धादिङका विष्णु पुरुषले कपडा उत्पादन काम थालेको दुई दशक पुग्न लाग्यो। २०६० सालदेखि उनले काठमाडौंमा बिएसएस गार्मेन्ट चलाइरहेका छन्।
करिब दुई वर्षअघि उनले नेपाली कपडा ब्रान्ड दर्ता गरे। नाम राखे 'इन्च'।
बजारमा बेग्लै पहिचान बनाउँदै गएको इन्चको नामकरणबारे विष्णु भन्छन्, 'कपडा तयार गर्न इन्चटेप निकै महत्वपूर्ण मानिन्छ। त्यसैबाट ब्रान्ड नाम इन्च राखेको हुँ।'
बिएसएस गार्मेन्टबाटै उनले 'किपा' र 'कासा' ब्रान्डमा पनि कपडा उत्पादन गर्छन्।
इन्चले पहिले पुरुषका लागि मात्र कपडा उत्पादन गर्थ्यो। महिलाका लागि भर्खरै उत्पादन थालेको विष्णुले बताए। इन्चले मौसमअनुसार सर्ट, टिसर्ट, पाइन्ट, हाफ पाइन्ट, विन्डचिटर, ट्राउजर, वानपिस लगायत कपडा बनाउँछ। यसले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको विष्णु बताउँछन्।
'इन्चको माग राम्रो छ। गुणस्तर अझै सुधार्नु पर्ने प्रतिक्रिया आएको छ। हामी त्यसमा काम गरिरहेका छौं,' उनले भने।
इन्चको व्यापार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै छ। कम्पनीले इन्चका कपडा मात्रै वार्षिक ९ करोड रूपैयाँको बिक्री गर्ने उनले जानकारी दिए।
पछिल्लो समय इन्चले नेपाली कपडा प्रयोग बढाइरहेको छ। विशेषगरी विराटनगर र काठमाडौं, बालाजूमा बनेका थान कपडा प्रयोग हुन्छ।
इन्चका कपडाहरू धेरै महँगा छैनन्। विन्डचिटर सात सयदेखि पाइन्छ, ट्राउजर पाँच सयदेखि। तर कतिपयले नेपालमा बनेको भन्नेबित्तिकै नाक खुम्च्याउने भएकाले बजार विस्तारमा मुश्किल परेको छ।
'कपडामा मेड इन नेपाल चाहिँ नराखिदिनुस् है, बिक्री गर्न गाह्रो भयो भन्छन्। कपडा र डिजाइन राम्रो छ, ग्राहकले मन मनपराउँछन्। तर नेपालमा बनेको भनेपछि ए नेपाली पो रहेछ, नलिने भनेर छाड्छन्,' उनले बजारको अवस्था बताए।
नेपाली उत्पादनको प्रयोग बढाउन सोच परिवर्तनमा आवश्यक देख्छन् उनी। यसो गर्न सके देशमा उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ, पैसा विदेश जानबाट पनि रोकिन्छ।
इन्चले पनि कपडा चीन, थाइल्यान्ड वा कोरियालगायत मुलुकबाटै ल्याउने हो। कटिङ, सिलाइ मात्रै यहाँको हो। तर यहाँ बनेकोभन्दा नाक खुम्च्याउनु हाम्रो विदेशमोह भएको उनी बताउँछन्। भन्छन्, 'विदेशी भन्नेबित्तिकै धेरै मूल्य खर्चिन तयार हुने, अनि नेपालीलाई हेप्ने प्रवृत्ति छ।'
इन्चले अहिले चार सय जनाभन्दा बढीलाई रोजगारी दिएको छ, धेरै महिला छन्। प्राविधिक जनशक्ति भने भारतबाट बोलाउँछ। विष्णुका अनुसार एक जना प्राविधिक एकपटक आउँदा आठदेखि दस लाख शुल्क लिन्छन्।
पैसा विदेशिन्छ भनेर नीतिले उनीहरूलाई बोलाउन सहज बनाएको छैन। अनि नेपालीहरू यस्तो विषयमा सिक्नै नचाहने र सिकेका पनि विदेश पलायन हुने भएकाले यो समस्या देखिएको उनले बताए।
गार्मेन्टमा न्यूनतम मासिक ३० हजार तलब भए पनि युवा विदेशिनै तम्सिने उनी बताउँछन्।
'यहाँका गार्मेन्ट विदेश जान गाउँबाट काठमाडौं आउनेलाई बस्ने सेल्टरजस्ता भएका छन्। आयो, केही समय काम गर्यो। काठमाडौं बस्दाको खर्च चल्छ। भिसा लागेपछि जान्छन्,' उनले भने।
उनका अनुसार अहिले गार्मेन्टमा ठूलो संख्यामा रोजगारी सिर्जना भएको छ। एउटा गार्मेन्टमा कम्तीमा पचासदेखि पाँच सय जना हाराहारीले काम पाउँछन्। साना तथा मझौला उद्योगले दक्ष तथा अर्धदक्ष युवालाई ठूलो अवसर दिएको नेपाल धुलाई संघका सचिवसमेत रहेका विष्णुले बताए। कतिपयलाई त उद्योग आफैंले निःशुल्क तालिम दिएर अवसर दिन्छ।
साधारण परिवारमा हुर्के-बढेका विष्णु देशमै केही गर्नुपर्छ भन्ने सोच राख्छन्। वर्षभरि काम गर्दा ६ महिना मात्र आँटोपिठो खान पुग्ने परिवार थियो उनको। बुबा कामका लागि भारत पुग्थे। कमाएर बेलाबेला फिर्थे।
विष्णु पढ्दाताका सरकारी स्कुलमा महिनाको ३० र परीक्षा शुल्क एक सय ५० देखि दुई सय ५० रूपैयाँसम्म तिर्नुपर्थ्यो। त्यो शुल्क तिर्न उनीहरूलाई मुश्किल हुन्थ्यो। अभावसँगै जुध्दै अध्ययन अगाडि बढाइरहेका उनी २०५२ सालमा धादिङबाट काठमाडौं आए।
पशुपति क्याम्पस, चाबहिलमा साँझको सिफ्टमा पढ्न थाले। बिहान कराते खेल्न पुग्थे। २०५४ सालमा ब्ल्याक बेल्ट पाएका उनी हाल कराते एसोसिएसनका कोषाध्यक्ष हुन्। त्यही बेलादेखि उनी दिउँसोको समय भृकुटीमण्डपमा रेडिमेड कपडा व्यापार गर्थे।
साहुबाट सामान ल्याएर फाइदा आफूलाई राखी कपडाको पैसा साहुलाई नै बुझाउनु पर्थ्यो। कोठाभाडा तिर्न पनि हम्मे थियो। त्यति बेला उनले विदेश जाने सोच बनाएका थिए। ताइवान जान ठिक्क परेका उनी २०५८ सालको दरबार हत्याकाण्डपछि रोकिए।
'त्यति बेला सेना, प्रहरी र खेलाडी विदेश जान पाउँथे। मौका मिलेका बेला म पनि जान्छु भनेको, जुरेन,' उनले सम्झिए। त्यसपछि विदेश जाने योजना त्यागे र देशमै केही गरौंला भन्ठाने।
२०६० सालतिर विष्णु साथीहरूसँग मिलेर सहकारी चलाउन थालेका थिए। त्यही क्रममा गाउँकै चिनजानका मान्छेलाई ऋण दिए। उनी गार्मेन्ट चलाउँथे। माओवादी द्वन्द्व चर्केका बेला गार्मेन्टहरू धमाधम बन्द हुँदै माओवादी कार्यकर्ता लुक्ने ठाउँ बनेका थिए।
गार्मेन्ट चलाउन गाह्रो भएपछि विष्णु आफैंले जमानी बसेर ती दाइलाई २५ हजार ऋण दिएका थिए। उनले ऋण तिर्न सकेनन्, गार्मेन्ट जिम्मा लगाए। २०६० सालमै विष्णुको हातमा गार्मेन्ट पर्यो। त्यहाँ जम्मा चार जना श्रमिक र तीन-चार वटा मेसिन थिए। विष्णुसँग न कारखाना चलाउने सीप थियो, न लगानी थप्न पैसा।
उनले भर्खरभर्खरै बिहे गरेका थिए। श्रीमतीका केही गहनाले लगानीको काम गर्छ भन्ने ठाने।
'त्यतिखेर सुन तोलाको आठ हजार थियो। सबै गहना बेच्दा २५ हजार आयो। त्यही लगानी थपेर गार्मेन्ट सुरू गरेको हुँ,' उनले सम्झिए।
यो गार्मेन्टको काम भोटेबहालबाट सुरू भयो। ठाउँ साँघुरो भएपछि डल्लू सारे। त्यहाँ पनि चार वर्षभन्दा बढी बसेर ढुंगेअड्डा सरेका हुन्। अहिले त यस्तो छ, झन् त्यो बेला नेपाली उत्पादनको बजार कहाँ थियो र! विदेशी चल्तीका ब्रान्ड नाम र लोगो राखेका कपडाको व्यापार राम्रो थियो। विष्णुले यो कुरा बुझेका थिए।
'मान्छेलाई लोगो टाँसे भइहाल्ने। सक्कली/नक्कली केही थाहा नहुने। हामीले पनि त्यसैलाई पछ्यायौं,' उनले भने।
विष्णुले यसरी नै लामो समय काम गरे। बिस्तारै बजारमा नेपाली नामकै ब्रान्ड आउन थाले। तिनले उपभोक्ता र बजारमा राम्रो छाप पार्दै गए। विदेशी ब्रान्ड मात्रै राम्रो भन्ने मानसिकता परिवर्तन हुँदै गएको देख्न थाले। अनि उनले पनि इन्च ब्रान्ड सुरू गरेका हुन्।
इन्चले उद्योग विभागमार्फत दर्ता प्रमाणपत्र पाएको डेढ वर्ष मात्र भयो।
कपडा उत्पादनसँगै इन्चले बौद्धिक अपांगता भएका दुई जना विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति दिँदै आएको छ। इन्च लुगा किन्दा ग्राहकले खर्चेको रकममध्ये केही विद्यार्थीलाई सहयोग हुन्छ भन्ने जानकारी होस् भनेर यसबारे कपडाको स्टिकरमा लेखिन्छ।
इन्च ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्ने योजना बनाएका छन् उनले। गुणस्तर उकासेर देशभर र ठूलो संख्यामा नेपाली पुगेका मलेसिया, खाडीलगायत अरू मुलुकमा इन्चका उत्पादन पुर्याउने सपना छ।
सुरूमा केही असहज भए पनि विष्णु अहिले यही पेसामा रमाउँदै छन्। हात हालेका अरू काम छाड्दै अब यसमै अगाडि बढ्ने सोच छ। तर देशमै काम गरेर खान्छु भन्नेलाई अझै सहज वातावरण नभएको गुनासो गर्छन्।
भन्सारमा कडाइ नहुँदा विदेशी कपडाको आयात बढेको तर यहीँका उत्पादनलाई सरकारले बेवास्ता गरिरहेको उनको गुनासो छ।
उदाहरण दिँदै भने, 'व्यापारीले केटाकेटीको ट्राउजर भनेर थोरै भन्सार तिरेर ठूलो मान्छेको ट्राउजर छिराउँछन्। भित्री वस्त्रको भन्सार तिरेर पाइन्ट ल्याउँछन्। त्यसो हुँदा हाम्रो उत्पादनलाई पाँच सय पर्छ, उनीहरूले ल्याएको चार सयमै आउँछ।'
यस्ता प्रवृत्तिका कारण नेपाली परिवेशमा उत्पादन र व्यापार गर्न सहज नहुने विष्णुको अनुभव छ। आफ्नै देशका नागरिकका लागि कपडा बनाउने, रोजगारी सिर्जना हुने र रकम पनि नबाहिरिने हुनाले सरकारले आयात निरुत्साहित गरेर उत्पादन बढाउन प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।
सबै तस्बिरः निर्मला घिमिरे/सेतोपाटी
(इन्च क्लोदिङको फेसबुक पेजका लागि यहाँ र वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८५१०५२७७४)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)