सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
काठमाडौंको बुद्धनगरमा एउटा चिया पसल छ जहाँ छिर्नेबित्तिकै अधिकांशले सोध्छन्- प्रेममा धोका पाएर यो चिया पसल खोल्नुभएको हो?
पसल सञ्चालक यो प्रश्न सुनेर मुसक्क हाँस्छन्। दिनहुँजसो सोधिए पनि सामान्य मान्छन्।
यो चिया पसल नुवाकोटका न्यौपाने दम्पत्तीले खोलेका हुन्। सूर्य र ममताको जीवनमा यो प्रश्नले कुनै अर्थ राख्दैन। किनकी उनीहरूले एकअर्कालाई मनपराएर, प्रेम गरेर बिहे गरेका हुन्।
उसो भए उनीहरूलाई किन सोधिन्छ त यो प्रश्न?
उनीहरूको चिया पसलको भित्तामा लेखिएको वाक्यले गर्दा।
'कसैसँग बसेर धोका खानुभन्दा यहाँ बसेर चिया खानुहोस्' पसल नछिर्दै देखिन्छ पहेँलो भित्तामा ठूला काला अक्षरले लेखिएको।
यो भनाइले बाटो हिँड्ने र यहाँ आउने जोकोहीलाई छुन्छ, कसैलाई मुसुक्क हँसाउँछ होला, कसैलाई चसक्क बिझाउला।
'पसलमा गएर चिया पिउने, मिठा कुराकानी गर्ने र एकअर्कालाई प्रेम गर्नेहरू धेरै हुन्छन्। अनि चियामै ब्रेकअप गर्ने पनि हुन्छन्। आफ्नै साथीहरूले पनि चिया गफमा ह्या मेरो त ब्रेकअप भयो नि यार भनिरहेका हुन्छन्,' सूर्यले भने, 'त्यसैले कसैसँग बसेर धोका खानुभन्दा यहाँ बसेर चिया खानुहोस् लेखेका हौं।'
न्यौपाने दम्पत्तीका अनुसार केटा र केटीको सम्बन्धमा मात्र नभई हरेक सम्बन्धमा चियाले मिठास ल्याउँछ। झगडापछि चिया पिएर आनन्द लिनेहरू पनि धेरै हुन्छन्। यस कारण चिया पसल मन शान्त पार्ने ठाउँ पनि भएको उनीहरूको बुझाइ छ।
'यहाँ आउनेहरू प्रायः घन्टा बसे भने पाँच गिलाससम्म चिया पिएर जान्छन्,' मुस्कुराउँदै ममता भन्छिन्, 'यहाँ ग्राहकले भुल्ने वातावरण पाएकामा हामी खुसी छौं।'
यहाँ चिया पाकुन्जेल र एक्लोपन वा दिक्क महसुस नहोस् भनेर वरपर भित्तामा रमाइला कुराहरू लेखिएको उनीहरू बताउँछन्।
यहाँ बसेर घुस खान मनाही छ- भित्तामा लेखिएको यो वाक्यले प्रायः चिया पसलमा हुने 'डिल' हरूलाई लक्षित गरेको छ। यसबाहेक 'सबै कामलाई सम्मान गरौं', 'के लिनुहुन्छ, चिया कि कफी', 'थिंक ह्याप्पी, बी ह्यापी', 'यु, मी एन्ड कप अफ टी', 'खाली पेट नबस्नु है' लगायत वाक्य यहाँ आउने सबैजसोले पढेर भ्याउँछन्।
यो पसलको ठाउँ भने ठूलो छैन, जम्मा दुइटा सटर गाभेर एउटै बनाइएको छ। एकातिर चिया-खाजा पाक्छ, अर्कोतिर बसेर चिया पिउन पाइन्छ। ठाउँ सानो भए पनि देख्दै आनन्द लाग्ने वातावरणमा चिया चुस्की लिनेहरू भरिभराउ हुन्छन्। अनि मधुर संगीत गुञ्जिरहने माहोलमा मस्त देखिन्छन्।
व्यवस्थापनमा स्नातक सकेका सूर्य र ममताले गत मंसिरदेखि यो चिया पसल खोलेका हुन्।
'हाम्रो पहिल्यैदेखि सानो र चिटिक्कको चिया पसल खोल्ने सपना थियो,' उनीहरू भन्छन्, 'त्यही सपना पूरा गर्दै साना दुई सटरमा यो पसल खोलेका हौं।'
पसलका भित्तामा लेखिएका भनाइजस्तै यसको नाम पनि रमाइलै छ- 'जुगाड फुड टाउन'।
नामै जुगाड, यहाँ भएका अधिकांश सामान पनि जुगाड गरेरै राखिएको छ। बस्नका लागि पुराना टायर। टेबलका रूपमा पुराना साना-ठूला साइकल चिटिक्क पारिएको।
सामान्यतया साना होस् वा ठूला होटल, महँगा फर्निचर राख्दा ग्राहक आकर्षित हुन्छन् भन्ने सोचिन्छ। तर न्यौपाने दम्पत्तीले यो सोच राखेनन्।
'बजारमा सामान्यदेखि ठूला चिया तथा कफीसप प्रशस्त छन्। नयाँ खोलेर अरूभन्दा फरक के दिन सकिन्छ, कसरी ग्राहक आकर्षित गर्न सकिन्छ भन्ने ठूलो कुरा हो,' सूर्यले भने, 'हामीले त्यसैका लागि प्रयास गरेका हौं।'
जुगाडको साजसज्जामा पुराना टायर, साइकलसँगै मुडा, नाङ्लो, लुगा सिलाउने मेसिन, ड्रम लगायत प्रयोग गरिएको छ।
यहाँ चिरिच्याट्ट पारेर सजाए पनि उनीहरूलाई पुराना र प्रयोगबिहीन सामान कहाँ, कता भेटिन्छ भनेर खोज्न मुश्किलै भएको थियो। उनीहरूले काठमाडौंका थुप्रै मोटरसाइकल बनाउने ठाउँ (वर्कसप) चहारे। टायर किनेर ल्याए। घोटीघोटी सफा गरे। रङ लगाएर चिटिक्क बनाए।
'नयाँ तरिकाले केही गर्छु भनेपछि खट्नु त पर्छ नै,' सूर्यले बस्नलायक बनेको टायर देखाउँदै भने, 'त्यति गरेपछि बस्ने ठाउँ त बन्दो रहेछ नि!'
त्यस्तै साइकलमाथि टेबल बनाउने र कप राख्ने ठाउँ बनाउने सोच ममताको थियो। कसरी बनाउने भन्ने आइडिया भने थिएन। खोज्ने क्रममा बिग्रेको साइकल त भेटे तर त्यसमाथि काठको फलेक चटक्क पारेर मिलाएर राख्ने कामले हैरानी दियो।
'हामी दुई साइकल बोकेर धेरै फर्निचर पसल धायौं। तर फर्निचरवालाले हाम्रो आइडिया नै बुझेनन्। तीन वटा साइकल बनाउन नजानेर यत्तिकै खेर गयो,' ममताले भनिन्।
कुनै कुरा सच्चा मनले चाहेपछि पूरा किन नहोला र! यही विश्वास राखेर लामो दौडधूपपछि उनीहरू साइकल-टेबल बनाउन सफल भए। यी सबै काम सक्न दुई महिना लाग्यो।
तर यो खटाइकै कारण उनीहरूको पसल बिग्रेका र खेर गइरहेका सामग्री पुनःप्रयोगबाट आकर्षक सजावट गर्न सकिन्छ भन्ने उदाहरण पनि बनेको छ।
ममताका अनुसार जुगाडको अर्को विशेषता यहाँ पाइने २५ थरी स्वादको चिया हो। सानो भए पनि यति धेरै स्वाद पस्किन सकेकाले ग्राहक बढिरहेका छन्। बुद्धनगर होस्टल र थुप्रै कार्यालयको क्षेत्र भएकाले प्रायः यहाँका ग्राहक युवा जमात हुन्छन्।
यहाँको सबभन्दा लोकप्रिय जुगाड चिया हो। पसलको नामसँग मिल्ने यो यहाँको खास चिया नै हो। त्यस्तै मट्का र सामान्य चिया पनि धेरै बिक्छ। यहाँ २० रूपैयाँदेखि दुई सय ५० रूपैयाँसम्मका चिया-खाजा पाइन्छ।
उनीहरूका अनुसार जुगाडमा दैनिक तीन सय कपभन्दा बढी चिया बिक्छ।
'छोटो समयमै ग्राहकबाट पाएको प्रतिक्रियाले खुसी छौं। आम्दानीको स्रोत पनि बलियो बन्दै गएजस्तो लाग्दैछ,' ममताले भनिन्, 'ग्राहक फर्कीफर्की आएको देख्दा खुसी लाग्छ। यति राम्रो व्यापार होला भन्ने सोचेकै थिएनौं।'
त्यसैले त मनदेखि चाहे सबै कुरा सम्भव हुन्छ भन्ने लाग्छ उनीहरूलाई। तर यसका पछाडि उनीहरूको मेहनतको पनि देन छ।
यो चिया पसल ममताले धानेकी छन्। उनी पहिले ठमेलको एउटा गिफ्ट पसलमा काम गर्थिन्। तर जागिरभन्दा सानै भए पनि आफ्नै व्यवसाय गर्ने सपना थियो।
बिहान ८ बजे नै पसल खोल्ने ममतालाई दिनभर चिया पकाउन र अर्डर पुर्याउन भ्याइनभ्याइ हुन्छ। उनलाई सघाउने एक कर्मचारी छन्। सूर्य बानेश्वरको एक होटलमा पनि काम गर्छन्। फुर्सदमा मात्र ममतालाई सघाउन पाउँछन्।
अहिले बेलुकी ८ बजेसम्म चिया पकाउन खट्ने ममतालाई सुरूमा त चिया बनाउनै आउँथेन रे।
'म त कालो चिया समेत बनाउन जान्दिनँ थिएँ,' ममताले श्रीमान सूर्यलाई देखाउँदै भनिन्, 'उहाँले सिकाउनुभएको हो। अहिले त ग्राहकहरू मैले बनाएको चिया मिठो भन्नुहुन्छ। मन भए गर्न सकिने रहेछ।'
न्यौपाने दम्पत्तीले ग्राहक बढेकै कारण अब जुगाडलाई अलि ठूलो बनाउने सोचेका छन्। अहिले यहाँ एकपटकमा २४ जनासम्म मात्र बसेर चिया पिउन सक्छन्। कतिपय मानिस बस्ने ठाउँ नभएरै फर्किरहेकाले ठाउँ ठूलो बनाउनु पर्ने महसुस उनीहरूले गरेका हुन्।
त्यस्तै भविष्यमा जुगाडको शाखा खोल्ने पनि उनीहरूको योजना छ।
सबै तस्बिरः सविना कार्की/सेतोपाटी
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)