पछिल्लो समय रेस्टुरेन्ट व्यवसायमा नयाँपन ल्याउन खोज्नेहरू धेरै छन्। स्वदेशी नाम। नामअनुसारकै साजसज्जा। अनि त्यहीअनुसारका परिकार।
यस्तै रेस्टुरेन्ट हो शंखमुलमा रहेको 'बार्दली'।
यसको मुख्य विशेषता नामजस्तै बार्दली हो जुन बाहिरैबाट आकर्षक देखिन्छ। भित्र छिरेपछि नेपाली सँस्कृति झल्काउने साजसज्जाले मन अझ लोभ्याउँछ। काठको प्रयोग धेरै भएकाले परम्परागत घर छिरेको महसुस गराउँछ।
खुला बार्दलीमा बसेर वरपरको दृश्य हेर्दै खाने चाहनेको भिड सधैंजसो हुन्छ।
'ग्राहकहरू बार्दलीमा बसेर खाना नपाउँदा त झगडाजस्तो नै पर्छ। कतिपय त यहाँ बस्न नपाए यसै फर्किनु हुन्छ,' रेस्टुरेन्ट सञ्चालक रमेश खड्काले बार्दली मोहबारे सुनाए।
बार्दली रेस्टुरेन्टको कोठामै बस्न भनेर आउनले सिधै बैठक कोठा बुक गर्छन्। नभए बार्दलीबाहेक अन्त बस्न नरूचाउने उनी बताउँछन्।
खुसी हुँदै बार्दलीमा बसेका अधिकांश ग्राहकको परिकार रोजाइ हो पक्कु। खसी र टर्कीको पक्कु बार्दलीको विशेष परिकार नै हो। त्यस्तै टर्की मःम, टर्की पोक्थेकवाफ, टर्की लेगरोस्ट लगायत परिकारको स्वाद लिन आउने थुप्रै हुन्छन्। पोलेको माछा पनि यहाँको अर्को आकर्षण हो।
रमेशका अनुसार बार्दलीमा पाक्ने सबैजसो परिकार अर्गानिक हुन्। रेस्टुरेन्टका अर्का लगानीकर्ता जनार्दन पराजुलीले काभ्रे, पाँचखालमा फार्म हाउस सञ्चालन गरेका छन्। टर्की, कुखुरा, तरकारी लगायत सामान त्यही फार्मबाट आउँछ।
'बार्दलीमा जति पनि खानेकुरा पाक्छ, त्यो सबै आफ्नै र अर्गानिक होस् भनेर हामीले समूहमा यसरी मिलेर काम गरिरहेका छौं,' रमेशले भने।
बार्दलीमा विशेषगरी परिवारसहित खाना खान आउनेहरू हुन्छन्। त्यस्तै जन्मोत्सव, वर्षगाँठ, सानो समूहमा गरिने पार्टी लगायत उत्सव मनाउन आउनेहरूको जमात बाक्लो छ। बार्दलीले पनि यस्तै परिवार र समूहलाई लक्षित गरेर परिकारहरू मेनुमा राखेको छ। यहाँको मटन र चिकेन खाना लोकप्रिय भएको रमेश बताउँछन्।
यहाँ खाना खाएपछि आराम गर्न पनि पाइन्छ। यसका लागि नौ वटा सुविधायुक्त कोठा छन्। यसले पनि ग्राहकलाई बार्दलीमा आकर्षित गरेको रमेशको अनुभव छ।
बार्दली खुलेको एक वर्ष मात्र भयो। कोरोनाले देश लकडाउन भएका बेला रमेश खड्का, राधेश्याम रेग्मी, जनार्दन पराजुली र राजु थापाले डेढ करोड बढी लगानी गरी बार्दली खोलेका हुन्।
यसअघि यही समूहले बर्गर क्लब फास्टफुड रेस्टुरेन्ट चलाएका थिए। तर त्यो बेला बार्दली खोल्ने उनीहरूको सोच थिएन। बरू बर्गर क्लब नै विस्तार गर्ने योजना थियो।
त्यही बीच जनार्दन पराजुलीले शंखमुलमा घर बनाइरहेका थिए। घरमा बिजुली सामानको स्टोर बनाउने सोच थियो।
'बन्दै गएपछि मैले उहाँलाई यसलाई फरक तरिकाले रेस्टुरेन्ट बनाएर सञ्चालन गरौं भन्ने प्रस्ताव राखेँ,' रमेशले सम्झिए। प्रस्ताव जनार्दनले सहजै स्वीकारे। त्यसपछि उनीहरूले फास्टफुड रेस्टुरेन्ट नै चलाउने सोचे।
भवन बन्दै बन्यो। माथि खुला बार्दली बन्यो। तल बैठक गर्न भनेर ठूला कोठा बनाए। कोठा सजाउने बेला भयो। बजारमा भएकाभन्दा फरक नाम र स्वाद पस्किने सोचमा थिए उनीहरू। सोच्दै बनेको भवन हेर्दै गर्दा उनीहरूले देखे, रेस्टुरेन्ट त बार्दलीमय भएछ!
अनि रमेशको दिमागमा फुरिहाल्यो, 'बार्दली नाम राखौं।'
बर्गर क्लब विशेषगरी किशोर र युवाको रोजाइमा पर्छ। बार्दली भने सबै उमेर समूहलाई लक्षित गरेर बनाउने भए। भवनअनुसार नाम सुहाउँदो भएपछि सजावटका लागि रमेशले पुर्ख्यौली घर सर्लाहीबाट पुराना र मौलिकता झल्काउने सामान बटुलेर ल्याए।
'घरमा यसै थन्किएका गढीका चक्का, हलो, जुवा लगायत सामान ल्याएँ। त्यसपछि बार्दलीको बाहिर प्रस्ट देखिनेगरी सजाएर राखियो,' उनले भने। डोको, घ्यू हाल्ने काठको हर्पे, ठेकी, मदानी, पुराना रेडियो, खोस्टा सहितका मकैका घोगाका झुत्ता पनि बार्दलीमा राखिएको छ। पुराना भाँडा पनि यहाँका सजावट सामग्री हुन्।
बार्दलीमा एकैपटकमा डेढ सय जनासम्म बसेर खाना मिल्छ। त्यस्तै सवारी पार्किङका लागि पर्याप्त क्षेत्र छ। यी दुई सुविधाले पनि ग्राहक ढुक्क भएर आउने रेस्टुरेन्ट बनेको रमेश बताउँछन्।
भन्छन्, 'बार्दली पसेपछि एक-दुई घन्टा यत्तिकै बित्छ। ठूलो समूहमा आउनेका लागि पनि पर्याप्त पार्किङ छ।'
बार्दलीले सुरूकै दिनमा सफलता पाएको भने होइन। सञ्चालनमा आएको डेढ महिनामै लकडाउन हुँदा बार्दलीले होम डेलिभरीको प्रयास गरेको थियो। राम्रो माग नभएपछि डेलिभरी सेवा बन्द भयो।
'व्यापार ठप्प थियो। धैर्य गर्नेबाहेक विकल्प रहेन,' रमेशले भने, 'भाडा तिर्न र कामदारलाई तलब खुवाउन मुश्किल भएको थियो। तर लकडाउनपछि बजार चलायमान हुन्छ, व्यवसाय फेरि चल्छ भन्ने विश्वास राखेर बस्यौं।'
केही महिनापछि लकडाउन खुल्यो पनि। रमेशले थपे, 'त्यसपछि बार्दलीलाई ग्राहकले यसरी रूचाइदिनु भयो कि हामीले थाम्नै सकेनौं।'
सोचेभन्दा राम्रो व्यापार भएपछि उनीहरूले बिजुलीबजारमा पनि बार्दलीको शाखा खोलिसकेका छन्। व्यवसाय जस्तो भए पनि शाखा खोल्ने योजना उनीहरूले पहिल्यै बनाएका थिए। त्यसैले सुरूदेखि नै बार्दलीका सबै विशेषता पूरा हुने गरीको राम्रो ठाउँ खोजीमा थिए।
त्यही क्रममा उनीहरूको रोजाइमा परेको हो बिजुलीबजार। पर्याप्त ठाउँ भएकाले सोचेअनुसार साजसज्जा गर्न पाएको उनी बताउँछन्।
'जुनसुकै व्यवसायको पनि डेकोरेसन राम्रो हुनुपर्छ। मान्छेले हेर्दा आहा कति राम्रो भन्ने हुनुपर्छ,' रमेश भन्छन्। बार्दलीमा अहिले बगैंचा पनि बन्दैछ जुन केटाकेटीलाई खेल्न बनाइएको हो। त्यस्तै शुक्रबार र शनिबार लाइभ म्युजिक कन्सर्ट राख्ने योजना पनि छ।
बिजुलीबजारको ठाउँ पहिल्यै निधो गरे पनि सबै काम सक्न दुई वर्ष बढी लाग्यो। फेरि लकडाउन हुने, खुल्ने भइरहँदा झट्टै रेस्टुरेन्ट खोलिहाल्ने सोच आएन।
'खोल्नुभन्दा भाडा तिर्न फाइदा हुन्छ कि जस्तो लाग्यो,' रमेशले भने।
लामो पर्खाइपछि गत असोज १५ बाट बिजुलीबजारको बार्दली ग्राहकका लागि खुला भयो। यी चार महिनामा व्यवसाय राम्रो भएको उनी बताउँछन्।
'पहिलो बार्दलीकै हाराहारीमा व्यापार भइरहेको छ। यति छिटो, यति धेरै आकर्षण होला भन्ने सोचेकै थिएनौं,' उनले भने।
दुवै बार्दलीमा गरेर अहिले उनीहरूको लगानी तीन करोड बढी पुगिसकेको छ। पहिलो रेस्टुरेन्ट खोल्दा चार जना लगानीकर्ता रहेकामा दोस्रोसम्म आइपुग्दा अर्का एक जना थपिए। दुवैतिर गरेर अहिले ८० जना कर्मचारी भएको उनले बताए।
रमेशका अनुसार बार्दलीको फ्रेन्चाइजका लागि विभिन्न ठाउँबाट अनुरोध आइरहेको छ। आगामी दिनमा अरू ठाउँमा शाखा खोल्ने योजना भए पनि फ्रेन्चाइजमा जाने सोच अहिले बनाएका छैनन्।
रेस्टुरेन्ट व्यवसायमा जम्दै गएका रमेशले यो क्षेत्रबारे ज्ञान र सीप भने लन्डनमा सिकेका हुन्।
उनको लन्डन यात्रा खेलकुदले जुराएको थियो। स्कुल पढ्दा उनले तेक्वान्दो तालिम लिएका थिए। मार्सलआर्टका खेलाडीसमेत रहेका रमेशले साथीहरूको सहकार्यमा अनामनगरमा डोजो क्लब खोलेका थिए। क्लबबाट खेलमा सहभागी हुन २०६० सालमा उनी स्कटल्यान्ड पुगेका थिए। खेलमा उनको समूहले जित्न भने सकेन।
फर्किने क्रममा उनी लन्डन पुगेका थिए।
रमेशले लन्डन पुगेपछि आफ्नो बदलिएको मनस्थिति सुनाए, 'लन्डन आउन मान्छेले लाखौं खर्च गर्छन्। यहीँ आइसकेपछि किन रित्तै फर्कने? केही वर्ष यतै काम पो गर्ने हो कि भन्ने लाग्यो।'
काम पाउन सजिलो कहाँ थियो र! भौंतारिँदै गएपछि बल्लतल्ल एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाए। त्यहाँ काम भने एक साता मात्र गरे। यसपछि उनी 'राज रेस्टुरेन्ट' पुगे जहाँ सबैजसो कर्मचारी नेपाली थिए।
'त्यहाँ काम गर्न सजिलै थियो। सुरूमा खास नचलेको त्यो होटल राम्रै तरिकाले चलाउन हामीले मद्दत गर्यौं। त्यहाँबाट धेरै सीप सिकेँ,' उनले भने, 'साढे दुई वर्ष बसेपछि भने अब स्वदेशमै व्यवसाय गर्नुपर्छ भन्ने सोचेर फर्केँ।'
फर्किनासाथ उनले किराना पसल खोलेका थिए। व्यापार राम्रै भए पनि उनी लन्डनमा काम गरेको अनुभवले रेस्टुरेन्ट व्यवसायमै तानिए। अनि पसल छाडेर उनले बर्गर क्लबमा लगानी गरेका थिए।
अहिले उनको व्यावसायिक यात्रा रेस्टुरेन्टतिरै लम्किरहेको छ।
'विदेशमा केही समय बस्दा सिकेको सीपलाई यहाँ व्यवसायका रूपमा अगाडि बढाउन सकेकामा खुसी लागेको छ,' उनी भन्छन्।
(सबै तस्बिर सौजन्यः रमेश खड्का)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)