल भन्छन्, 'बजारमा धेरै स्टार्ट–अप र उद्यमीहरू हुन्छन्। कतिले निरन्तरता दिन नसकेर हार मान्छन्। धैर्य र निरन्तरताले मात्रै सफल हुन सकिन्छ।'
उनीहरू उत्पादनसँगै बजार विस्तारमा लागेका छन्। बिक्रीका लागि पसल चलाएका छैनन्। चाँदनीका अनुसार मेला र प्रदर्शनी मुख्य माध्यम हो।
'ग्राहकहरूले हाम्रा सामग्री हेरेर किन्न सकून् भनेर विभिन्न मेला र प्रदर्शनीमा सहभागी हुन्छौं,' चाँदनी भन्छिन्, 'प्रदर्शनीबाट राम्रो प्रतिक्रिया पाउने गरेका छौं। ग्राहकहरूसँग भेटेर कुरा गर्दा माग र सुधारका पक्षहरूबारे थाहा पाइन्छ।'
उनका अनुसार समसारा क्रिएसन्स ५४ हजार रूपैयाँबाट सुरू भएको स्टार्ट–अप कम्पनी हो।
समसाराको कार्यालय जावलाखेलमा छ। उत्पादित सामग्री पनि त्यहीँ राखिन्छ।
सञ्चालकहरू चाँदनी, कुशल, अजित र विजयले आफ्नो पूरा समय समसारालाई दिएका छन्। व्यावसायिक सफलता उनीहरूको मुख्य उद्देश्य हो।
'हामीले समसारालाई नै आफ्नो करिअरको रूपमा लिएका छौं। यसैका कारण थुप्रै नयाँ कुरा सिक्दै छौं। नयाँ ज्ञान पाउँदै छौं,' कुशलले भने।
व्यक्तिमा अठोट भए र सहकर्मीहरूमा एकता भए अघि बढाउन सकिने धारणा राख्छन् उनीहरू। सहकार्यमा व्यवसाय गर्दा आपसी बुझाइ र सहमतिको आवश्यकता हुने उनीहरूको साझा धारणा छ।
उनीहरू समसारा क्रिएसन्सलाई अझ ठूलो बजारमा चिनाउन चाहन्छन्। यसका लागि पनि तयारी गरिरहेका छन्।
(समसारा क्रिएसन्सको फेसबुक पेजका लागि यहाँ र वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्। )
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)