'हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो?'
'उस्तै उस्तै हो नानु।'
चालीस वर्षअघि रेडियो नेपालको यो विज्ञापन जसरी मान्छेको जिब्रोमा झुन्डिएको थियो, हात्तीछाप चप्पलले पनि बजारमा उस्तै धूम मच्चाएको थियो।
तर, त्यति बेला थाइल्यान्डबाट मेसिन ल्याएर चप्पल उत्पादन सुरू गर्नु नूरप्रताप राणाका लागि सजिलो काम थिएन।
मेसिन ल्याउनदेखि कारखाना खोल्ने अनुमति लिन र कामदार खोज्नदेखि बजार प्रवर्द्धनसम्म उनले निकै हन्डर बेहोरे, जसको चर्चा उनी पछिसम्म परिवारका सदस्यहरूमाझ गरिरहन्थे।
नूरप्रतापले हमेशा सुनाइरहने हात्तीछाप चप्पलको रचनागर्भ र संघर्ष यात्राका साक्षी उनकै बुहारी विदुषी राणासमेत हुन्।
'बुवालाई त्यो समय हेटौंडामा चप्पल कारखाना खोल्नै नौ महिना लाग्यो रे,' गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषीले सेतोपाटीसँग भनिन्, 'उहाँले त्यति बेला जुन हन्डर भोग्नुभयो, त्यही संघर्षमा खारिएर हामी यहाँसम्म आइपुगेका हौं।'
यति भनेर विदुषी गोल्डस्टारको सुरूआती दिनतिर फर्किइन्।
२०४७ सालसम्म आइपुग्दा हात्तीचप्पलको लोकप्रियता चुलिइसकेको थियो। नेपालका सहरदेखि गाउँसम्म चप्पल भन्नु नै हात्तीछाप चप्पल हो भन्ने आमबुझाइ थियो। यही सफलताबाट हौसिएर नूरप्रतापले चप्पलबाट जुत्तातिर खुट्टा लम्काए।
उनले जुत्ता उत्पादन गर्ने मेसिन भित्र्याए र 'स्पार्क' नामको स्पोर्ट्स सुजबाट जुत्ता कारखानाको नीब हाले।
स्पार्कले सोचेजस्तो बजार लिएन। नूरप्रताप यसबाट हरेश खाएनन्। उनले 'गोल्डस्टार' ब्रान्डको नयाँ जुत्ता उत्पादन सुरू गरे।
गोल्डस्टार जुत्ताले कम समयमै हात्तीछाप चप्पलजस्तै बजार पिट्यो।
'गोल्डस्टार दुई सय रूपैयाँभन्दा कम पर्थ्यो। बलियो पनि थियो,' विदुषी भन्छिन्, 'सस्तो र बलियो भएकै कारण गोल्डस्टार जुत्ता लोकप्रिय भएको थियो।'
नेपालमा मात्र होइन, गोल्डस्टारले भारतको बिहार र उत्तरप्रदेशमा समेत राम्रो ख्याति पायो।
कुनै पनि सफलता चिरस्थायी हुँदैन। एउटा रफ्तारका साथ सफलतातर्फ बढिरहेका बेला २०५२ सालमा सुरू माओवादी द्वन्द्वले गोल्डस्टारको यात्रामा ठूलो झट्का दियो।
यो झट्का जुत्ता नबिकेर वा जुत्ताको बजार खस्केर आएको थिएन। बरू माओवादी द्वन्द्व सुरू भएपछि त गोल्डस्टारको माग अझ बढेको थियो। बलियो र टिकाउ भएकाले विकट पहाडी बाटोमा उकाली-ओराली गर्न माओवादी लडाकूहरूले गोल्डस्टार जुत्ता नै प्रयोग गर्न थालेका थिए। यति मात्र होइन, मूल्य सस्तो भएकाले ग्रामीण भेगमा सर्वसाधारणको रोजाइमा समेत परेको थियो।
माओवादी द्वन्द्वले जुत्ताको बजार त बढ्यो, तर यसको छवि धूमलियो।
माओवादीले बम बनाउने त्रासमा सरकारले काठमाडौंबाहिर प्रेसरकुकर बेच्न प्रतिबन्ध लगाएजस्तै लडाकूहरूले बढी प्रयोग गरेकै कारण गोल्डस्टार जुत्तामाथि 'माओवादी जुत्ता' को ट्याग लाग्यो। सुरक्षाकर्मीहरूले गोल्डस्टार जुत्ता बिक्रीमा कडिकडाउ गर्न थाले।
यसले जुत्ताको व्यापार खस्किँदै गयो र कम्पनी झन्डै झन्डै बन्द हुने स्थितिमा पुग्यो। त्यति बेला गोल्डस्टार जुत्ताको व्यापार नूरप्रतापतका छोरा अमिरप्रतापले हेरिरहेका थिए।
'मेरा श्रीमानले मन्त्रीदेखि सेना र प्रहरीका हाकिमहरूलाई भेटेर यो माओवादीको जुत्ता होइन, उनीहरूले सस्तो र बलियो भएकाले मात्र प्रयोग गरेका हुन् भन्दै सम्झाउनुहुन्थ्यो,' विदुषी भन्छिन्, 'दुई सय माओवादीले लगाए भनेर सरकारले दुई लाख जनसंख्या भएका जिल्लामा समेत गोल्डस्टार जुत्ता बेच्न रोक लगायो।'
सरकारी निषेधबीच नेपाली बजारमा टिक्न मुश्किल भएपछि अमिरप्रतापले भारत निर्यात गर्ने विकल्प खोजे।
सस्तो र टिकाउ भएकै कारण यसले भारतको बिहार र उत्तरप्रदेशमा समेत राम्रो बजार लियो। अमिरप्रतापका लागि यो खडेरीमा पानी परेजस्तै भयो। गोल्डस्टारको ८० प्रतिशत उत्पादन भारत निर्यात हुन थाल्यो।
तर यहाँ पनि उनलाई समस्याले छाडेन। गोल्डस्टारको लोकप्रियता चुलिँदै गएपछि बजारमा उस्तै देखिने नक्कली जुत्ता छ्यापछ्याप्ती आउन थाले। कम्पनीको साखमै असर पर्ने देखेर अमिरप्रतापले भारतमा मुद्दासमेत हाले। कतिपय मुद्दा अहिलेसम्म चलिरहेको विदुषी बताउँछिन्।
यति हुँदाहुँदै २०६२/६३ पछि कम्पनीले दैनिक डेढ लाख जोरसम्म जुत्ता उत्पादन गर्दै आएको छ।
द्वन्द्वको मारबाट उम्किएको गोल्डस्टारमा त्यसपछि भुइँचालो र नाकाबन्दीको धक्का पर्यो।
'भुइँचालोका बेला कामदारहरू सबै गाउँ फर्किए। लगत्तै नाकाबन्दी भयो। हामीले कच्चा पदार्थ ल्याउन सकेनौं,' विदुषी भन्छिन्, 'भारतमा उत्पादन निर्यात गर्न नसक्ने भएपछि उत्पादन कटौती गर्नुपर्यो।'
भुइँचालो र नाकाबन्दीपछि पनि गोल्डस्टारका लागि भारत निर्यात सहज भएन। भारतमा भारू एक हजार र पाँच सय नोट नचल्ने घोषणा सरकारले गरेपछि लामो समय नोटबन्दीको असर पर्यो। जस कारण भारतबाट गोल्डस्टारको माग नै आएन।
'हामीसँग कारोबार गर्नेले नोटबन्दीका कारण सामान मगाएनन्,' विदुषी भन्छिन्, 'त्यसपछि भारतले करको एकीकृत दरसहितको जिएसटी लागू गर्यो। त्यो प्रावधानले जुत्ता निर्यातमा थप असहज भयो।'
पहिले उत्पादनको झन्डै ८० प्रतिशत भारत निर्यात गरिरहेको गोल्डस्टारले अहिले ३०-४० प्रतिशत मात्र पठाउँछ। निर्यात धेरै भएकैले पहिले गोल्डस्टारले नेपाली बजारमा त्यति ध्यान पनि दिएन। तर जसै उता पठाउने क्रम स्वाट्टै घट्यो, विदुषीले श्रीमान अमिरलाई जुत्ताको मार्केटिङ र ब्रान्डिङ गर्न सुझाइन्।
अमिरले भने गोल्डस्टार सबैलाई थाहा भइसकेकाले विज्ञापन आवश्यक नरहेको बताए।
६ वर्ष कुमारी बैंकमा मार्केटिङ र ब्रान्डिङ सम्हालेकी विदुषीले अमिरलाई सोधिन्- 'कोकाकोलाको नाम सबैलाई थाहा छ तर किन विज्ञापन गर्छ त?'
त्यसको जवाफ अमिरसँग थिएन। विदुषी आफैंले दिइन्, 'गोल्डस्टार नाम मात्र थाहा पाएर हुँदैन, मान्छेले सम्झिराख्ने बनाउनुपर्छ।'
यसपछि विदुषी आफैंले गोल्डस्टार ब्रान्डिङमा काम गर्ने भनिन्। उनले एउटा टिम बनाइन् र बजार अध्ययन गरिन्। अध्ययनबाट आएको तथ्य गोल्डस्टारका लागि टर्निङ प्वाइन्ट बन्यो।
'गोल्डस्टारको नाम थाहा छ भनेर सोध्दा सबैले छ भन्ने जवाफ दिए। तर सँगै गोल्डस्टार बुवा, हजुरबुवाले लगाउने जुत्ता हो भन्ने थियो,' विदुषी सम्झिन्छिन्, 'त्यसपछि मलाई गोल्डस्टार अब युवा पुस्ताका लागि हुनुपर्छ भन्ने भयो।'
उनले नयाँ-नयाँ सिरिजमा जुत्ता डिजाइन गर्न कम्पनीमा प्रयोगशाला नै बनाइन्। गोल्डस्टारले त्यसपछि सुरू गरेको 'जि-टेन' सिरिजले बजार लियो। विदुषीले युवाका लागि अनलाइनबाट बेच्ने आइडिया निकालिन्।
'अनलाइनमा जुत्ता राखेपछि धेरैले मनपराए,' उनी भन्छिन्, 'तर अनलाइनमा साइज पाउन अप्ठ्यारो अनि किन्न असन नै पुग्नुपर्ने अवस्था भएपछि हामीले फ्रेन्चाइज स्टोर बढायौं।'
विदुषीले मार्केटिङ र ब्रान्डिङ हेर्न थालेपछि गोल्डस्टारले पखेटा फैलाएको छ। देशभरमा गोल्डस्टारका ५९ वटा स्टोर छन्, अस्ट्रेलियाको सिड्नीमा पनि छ। बहराइन र मलेसियामा गोल्डस्टार पुगिसकेको छ र नेपाली पुगेका धेरै ठाउँमा पुर्याउन विदुषी काम गरिरहेकी छिन्।
गोल्डस्टारले विदेश पठाउने जुत्ताको गुणस्तर परीक्षण लगायतमा पनि काम थालेको छ।
'हामीले इटालीबाट मेसिन ल्याएका छौं,' विदुषी भन्छिन्, 'प्राविधिक रूपमा सक्षम पनि छौं। गोल्डस्टारसँग चालीस वर्षको अनुभव छ, जनशक्ति छ। विश्वभर बिक्री हुने जुत्ता बनाउन सकिन्छ भनेर काम गरिरहेका छौं।'
पखेटा पूरै फिँजाए पनि गोल्डस्टारले अहिले कोरोनाका कारण लामो उडान भर्न पाएको छैन।
'अफ्रिकामा जुत्ता व्यापार गर्ने गरी काम गरिरहेका थियौं,' विदुषी भन्छिन्, 'कोरोनाले रोकिएको छ, अब छिट्टै अघि बढ्छ।'
(यो स्टोरी पहिलोचोटि २०७७ चैत २७ गते प्रकाशित भएको थियो।)