सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
काठमाडौंका राजीव जोशीले पत्रकारिता गरेको १५ वर्ष बढी भयो। उनी इमेज नेपाल म्यागेजिनका प्रकाशक हुन्। महामारीका कारण पत्रिका छपाइको काम रोकियो। झन्डै एक वर्षदेखि यो अनलाइनमै सीमित छ।
पहिलो चरणको लकडाउन सक्दासमेत छपाइ हुने छाँटकाँट देखिएन। राजीवले यसै बस्नुभन्दा फुर्सदमा नयाँ व्यवसाय थाल्ने सोचे। गत वर्ष भदौमा यही विषयमा साथी निराजन उपाध्यायसँग कुरा गरे।
राजीव र निराजन सहपाठी हुन्। उनीहरूको भेट २०६० सालतिर पाटन बहुमुखी क्याम्पसमा भएको थियो। सँगै स्नातक सकेका उनीहरूको निकटता त्यही बेलादेखि बढेको हो।
निराजन सात वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध छन्। त्यसअघि उनीसँग पनि सत्र वर्ष पत्रकारिताकै अनुभव छ। कोरोना र लकडाउनका कारण निराजनको पनि काम रोकिएको थियो। त्यसैले दुई साथी मिलेर व्यवसायका विभिन्न योजना बनाउन थाले।
एक कुरा उनीहरूले निधो गरिसकेका थिए, व्यवसाय खानकुराकै गर्ने। दुवैलाई खाना बनाउन र नयाँनयाँ परिकार चाख्ने रूचि जो थियो।
यही क्रममा एक साँझ राजीव नेसनल जिओग्राफी च्यानलमा 'फुड फ्याक्ट्री' कार्यक्रम हेर्दै थिए। त्यसमा उनले थरीथरीका ड्राइ-नट्स (काजु, किसमिस, बदाम, पेस्ता, ओखर लगायत) ले बनाइएको लड्डु आकारको खानेकुरा देखे। अमेरिका, क्यानडालगायत पश्चिमा देशमा प्रोटिन-बल्स पनि भनेर चिनिने त्यो मिठाइ रहेछ 'ब्लिस-बल्स'।
'बाहिरी मुलुकमा ब्लिस-बल्स निकै प्रचलित रहेछ,' राजीवले भने, 'नेपालमा भने यसलाई नयाँ नै भन्दा फरक पर्दैन।'
राजीव ब्लिस-बल्सबाट प्रेरित भए। त्यही राति निराजनलाई सम्पर्क गरे। निराजनलाई पनि आइडिया मनपर्यो। भोलिपल्टदेखि नै उनीहरूले यसबारे अध्ययन थाले।
'त्यही रात के-कसरी काम गर्ने भन्ने छलफल गर्यौं र भोलिपल्टदेखि त अध्ययनमा लागिहाल्यौं,' ३६ वर्षीय राजीवले भने, 'ड्राइ-नट्समा हुने पोषणतत्व र बनाउने तरिकाबारे बुझ्यौं।'
उनीहरूले अध्ययन-परीक्षणमा झन्डै एक महिना खर्चे। घरको भान्सालाई मिठाइ पकाउने प्रयोगशाला बनाएका थिए। दिनैभर दुई साथी त्यहीँ समय बिताउँथे।
'घरमा श्रीमती र अरू सदस्यले दिनभर भान्सामा के मात्रै गरेको होला भन्नुहुन्थ्यो,' ४४ वर्षीय निराजनले परीक्षण समय सम्झिँदै भने, 'उहाँहरू भन्दै गर्नुहुन्थ्यो, हामी यता विभिन्न स्वादमा मिठाइ बनाउन लागिरह्यौं।'
कतिपटक सामग्रीको मात्रा नमिलेर खेर गयो। विस्तारै सिक्दै बनाउँदै गए। परिवार र नजिकका साथीलाई चखाए। धेरैले स्वस्थकर र मिठो भएको प्रतिक्रिया दिएपछि बल्ल उनीहरू बजारमा जान तयार भए। बेच्न सुरू गर्नुअघि ब्लिस-बल्सको खाद्य परीक्षण पनि गराएको उनीहरूको भनाइ छ।
सबै पक्का भएपछि झन्डै बीस लाख रूपैयाँ लगानीमा गत वर्ष असोजदेखि राजीव र निराजनले सञ्चालन गरे 'ब्लिस-बल्स'।
ब्लिस-बल्स ओरिजिनल, चोको ब्लेज, पिस्ताचिओ पन्च र क्रिस्प गरी चार स्वादमा उपलब्ध छ। प्राकृतिक रूपमा बनाइएकाले स्वास्थ्यका हिसाबमा यो निकै राम्रो हुने राजीव बताउँछन्। ब्लिस-बल्सलाई उनीहरूले सुपर फुडको ट्याग पनि लगाएका छन्।
उनले भने, 'हालसम्म ग्राहकबाट आएको प्रतिक्रिया सन्तोषजनक छ।'
निराजनका अनुसार एउटा ब्लिस-बल्समा छदेखि १४ थरीका ड्राइ-नट्स हालिन्छ। २५ ग्रामको एउटा मिठाइमा १२५ देखि १३५ क्यालोरी हुन्छ। सामग्रीको मात्रा ठीक-ठीक नापेर तयार पारिन्छ।
'हामीले कुनै पनि स्वाद सार्वजनिक गर्नुअघि त्यसमा आवश्यक ड्राइ-नट्सको पर्याप्त मात्रा नाप्छौं,' निराजनले भने, 'अनि ताजा होस् भनेर अर्डर आएपछि मात्रै बनाउँछौं।'
त्यसैले ग्राहकले ब्लिस-बल्स चाहिए १२ घन्टाअगाडि अर्डर गर्नुपर्ने उनले बताए। हालसम्म उनीहरूले छ हजार ग्राहकसम्म यो मिठाइ पुर्याइसकेका छन्। त्यसमध्ये २५ सय वटा डेलिभरी आफैं गरे। उनीहरूका अनुसार आफैं डेलिभरी गर्दा ग्राहकसँग प्रत्यक्ष भेटघाट हुन्छ र प्रतिक्रिया बुझ्न पनि सहज हुन्छ।
पछिल्लो समय अर्डर बढेपछि भने सरसामान ओसारपसार गर्ने कम्पनीसँगको सहकार्यमा डेलिभरी हुँदैछ। फुर्सदमा त राजीव र निराजन आफैं पुग्छन्।
ब्लिस-बल्स यसको इन्स्टाग्राम र फेसबुकबाट अर्डर गर्न सकिन्छ। वेबसाइट पनि बन्दैछ। लकडाउन बेला अनलाइन बजार फस्टाएको देखेर उनीहरूले यसमै जोड दिएका छन्।
कम्पनीमा राजीव बजार र निराजन उत्पादन क्षेत्र सम्हाल्छन्। यसबाहेक सबैजसो काममा दुवै खट्छन्। उनीहरूलाई सघाउन एक जना कर्मचारी छन्। चाडपर्वहरूमा बढी अर्डर आउँदा घरका अन्य सदस्यले मद्दत गर्छन्।
स्वस्थ खानेकुराको महत्व बढ्दै गएका बेला ब्लिस-बल्स सार्वजनिक भएकाले पनि राम्रो बजार पाएको उनीहरूलाई लाग्छ। निराजन अझ स्वस्थ खानालाई स्वस्थ समाजसँग तुलना गर्छन्। भन्छन्, 'मान्छेले जस्तो खाना खायो त्यस्तै सोचाइ हुन थाल्छ भन्ने अध्ययनले नै देखाएको छ नि!'
उनीहरू सबैजसो ड्राइनट्स स्थानीय बजारबाट लिन्छन्। त्यसैले सामान महँगो पर्छ र उत्पादन पनि। आवश्यक सामान भविष्यमा आफैं आयात गर्न सके ब्लिस-बल्स सस्तो पर्ने अनुमान उनीहरूको छ।
हाल ब्लिस-बल्स सस्तोमा दुई सय ग्रामको छ सय ९० रूपैयाँ र महँगोमा एक किलोको तीन हजार छ सय ९० रूपैयाँका प्याकेट किन्न पाइन्छ। आफूहरूको उत्पादन राम्रो भएकाले मूल्यमा ग्राहकको गुनासो नभएको राजीव बताउँछन्।
'यसमा हुने ड्राइ-नट्स र पोषण तत्व हेर्ने हो भने किफायती छ,' उनले भने।
ब्लिस-बल्सका लक्षित ग्राहक हरेक उमेर समूहका व्यक्ति हुन्। बच्चादेखि वृद्धसम्मले खान मिल्छ। राजीवका अनुसार यसमा अतिरिक्त चिनी हालिएको छैन। त्यसैले उच्च रक्तचाप, मधुमेह भएकाले पनि मात्रा मिलाएर खानसक्ने उनी बताउँछन्।
यो मिठाइ बनाइएको मितिदेखि पाँच महिनासम्म खान योग्य हुन्छ। तर एक महिनाभित्र खाँदा बढी फाइदाजनक हुने राजीवले जानकारी दिए। त्यस्तै लोक्ताबाट बनेको बट्टामा राखिने भएकाले यसको प्याकेजिङ वातावरणमैत्री छ। लोक्ता पनि स्थानीय बजारबाटै लिन्छन्।
राजीव र निराजन अन्य मिठाइ वा ब्लिस-बल्सजस्तै परिकारका व्यवसायलाई आफ्ना प्रतिस्पर्धीका रूपमा हेर्दैनन्। बरू आफूहरूबाट प्रेरित भएर अरूले व्यवसाय गरे खुसी हुने बताउँछन्।
'जुनकुनै माध्यमबाट बजारलाई स्वस्थकर खाना पुर्याउने हाम्रो लक्ष्य हो। त्यसैले कसैलाई प्रतिस्पर्धी मान्दैनौं,' राजीवले भने, 'अझ यस्तो त घरमै बनाएर खान पनि सकिन्छ।'
महामारीले अस्तव्यस्त पारेको छापा मिडिया र पर्यटन क्षेत्र अहिले चलमलाउन थालिसकेको छ। राजीव र निराजन पनि आफ्ना व्यवसायमा फर्किन तयार छन्। तर प्राथमिक व्यवसायसँगै ब्लिस-बल्सलाई पनि अगाडि लैजाने उनीहरूको योजना छ।
'दुवै काम सँगै अघि बढाउने योजना हो,' राजीवले भने, 'अहिले ब्लिस-बल्सको जग बनेको छ। यसलाई उठाउँदै एक स्तरमा पुर्याउँछौं। स्थापित भएपछि सबै जिम्मा घरकै सदस्यलाई दिन्छौं।'
निराजन र राजीवले ब्लिस-बल्सको सञ्चालन जिम्मेवारी आ-आफ्ना श्रीमतीको हातमा दिने सोचेका छन्। त्यस्तै यसको पसल खोल्ने योजना पनि छ। राजीवका अनुसार केही महिनाभित्रै काठमाडौंमा ब्लिस-बल्सको पहिलो पसल खुल्नेछ। यसबाहेक विदेशी बजारमा नेपाली ब्लिस-बल्स पुर्याउने दीर्घकालीन योजना पनि बुनेका छन्।
(ब्लिस बल्सको फेसबुक र इन्स्टाग्रामका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्क नम्बरः ९८१८२५०४६६)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)