युरोपियन बिजनेस स्कुल, म्युनिखमा स्नातक पढ्दै गर्दा सोनाम मोक्तान काठमाडौं फर्केर गर्ने कामबारे घोत्लिरहन्थे।
२०७२ सालमा उनको पढाइ सकियो। फर्केपछि पारिवारिक व्यवसाय ब्युँताउन सक्रिय भइहाले। हाल उपत्यकाका मुख्य केन्द्रमा 'लोगो' ब्रान्डका स्टोर स्थापना गर्न सफल उनी अचेल यसलाई देशभर फैलाउने सोचमा पुगिसकेका छन्।
उपत्यकाभित्र भक्तपुर, झम्सिखेल, नयाँ बानेश्वर, डिल्लीबजार, लाजिम्पाट र बौद्धमा गरी लोगोका छ वटा स्टोर सञ्चालित छन्। लकडाउनकै कारण ढिला भएको बौद्धको स्टोर भर्खरै सञ्चालनमा आएको हो।
लोगोले महिला र पुरुषले लगाउने सर्ट, टिसर्ट, प्यान्ट, ब्लाउज, ट्राउजर्स आदि कपडा उत्पादन गर्छ। सोनाम लोगोका कपडालाई 'स्मार्ट क्याजुअल', 'क्याजुअल', 'अफिस वेयर' आदिमा वर्गीकरण गर्छन्।
'ट्रेन्डी सेलेब्रेटी वेयर वा फेन्सीभन्दा पनि दिनदिनै लगाउन मिल्ने सहज कपडा छन्। अफिस जाँदा वा घुमघाम बेला लगाउन मिल्ने हाम्रा कपडा २० देखि ४० वर्ष उमेर समूहका ग्राहक लक्षित छन्,' उनी भन्छन्।
लोगोको यात्रा झन्डै बीस वर्षअघि सुरू भएको हो। उनका दाइ हिरा मोक्तानले गार्मेन्ट उत्पादन र निर्यात गर्ने उद्देश्यले लोगो फेसन इन्डस्ट्रिज स्थापना गरेका थिए।
सुरूआती वर्षमा नेपाली गार्मेन्ट उद्योग व्यवसाय राम्रो भएको समय थियो। लोगो फेसन इन्डस्ट्रिजका उत्पादन युरोप, अस्ट्रेलियासम्म फैलिए। 'वान अफ द लिडिङ म्यानुफ्याक्चरर्स अवार्ड' पाउन सफल लोगोको कारखाना माओवादी द्वन्द्व र तत्कालीन राजनीतिक अस्थिरताका कारण बन्द गर्नुपर्ने स्थिति आयो।
देशभित्र व्यवसाय गर्ने अनुकूल वातावरण नभएपछि उनका दाइ हिराले दुबई केन्द्र बनाएर नेपालमा गर्दै आएको काम निरन्तरता दिए।
सोनाम फर्केपछि दुबईबाट हुँदै आएको काम नेपालबाटै हुन थाल्यो। अब विस्तारै दुबईको कारखाना बन्द गरेर सबै काम नेपालमै गर्ने उनी बताउँछन्।
लोगो फेसन इन्डस्ट्रिजले पहिले अरूका लागि उत्पादन गर्थ्यो। आफ्नै स्टोर खोलेर कपडा बेच्ने सोच पहिले नभएको सोनाम बताउँछन्।हाल २८ वर्ष लागेका उनी पाँच वर्षअघि उमेर र अनुभव दुवै हिसाबले कलिलै थिए। गुणस्तरीय उत्पादन बजारमा सजिलै बेच्न सकिन्छ भन्ने सोच्थे।
एकातिर व्यावसायिक क्षेत्रमा नयाँ, अर्कोतिर लोगो फेसन इन्डस्ट्रिजको काम लामो अन्तरालपछि नेपालबाटै हुन लागेको थियो, 'नेपाली उत्पादन र बजारका व्यावहारिक कुरा थाहा थिएन। नेपाली ब्रान्ड बजारमा बेच्ने कुरामा होलसेलरहरूमै विश्वास कम थियो।'
त्यो बेला सोनाम ब्रिफकेसमा लोगोका नमूना बोकेर रन्जना गल्ली, न्युरोडका होलसेल बजार र रिटेल पसल धाउँथे। गुणस्तर मन पराए पनि होलसेलरहरू किन्न हिचकिचाउने रहेछन्। यसै क्रममा एक पटकको घटनाले उनलाई निकै चोट पार्यो।
'एक जना रिटेलरले मैले देखाएको नमूना मन पराए। तर उनले लोगोको ठाउँमा अरमानी ब्रान्डको ट्याग राखे कपडा किन्छु भने,' सोनाम त्यो दिनको घटना सुनाउँछन्, 'त्यही घटनापछि आफ्नो उत्पादन बेच्न आफैं स्टोर खोल्नुपर्छ भन्ने महशुस गरेँ।'
नेपाली ब्रान्डलाई ग्राहकले ढुक्कले किन्ने अवस्थामा पुर्याउनु पर्छ भनेर उनलाई त्यही घटनाले 'इमोसनली ड्राइभ' गरेको हो।
केही चित्त नबुझ्ने कुरा भोगे पनि नेपाली बजारका सजिला-अप्ठ्यारा पक्ष बुझ्न त्यो चरणले उनलाई सिकायो। भन्छन्, 'आफ्नो उत्पादन बेच्ने मात्रै नभई त्योप्रतिको विश्वास आर्जन गर्नु र बजारमा राम्रो छवि बनाउनुलाई मैले आफ्नो चुनौती मानेँ।'
सोनाम हाल लोगोले त्यो चुनौतीको चरण पार गरिसकेको ठान्छन्, 'नेपाली ब्रान्ड र कपडा व्यवसाय क्षेत्रमा हामी उत्साहजनक स्थितिमा आइसकेका छौं।'
लोगोको कारखाना भक्तपुर र कार्यालय भैंसेपाटीमा छ। हरेक दिन यिनै स्टोर, कारखाना र कार्यालय पालैपालो धाउनु उनको दैनिकी हो। उनी स्टोरमा ग्राहकसँग कुरा गर्नेदेखि कारखानामा डिजाइनिङको काममा समेत संलग्न हुन्छन्। सरसल्लाह र सुझाव लिन्छन्, दिन्छन्।
हाल लोगोको कारखानामा ६० जना कामदार छन्। महिला सशक्तीकरणमा पनि जोड दिने उद्देश्य लिइएकाले काम गर्ने महिला पुरुषको संख्या बराबरीजस्तै छ। सोनामका अनुसार पुरुष र महिलाको पारिश्रमिकमा कुनै भेदभाव छैन। कामदारको आर्थिक सुरक्षालाई महत्व दिई स्वास्थ्य बीमा र 'प्रोभिनेन्ट फन्ड' पनि व्यवस्था छ।
युरोपमा केही वर्ष बिताएका उनी भन्छन्, 'कारखानाको काम गर्ने वातावरण युरोपियन स्टान्डर्डको छ। नाफामुखी मात्रै नभई नैतिकता र व्यावसायिक व्यवहारमा जोड दिइएको छ। काम गर्नेहरू खुसी नभई राम्रो उत्पादन निस्किँदैन। कामदारकै खुसीमा हाम्रो सफलता भएकाले सबै जना सन्तुष्ट हुने गरी काम गर्दै आएका छौं।'
आफ्नो सोच व्यावसायिक भए पनि सोनामलाई कतिपय कुरामा नेपाली व्यवसायी र ग्राहकको सोच अव्यावसायिक लाग्छ।
'नेपाली उत्पादन भन्ने बित्तिकै कमसल हुने र सस्तै हुनु पर्ने सोच हाबी छ,' उनी भन्छन्, 'हामीकहाँ निश्चित मूल्य भनेर स्पष्ट तोकिए पनि रिटेल किन्ने बानी अझै हटाउन सकिएको छैन। भाउ मोलतोल गरिन्छ। फिक्स्ड प्राइस भनेपछि बार्गेनिङ गर्न नमिल्ने कुरा बुझाउन धेरै संघर्ष गर्नुपरेको छ।'
यति हुँदाहुँदै नेपाली ब्रान्डप्रति पछिल्लो समय ग्राहकको विश्वास बढ्दै गएकाले उनमा उत्साह थपिएको छ।
हाल लोगोमा पाइने कपडाको भाउ पन्ध्र सयदेखि तीन हजारसम्म पर्छ। नेपाली ब्रान्ड भए पनि लोगोले कच्चा पदार्थ विदेशबाट आयात गर्छ। सोनामको भनाइमा कारखानामा काम गर्ने दक्ष जनशक्ति अभाव छ। सरकारी कर र भ्याटमा ठूलै रकम खर्च हुन्छ। यस्ता कारणले उत्पादन खर्च बढ्छ। त्यसैले नेपाली ब्रान्डका सामग्री महँगो पर्छ।
'किन महँगो हुन जान्छ, केका लागि पैसा हालेको भन्ने बुझ्नुपर्छ ग्राहकले। हामी बुझाउने प्रयास गरिरहेका छौं। ब्रान्ड भनेको नाम मात्रै होइन, कुनै पनि राम्रो ब्रान्डले ग्राहकमा सकारात्मक आकर्षण पैदा गराइरहेको हुन्छ। ग्राहकको दिमागमा बस्ने ब्रान्डप्रति ग्राहकको भावनात्मक सम्बन्ध हुन्छ। तर यस्तो सम्बन्ध एक-दुई महिनामै स्थापित हुँदैन,' उनी भन्छन्।
उनका अनुसार ब्रान्ड स्थापित गर्ने काम चलिरहने प्रक्रिया हो। स्तरीयता कायम राख्दै निरन्तर सुधार र नयाँ कुरा थप्दै लानुपर्छ।
उनी सन्तोष पोख्छन्, 'एक पटक आएको ग्राहक फर्कीफर्की आउने बनाउन सक्नु राम्रो ब्रान्डको विशेषता हो। हामी सही ट्रयाकमा छौं।'
नेपाली उद्योग बढी आयातमुखी छ। सोनाम यस्तो अभ्यास तोड्न सरकार र उद्योग व्यवसायीले धेरै काम गर्नुपर्ने खाँचो देख्छन्।
'सबै मिलेर पहल गर्यो भने हाम्रो सोच र अभ्यास परिवर्तन गर्न सम्भावना छ कि,' उनी भन्छन्।
पाँच वर्षमा लोगो ब्रान्डलाई काठमाडौं उपत्यकामा फैलाउन सफल सोनाम अब बाहिरका प्रमुख सहरमा विस्तार गर्ने योजनामा छन्।पोखरामा स्टोर खोल्ने तयारी सुरू भइसकेको छ। इकमर्शमा जाने तयारी पनि छ तर पनि उत्पादन चिनाउन स्टोरकै महत्व रहेको उनी बताउँछन्।
'स्टोरमा ग्राहकले कपडा वा सामान आफैं देख्छन्, छुन्छन्,' उनी भन्छन्, 'यसले सामानसँग सम्बन्ध बढाउँछ।'
पछिल्लो पाँच वर्षका अनुभवबाट सोनाम खुसी छन्। सानै उमेरमा पारिवारिक व्यवसाय सम्हालेकामा परिवारका सदस्य पनि खुसी हुने नै भए। तर कहिलेकाहीँ व्यावसायिक र निजी जीवनका लागि समय मिलाउन गाह्रो पर्छ। कामकै लागि कारण निजी प्राथमिकतामा सम्झौता गर्नुपर्ने हुन्छ।
फुर्सदमा कतै घुम्न जाने उनी बिदाका दिन नियमित फुटबल खेल्छन्।
'तर धेरै काम भएकाले कहिलेकाहीँ गर्लफ्रेन्डका लागि समय छुट्याउन पनि गाह्रो हुन्छ,' उनी हाँस्दै भन्छन्।
(प्रभाकर गौतमका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)