सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
धेरैलाई आफ्ना मनका भावनाहरू कापीका पानामा कोर्न मनपर्छ। दिनभरको गतिविधिलाई शब्दमा उतार्ने धेरैको अभ्यास होला। त्यस्तै याद गर्नुपर्ने विशेष मिति र कामहरू टिपेर राख्ने पनि कतिपयको बानी हुन्छ।
भर्चुअल दुनियाँमा यी काम प्रायः मोबाइल-ल्यापटपमा हुन थाले पनि कापीका पानामै कोर्न आनन्द मान्ने जमातको कमी छैन।
यस्तै मान्छेको रूचि र आवश्यकतालाई ध्यानमा राख्दै सुरू भएको हो 'भाव प्रोडक्ट्स'।
झन्डै सात वर्षदेखि सञ्चालित भाव प्रोडक्ट्सले नेपालीपन झल्काउने र किफायती मूल्यका कापी, डायरी, स्टिकर, प्लानर, नोटबुक, नोटप्याड, रिङ नोटबुक लगायत उत्पादन गर्दै आएको छ।
'भर्चुअल संसार भनेर मात्रै भएन। यस्ता कुरा धेरैले भौतिक रूपमै रूचाउनु हुन्छ,' भाव प्रोडक्ट्सकी सञ्चालक भिन्तुना ज्यापूले भनिन्, 'त्यसैले अझै पनि बजारमा स्टेसनरी सामग्रीको राम्रो माग छ।'
भिन्तुनालाई यो आइडिया आफ्नै कामको सिलसिलामा फुरेको हो।
प्लस-टु पढ्दै गर्दा, २०६६ सालमा उनले इन्सेसेन्ट रेन एनिमेसन स्टुडिओमा काम थालिन्। यो स्टुडिओमा चार वर्ष बिताएपछि लेमन लाइम कर्पोरेसनमा क्रिएटिभ हेडका रूपमा जागिर खाइन्।
भिन्तुनाले स्नातकोत्तर भर्ना भएपछि भने उनले जागिर छाडिन्। अनि फ्रिल्यान्स ग्राफिक डिजाइनिङ सुरू गरिन्। यो २०७१ सालतिरको कुरा हो।
डिजाइनिङका लागि उनी डटग्रिड नोटबुक प्रयोग गर्थिन्। डटग्रिड नोटबुकका पानामा थोप्लाहरू हुन्छन् र यसमा डिजाइनिङ गर्न सहज हुन्छ। उनका अनुसार यस्ता नोटबुक डिजाइनिङ गर्नुपर्ने हरेक क्षेत्रका व्यक्तिलाई आवश्यक पर्छ। विदेशतिर यसका विभिन्न विकल्प भए पनि नेपालमा उनले यस विषयमा कम चासो भएको पाइन्।
'त्यो बेला यस्ता नोटबुक विदेशबाट आयात गर्नुपर्थ्यो। समयमा नपाइनुका साथै महँगो पनि पर्ने,' उनले भनिन्, 'नेपालमा सहजै त्यस्ता नोटबुक पाउन मुश्किल भएकाले आफैं बनाउने सोचेँ।'
उनले सुरूमा परीक्षणका लागि डटग्रिड नोटबुक बनाउन कागज कारखाना पुगेर आफ्नै डिजाइनमा छपाइन्। कागजको मोटोपन र गुणस्तर तौलिन्। नेपालमा प्रिन्टिङ प्रेसहरूले यस्तो कुरामा निकै कम ध्यान पुर्याएको देखेर उनलाई दिक्क लाग्यो।
'हाम्रोमा कागजप्रति चासो नपुगेको देखेर दुःख लाग्छ। आफैं आयात गर्ने क्षमता पनि छैन,' उनले कामको चुनौतीबारे भनिन्, 'अहिले नेपालमा आयात हुनेमध्ये सबभन्दा राम्रो कागज खोजेर नोटबुक बनाउँदैछु।'
डटग्रिडबाट नोटबुक व्यवसाय सुरू गरेकी भिन्तुनाले आफ्नो र ग्राहकको आवश्यकतालाई बुझ्दै २०७२, पुसमा '२०१५ प्लानर' नामक नोटबुक बजार भित्र्याइन्। विस्तारै आफ्नो संग्रहमा अन्य नोटबुकहरू, जस्तै थ्री फोल्ड, प्लेन पेपर थप्दै गइन्।
भिन्तुनालाई सानैदेखि नेपाली शब्दप्रति विशेष मोह थियो। त्यसैले व्यवसायको नाम ठेट नेपालीमा राख्ने सोचिन्। उनीसँग विभिन्न नेपाली शब्दको संग्रह नै छ। जुन शब्द मनपर्छ, ती कापीमा टिपेर राख्छिन्।
भन्छिन्, 'नेपाली शब्दहरू प्रिय लाग्छ। कापी र पानाहरूलाई म भावना पोख्ने ठाउँ ठान्छु। पानाहरूकै उद्यम भएकाले र विशेष भावनासँग सम्बन्धित लागेर नाम भाव रोजेँ।'
उनका अनुसार यो नामले नेपालीपन झल्काउनुको साथै जिज्ञासा पनि बढाउँछ।
सानैदेखि अन्तर्मुखी स्वभावकी भिन्तुना आफ्ना भावना कापीमा पोख्थिन्। हुर्किने क्रममा उनको दैनिकी र कामका तालिका पनि पानामै कोरिन थाल्यो। उनको यही रूचिले उनलाई उद्यमी बनाएको हो।
भिन्तुनाको लगाव कापी, नोटबुक र पानामा मात्र होइन, स्टेसनरी सामग्रीमा पनि धेरै छ। बुवाका कलमहरू र विदेशमा भएका साथीले दिएका हरेक स्टेसनरी सामग्री जम्मा गरेर राखेकी छन्। भाव प्रोडक्ट्सका नोटबुकको फोटो सामाजिक सञ्जालमा राख्दा पृष्ठभूमिमा उनी तिनै कलमले सजाउँथिन्। विस्तारै ग्राहकले यसबारे पनि सोधपुछ गर्न थाले।
त्यसपछि भिन्तुनाले भाव प्रोडक्ट्ससँगै अन्य स्टेसनरी सामग्री बेच्ने योजना बनाइन्। अनि २०७५ कात्तिकदेखि 'भाव सप' सञ्चालन गरिन्। यो पसलमा नोटबुकबाहेक कलम, मार्कर, पेन्ट ब्रस, कलर सेट र नेपाली ब्रान्डका पर्यावरण मैत्री सामानहरू पाइन्छन्।
यी सामान उनले नेपालकै बिक्रेताबाट लिएर आफ्नो पसलमा राख्छिन्। भिन्तुनाका अनुसार भाव सपले भाव प्रोडक्ट्सलाई आर्थिक रूपमा सहयोग पुर्याएको छ।
भाव प्रोडक्ट्स र भाव सप दुवैले अनलाइनमार्फत् कारोबार गर्छन्। यसबाहेक भिन्तुनाले झोछेंस्थित आफ्नो सानो कार्यालयमा 'टेक-अवे' का लागि पसल राखेकी छन्। भाव प्रोडक्ट्स सुरू गर्दा अनलाइनमार्फत मात्रै सञ्चालन गर्ने योजना थियो। तर वेबसाइट बनाउन ढिलो भएपछि भौतिक पसल सञ्चालन गरेको उनी बताउँछिन्।
'ग्राहक पनि भौतिक उपस्थितिमै सामान रोज्न रूचाउनुहुन्छ। भेट्दा अन्तर्क्रिया बढ्छ र ग्राहकलाई बुझ्न मद्दत पनि मिल्छ,' भिन्तुनाले भनिन्।
कोरोना महामारी फैलिएपछि, गत वर्षदेखि भने उनी पूर्ण रूपमा अनलाइनमै केन्द्रित छिन्। भावका सामग्रीले राम्रो बजार पाएको उनले बताइन्। नेपालका विभिन्न जिल्लाबाहेक विदेशबाट पनि माग आउँछ। तर विदेशमा पठाउन निकै महँगो पर्ने भएकाले पठाउन सकिरहेकी छैनन्।
भिन्तुना यतिबेला ग्राहकबाट आएका प्रतिक्रियाले भने दंग छिन्। धेरै पर्यटकले भावका नोटबुकलाई अन्तर्राष्ट्रिय कागजसँग पनि तुलना गर्ने उनले बताइन्।
'नेपाली सामान पनि यति राम्रो, गुणस्तरीय र सोचेजस्तै पाएँ भन्ने धेरै हुनुहुन्छ। ग्राहकको सकारात्मक प्रतिक्रियाले कामलाई निरन्तरता दिन हौस्याउँछ,' उनले भनिन्।
भाव प्रोडक्ट्समा प्रत्येक छ महिनाको अन्तरालमा नयाँ डिजाइनको नोटबुक भित्रिन्छ। यसको डिजाइन भिन्तुना आफैं गर्छिन्। एक्लै नभ्याए अन्य डिजाइनर र चित्रकारसँग सहकार्य गर्छिन्। सामाजिक सञ्जालतिर कसैको कला मनपरे उनीहरूलाई पनि सम्पर्क गर्छिन्।
नेपालमा डिजाइनिङ र बौद्धिक प्रतिभाको कदर भने नहुने भिन्तुनाले महसुस गरेकी छन्। कला बुझ्ने समूह निकै सानो भएको गुनासो पोख्छिन् उनी। त्यस्तै डिजाइनिङको कुरामा नेपालमा प्रतिलिपी अधिकारको पनि बढी समस्या देखेकी छन्।
'धेरैले डिजाइन चोरेर नक्कली सामग्री सार्वजनिक गरेको पाइन्छ। सम्बन्धित संस्था र व्यक्तिगत तर्फबाट ध्यान पुर्याउने हो भने नेपालमै थुप्रै राम्रा डिजाइनरले पहिचान पाउनेछन्,' भिन्तुनाले भनिन्।
भावका उत्पादनमध्ये प्लानर, ए५ नोटबुक, डटग्रिड नोटबुक र कलम धेरैको रोजाइमा परेको छ। यहाँ नोटबुक एक सय दस रूपैयाँदेखि आठ सय पचास रूपैयाँसम्मका पाइन्छन्।
विदेशी कागज मात्र प्रयोग गरिरहेकी भिन्तुनाले लोक्ता प्रचार गर्न २०७५ सालदेखि हार्ड कभरमा नोटबुक छपाइ गर्न थालेकी छन्। ३४ वर्षीया भिन्तुना भावका सबै काम एक्लै सम्हाल्छिन्। ग्राहकसँग अन्तर्क्रियाका लागि भने एक जना सहकर्मी छन्। यसबाहेक पारिवारिक सहयोगका कारण काममा सजिलो भएको बताउँछिन्।
'आमाबुवालाई ठूली भएर के गर्छे होला भन्ने चिन्ता थियो,' उनले भनिन्, 'सुरूका दिनमा जागिर छाडेर आफ्नै व्यवसायमा लाग्छु भन्दा जोखिम लिएको भन्दै डराउनुभयो। अहिले दुवै खुसी हुनुहुन्छ।'
भाव प्रोडक्ट्स तीन लाख लगानीमा सुरू भएको व्यवसाय हो। भावलाई ब्रान्ड बनाउँदै गरेकी भिन्तुना भविष्यमा यसको बजार विस्तार गर्ने योजनामा छिन्। तर अलि बेग्लै शैलीमा।
'बजार विस्तार भन्दैमा हरेक ठाउँमा भावका सामग्री उपलब्ध गराउने होइन। जो व्यक्ति आफ्नो काम र स्टेसनरी सामग्रीमा बढी चासो देखाउँछन्, उनीहरूसम्म पुर्याउने हो,' उनले भनिन्, 'स्वदेशी डिजाइनमा बनेका स्टेसनरी सामग्री पनि राम्रो हुन्छ भन्ने बुझाउन जरूरी छ।'
(भाव प्रोडक्ट्सको फेसबुक लिंक र इन्स्टाग्राम लिंक, भाव सपको फेसबुक लिंक र इन्स्टाग्राम लिंक र सम्पर्क नम्बरः ९८२३६३३५५८)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)