सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
तपाईंहरूमध्ये कतिले 'ब्ल्याक बर्गर' अर्थात् कालो बर्गर खानुभएको छ?
नखाए पनि नाम सुन्नेहरू धेरै हुनुहुन्छ होला। साधारण बर्गरभन्दा छुट्टै देखिने र स्वादमा पनि केही भिन्न ब्ल्याक बर्गर जापानमा प्रख्यात छ। नेपालमा, विशेषगरी काठमाडौंमा यो बर्गरले पारखी बनाउन थालेको धेरै भएको छैन।
पुतलीसडकस्थित 'बर्गर हब' ले विगत तीन वर्षदेखि ब्ल्याक बर्गर बिक्री गरिरहेको छ। योबाहेक पिज्जा बर्गर, आइसक्रिम बर्गर, रेड बर्गर यहाँको विशेष परिकार हो। बर्गरका विभिन्न स्वाद लिन पुतलीसडकदेखि डिल्लीबजार जाने चौबाटोमा रहेको बर्गर हबमा टाढा-टाढाबाट ग्राहक आउँछन्।
'यहाँको आकर्षण नै ब्ल्याक बर्गर हो। काठमाडौंमा प्रायः सामान्य बर्गर मात्र चल्तीमा छ। बर्गरका विभिन्न र वास्तविक स्वाद ग्राहकमाझ पुर्याउन भनेर हामीले बर्गर हब खोलेका हौं,' सञ्चालक नवराज सिलवालले सेतोपाटीसँग भने, 'ग्राहकहरूले दिनुभएको प्रतिक्रिया सन्तोषजनक छ।'
नवराज धादिङका हुन्। पढाइका सिलसिलामा २०६७ सालमा उनी जापान पुगेका थिए। जापानमा झन्डै दस वर्ष बस्दा उनले काम पनि गरे। सुन्डाइ कलेज अफ ट्राभल एन्ड हस्पिटालिटीमा स्नातकोत्तर पढ्दै गर्दा 'बर्गर किङ' मा पार्ट-टाइम काम गर्थे।
दुई वर्ष त्यहाँ काम गर्दा उनले विभिन्न स्वादका बर्गर बनाउन सिके। पढाइ सकेर त्यहीँको एक होटलमा काम गरे। होटलमा काम गर्दा उनी अरू पनि थुप्रै परिकार बनाउन पोख्त हुँदै गए।
जापानी होटलमा काम गर्दै कमाइरहे पनि उनको मन नेपालै फर्किने थियो। त्यसैले २०७४ साल अन्तिमतिर जापानबाट स्नातकोत्तरको सर्टिफिकेटसँगै पाककला पनि लिएर आए।
'नेपाल आएर जागिर गर्न मन भएन। अरूको काम जति गर्नु थियो जापानमै गरेँ,' ३३ वर्षीय नवराजले हाँस्दै भने, 'व्यवसाय गर्ने सोच थियो। पढाइ र सीप दुवै भएकाले आफ्नै रेस्टुरेन्ट खोलेको हुँ।'
यति भएपछि नवराजलाई यस्तै जमात हुने ठाउँ चाहियो।
'कुनै पनि व्यवसाय मान्छेको आँखाअगाडि पर्ने ठाउँमा हुनुपर्छ,' उनी भन्छन्।
यसका लागि विभिन्न ठाउँ चहारे। त्यसमध्ये पुतलीसडक र बागबजार क्षेत्रले आकर्षण गर्यो। यी क्षेत्रमा धेरै कलेज, संस्था र इन्स्टिच्युटहरू छन्।
'पुतलीसडक चोकमा दिनभर कतिको मान्छे ओहोरदोहोर गर्छन् भनेर गन्दै बसेँ। विद्यार्थी, जागिरेको धेरै चहलपहल हुने देखेपछि यही ठाउँमा रेस्टुरेन्ट खोल्न निधो गरेँ,' उनले भने।
यो ठाउँमा भन्नेबित्तिकै भनेजस्तो ठाउँ कहाँ पाउनू? उनले झन्डै एक साता पुतलीसडक र बागबजार क्षेत्रमै बिताए। अन्तिममा उनले पुतलीसडकमा भएको एउटा सानो जुत्ता पसल किने। सात लाख रूपैयाँमा किनेको पसलका सामान होलसेल भाउमा फटाफट बेचेर सक्काए। पसल खालीखाली भएपछि त्यही ठाउँलाई पुनः साजसज्जा गरे।
अनि आफ्नो योजनाअनुसार बर्गर हब खोले।
यो ठाउँ भेट्ने बित्तिकै नवराजले रेस्टुरेन्टको नामबारे सोचेका थिए। बर्गरकै विभिन्न परिकार बेच्ने उद्देश्य भएकाले नाममा बर्गर समेटिनु पर्छ भन्ने उनलाई थियो। विद्यार्थीको जमात हुने केन्द्रीय ठाउँ भएकाले पछाडि 'हब' शब्द जोडे।
सुरूमा बर्गर हबमा नवराजले दुई जना कर्मचारी राखे। उनीहरूलाई झन्डै एक साता बर्गर बनाउने तरिका सिकाए। ब्ल्याक र रेड बर्गर बनाउन विशेष किसिमको क्रिम आवश्यक पर्छ। यो उनले भारतबाट आयात गरिरहेका छन्।
'खानामा हाल्ने रङ हालेर पनि बन कालो र रातो बनाउन सकिन्छ। तर त्यस्तो गर्दा जिब्रोमा रङ बस्छ। गुणस्तरीय बन रंगीन बनाउन भिन्नै खालको क्रिम पाइन्छ,' नवराजले भने।
यसरी भान्साको तयारीपछि २०७५ वैशाखदेखि बर्गर हब आधिकारिक रूपमा सञ्चालनमा आयो। मेनुमा रेगुलर (साधारण), ब्ल्याक र रेड बर्गर राखे।
विद्यार्थी लक्षित भएकाले उनीहरूले सुरूमा सय रूपैयाँदेखि बर्गर बेच्न थाले। अहिले भने सस्तोमा एक सय ३० रूपैयाँसम्म पुगेको छ।
सुरूमा १६ जना अट्ने क्षमता भएको यो रेस्टुरेन्टमा ठाउँ थोरै भए पनि बर्गर खान आउनेको घुँइचो लोभलाग्दो थियो।
'नयाँ रूप र स्वादमा बर्गर खान आउनेको भीड राम्रो थियो। प्रतिक्रिया पनि सकारात्मक पाएँ,' उनले थोरै कर्मचारी र ठाउँ हुँदाका सुरूआती दिन सम्झिए, 'हामीलाई भ्याइनभ्याइ हुन्थ्यो।'
ग्राहक भीड व्यवस्थापन गर्न र सहज होस् भनेर नवराजले ठाउँ विस्तार गर्ने योजना बनाए। रेस्टुरेन्ट सञ्चालन भएको झन्डै आठ महिनापछि उनले सँगै जोडिएको पसल भाडामा लिए। दुवै सटर जोडेर फराकिलो ठाउँ भयो। अहिले बर्गर हाउसमा ५० जना बढी ग्राहक अटाउने क्षमता छ। ठाउँ विस्तारसँगै थप चार जना कर्मचारी थपे। साथै मेनुमा मःम, चाउमिन, फ्राइज, चिया, बिरयानी लगायत खाजा अटाए। अन्य खाजा राख्न सल्लाह आएपछि मेनु बढाएको नवराज बताउँछन्।
यहाँ पाइने आइसक्रिम बर्गर र पिज्जा बर्गर पनि ग्राहकको खानेबानी बुझ्दै जादाँ सुरू भएको हो। आइसक्रिम बर्गर मौसमी खाजामा पर्छ। योबाहेक भविष्यमा एभोकाडोजस्ता मौसमी फलफूलको बर्गर बनाउने योजनामा छन् उनी।
नवराजले बर्गर हब पूर्ण तयार गर्न र यहाँको वातावरण कायम राख्न झन्डै ५० लाख लगानी गरेका छन्। परिवारबाट आर्थिक सहयोग नलिएका उनले भावनात्मक सहयोग र समर्थन पाएको बताउँछन्। उनी हप्ताभर व्यस्त भए पनि शनिबार परिवारसँगै बिताउँछन्।
बर्गर हबमा ग्राहक संख्यासँगै अनलाइन अर्डर गर्ने पनि बढ्दै छन्। भोज, तातोमिठो र फुडगञ्जमा मार्फत् मगाउन सकिन्छ।
तर कोरोना महामारी र लकडाउनले व्यवसायलाई धेरै नोक्सान पुर्याएको नवराज बताउँछन्। लकडाउनमा मासिक डेढ लाख नोक्सान बेहोर्नु परेको उनले बताए।
'तर यहीबीच अनलाइन फुड अर्डर संख्यामा चाखलाग्दो परिवर्तन देख्यौं,' नवराजले यसको सकारात्मक पक्ष हेर्दै भने।
त्यस्तै ग्राहकबाट पाएको प्रतिक्रियाले पनि व्यवसायलाई निरन्तरता दिन प्रोत्साहन मिल्ने उनी बताउँछन्।
'ग्राहक रेस्टुरेन्ट भित्र छिर्दा र बाहिर निस्किँदा अनुहारको भाव हेर्न रमाइलो लाग्छ। कति ग्राहक आएभन्दा पनि कति जना खुसी भएर गए भन्ने हेर्छु। त्यसैमा आनन्द लाग्छ,' नवराजले भने।
जापानका समेत होटल र रेस्टुरेन्टमा काम अनुभव भएका उनी ग्राहक प्रतिक्रियाले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्।
नवराज छिट्टै काठमाडौं उपत्यकाभित्रै नयाँ ठाउँमा बर्गर हब सञ्चालन गर्ने तयारीमा पनि छन्। उनले भने, 'व्यवसाय गर्न नयाँ अवधारणा हुनेलाई नेपालमा राम्रो बजार छ। आत्मविश्वास, धैर्य र निरन्तरता दिने दृढता भए कुनै पनि काम सम्भव छ।'
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)