सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
काठमाडौंकी दीपा श्रेष्ठ आफ्नो विवाह समारोह विशेष बनाउन चाहन्थिन्। बिहेमा खिचिने हरेक फोटा भिन्न देखिऊन् भन्ने रहर थियो। त्यसका लागि उनले 'प्रप्स' लाई माध्यम बनाउने सोचिन्।
विभिन्न कार्यक्रम वा अवसरअनुसार सजावट तथा अन्य प्रयोजनका लागि प्रयोग गरिने सामानलाई प्रप्स भनिन्छ। दीपाले आफ्नो बिहेका लागि हातमा सजिलै अट्ने, केही सन्देश वा शब्द लेखिएका प्लेकार्डजस्ता आकर्षक प्रप्स खोजेकी थिइन्। जस्तै- हुन लागेकी बेहुली। बेहुलीकी साथी। बेहुलीकी बहिनी लेखिएका झिल्के प्लेकार्डहरू।
विदेशतिर यस्ता प्रप्सको चलन सामान्य हो।
'प्रप्सको चल्ती विदेशतिर व्यापक देख्थेँ,' ३१ वर्षीया दीपाले सेतोपाटीसँग त्यो बेलाको क्षण सम्झिँदै भनिन्, 'मलाई पनि आफ्नो बिहेमा प्रयोग गर्न मन थियो।'
विवाहको मिति नजिकिँदै गर्दा दीपा बजारमा प्रप्स खोज्न थालिन्। तर उनी निराश भइन्। नेपाली समारोह सुहाउँदा प्रप्स उनले पाइनन्।
दीपा पछि हटिनन्। उनलाई जसरी नि आफ्नो बिहेमा प्रप्स प्रयोग गर्नु थियो। त्यसैले बजारमा नपाए पनि आफैं बनाउने निधो गरिन्।
'यहाँ मैले खोजेजस्तो प्रप्स भेटिनँ। यसको अवधारणा पनि कमै व्यवसायीलाई थाहा थियो,' उनी भन्छिन्, 'त्यसैले आफ्नो बिहेका लागि आफैं प्रप्स बनाउने सोचेँ। सक्दो आइडिया बटुलेर तयार पारेँ पनि।'
स्टेसनरीबाट केही रंगीन र ग्लिटर (टल्किने) कागज ल्याइन्। काटेर विभिन्न डिजाइनका प्रप्स बनाइन्। आफ्नो बिहेका दिन ती प्रप्स एउटा टेबलमा राखिन्। त्यसले प्रायःको ध्यान खिच्यो। फोटो खिचाउनकै लागि भए पनि रमाइलो मान्ने धेरै भए।
'प्रप्स रूचाइएको देखेर म दंग परेँ,' दीपाले त्यो बेलाको अनुभव साटिन्।
यो २०७४ साल मंसिरको कुरा हो।
त्यति बेला दीपा सारथी नेपालमा जागिरे थिइन्। पेसागत हिसाबले उनी नर्स र मनोपरामर्शदाता हुन्। २०७० सालमा एभरेस्ट कलेज अफ नर्सिङबाट बिएससी नर्सिङ सकेकी उनले पछि पद्मकन्या कलेजबाट मनोविज्ञानमा स्नातकोत्तर गरेकी हुन्।
बिहेपछि फोटा हेर्दै जाँदा दीपालाई प्रप्सकै कारण तस्बिरहरू भिन्न र रोमाञ्चक लाग्यो।
उनले त्यही बेला सोचिन्- प्रप्स रूचाउने अरू पनि होलान्। यसलाई व्यवसायमा परिणत गर्न सकिएला कि!
योबाहेक दीपालाई फुर्सदको समय सदुपयोग गर्नु थियो। त्यसैले प्रप्सको काम व्यवसायिक ढंगले अगाडि बढाउने योजना बनाइन्।
यो योजना फुरेको केही दिनमै सुरू भयो 'प्रप्स नेपाल'।
'नेपाली बजारका लागि समारोहमा प्रयोग हुने प्रप्सको अवधारणा नयाँ र अलग थियो। यसलाई बजारमा व्यवसायिक हिसाबले भित्र्याउने सोचेर काम सुरू गरेँ,' प्रप्स नेपालकी सञ्चालक दीपाले भनिन्, 'प्रप्स यस्तो माध्यम हो जसले हरेक खालको समारोहमा मीठो सम्झना सिर्जना गर्न मद्दत गर्छ। प्रप्स नेपालको मुख्य उद्देश्य पनि ती क्षण भिन्न र यादगार बनाउनु हो।'
प्रप्स नेपाल सुरू गर्ने पक्का भएपछि दीपाले आफ्ना तीन सहकर्मीलाई सुनाइन्। उनीहरूले मद्दत गर्ने भए। सबै मिलेर आ-आफ्नो हिसाबमा प्रप्स बनाउन थाले। तिनका फोटा सामाजिक सञ्जालमा राखे। विस्तारै ग्राहकको सोधपुछ बढ्यो। अर्डर पनि आयो।
अहिले प्रप्स नेपालले विवाह, न्वारन, बेबी सावर (बच्चा जन्मनुअघि मनाइने उत्सव), व्रतबन्ध, जन्मदिनलगायत सबैजसो उत्सव सुहाउँदा प्रप्स बनाउँछ। यिनको डिजाइन र आकार हेरेर ५० देखि २ सय ५० रूपैयाँसम्म पर्छ। दीपाका अनुसार हेर्दा सामान्य भए पनि एक ग्राहकको माग पूरा गर्न झन्डै ५ घन्टा लाग्छ।
'कहिलेकाहीँ काटकुटमा लामो समयसम्म कैंची चलाउँदा औंला दुख्छन्। तर ग्राहकले सामग्री मनपराए भन्ने सुनेपछि दुखाइ पनि हराउँछ,' उनी भन्छिन्। ग्राहकका राम्रा प्रतिक्रियाले उनलाई काम गर्न हौस्याउँछ।
२०७५ सालतिर दीपाले सारथी नेपालको जागिर छाडेर हेल्थी होम क्लिनिकमा काम थालिन्। उनलाई प्रप्सको काममा सघाउने सहकर्मी छुटे। त्यसयता उनी एक्लैले प्रप्स नेपाल सम्हालिरहेकी छन्।
'सँगै नभएपछि काम गर्न अप्ठ्यारो भयो,' उनले भनिन्, 'अहिले सबै काम म आफैं गर्छु। कागज काट्ने कामका लागि भने घरमै बस्ने एक जना बहिनीले सघाउँछिन्।'
हातैले बनाइने हुँदा प्रप्समा ग्राहकले चाहेका कुरा लेखाउन सक्छन्। वाक्य निकै लामो छ भने चाहिँ प्रिन्ट गरिन्छ।
प्रप्स नेपालमा बिहेको सिजनमा धेरै अर्डर आउँछ। यस्तो बेला दीपा राति अबेरसम्म काम गर्छिन्। दिनभर क्लिनिकमा हुने उनलाई प्रप्सको काम धेरै भए श्रीमान र सासू आमाले पनि मद्दत गर्छन्।
'परिवारको सहयोगले नै काम गर्न सहज भएको छ,' उनी भन्छिन्, 'फेरि आफूलाई रमाइलो लाग्ने काम गर्न समय व्यवस्थापन गर्न सकिन्छ।'
झन्डै तीन वर्षदेखि प्रप्स बनाउँदै आएकी दीपाका अनुसार यसका निम्ति धेरै सामान चाहिँदैन। ग्लिटर पेपर, कैंची, गम र अन्य सामान्य स्टेसनरी सामग्री भए पुग्छ।
दीपा आफैंले प्रप्स नेपाल जम्मा एक सय रूपैयाँबाट सुरू गरेकी हुन्।
'मेरो आफ्नै अनुभवले पनि व्यवसाय गर्न ठूलो लगानी चाहिन्छ भन्ने लाग्दैन। आइडिया र आँट भए थोरै लगानीमा बजारलाई उपयुक्त व्यवसाय सुरू गर्न सकिन्छ,' उनले भनिन्।
दीपालाई चुनौती नभएको होइन- प्रप्स बनाउन आवश्यक सामान समयमा सहजै पाइँदैन। ग्लिटर कागजको गुणस्तर कायम राख्न गाह्रो पर्छ। कमसल कागजका ग्लिटर सजिलै झर्छ। त्यसैले उनी राम्रो ग्लिटर पेपर पाए एकैपटक किनेर राख्छिन्।
यी प्रप्स पुनः प्रयोग पनि गर्न सकिन्छ। कुनै समारोह समापनपछि सम्हालेर राख्ने हो भने एकपटक किनेको प्रप्स अर्को सम्बन्धित समारोहमा काम लागिहाल्छ।
अहिले सहरी क्षेत्रमा प्रप्सको चलन बढ्दैछ। दीपाले जस्तै अरू थुप्रैले बजार सुहाउँदा प्रप्स बिक्री गर्छन्। यसले स्वाभाविक रूपमै उनको प्रतिस्पर्धा बढेको छ।
'मैले काम सुरू गर्दा र अहिलेको ट्रेन्डमा ठूलो भिन्नता छ। अचेल प्रप्स बनाउने बढेका छन्,' उनी यसलाई सकारात्मक तरिकाले हेर्ने बताउँदै भन्छिन्, 'म पूर्ण रूपमा यही व्यवसायमा लागेकी होइन। धेरैले यसलाई पेसागत हिसाबमा लगेका छन् भनेर खुसी लाग्छ।'
प्रप्स नेपालले आफ्ना सामान काठमाडौं बाहिरका चितवन, झापा, पोखरा, धनगढी, विराटनगर लगायत जिल्लामा पनि पुर्याइरहेको छ। अमेरिका र अस्ट्रेलियामा समेत दीपाले प्रप्स पठाएकी छन्।
प्रप्स नेपालको फेसबुक अथवा इन्स्टाग्राममार्फत सामान अर्डर गर्न सकिन्छ। यसको वेबसाइट पनि बन्दै छ। दीपाले भविष्यमा प्रप्स नेपालको पसल खोल्ने सोचेकी छन्। त्यस्तै यसलाई 'इभेन्ट डेकोरेसन' कम्पनीका रूपमा विस्तार गर्ने उनको दीर्घकालीन योजना हो।
'हरेक व्यक्तिसँग कुनै न कुनै प्रतिभा हुन्छ। अनि नेपालमा हरेक व्यवसायका लागि राम्रो अवसर छ। झन् नयाँ र पृथक आइडियामा काम गर्न सके राम्रो हुन्छ,' उनी भन्छिन्, 'काम र व्यवसायलाई सिक्दै अघि बढाउने हो। आइडिया कार्यान्वयन गर्न डराउनु भने हुँदैन।'
सबै तस्बिर र भिडिओः सुसन चौधरी/सेतोपाटी
(प्रप्स नेपालको फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८४३६६६१२३)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)