सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
तपाईंले दही त खानु भएकै छ पक्का पनि। घरमै ठेकीमा जमाएको, कुनै भाँडामा जमाएको वा डेरीबाट किनेको खाने गर्नुभएको होला। काठमाडौं उपत्यकाबासीले भक्तपुरको जुजु धौ पनि खानुभएको होला।
तपाईंले 'ग्रीक योगर्ट' चाहिँ खानुभएको छ कि छैन त? अंग्रेजीमा दहीलाई योगर्ट भन्छन्।
ग्रीक योगर्टमा प्रोटिन बढी र सुगर (चिनीको मात्रा) अत्यन्तै कम हुन्छ। सामान्य दहीभन्दा ग्रीक योगर्टमा पानी पनि कम हुन्छ।
विदेशमा पढेर फर्केका तीन जना उद्यमी युवाले अमेरिकी मुलुकहरूमा प्रचलित ग्रीक योगर्टको स्वाद नेपाली बजारमा ल्याएका छन्। संखुवासभाका सूर्य कार्की, चितवनका विनय बोगटी र सन्दीप पौडेलले दुग्ध परिकारका पारखी नेपालीका लागि दहीको नयाँ स्वाद पस्केका हुन्।
उनीहरूले बजारमा भित्र्याएको दहीको ब्रान्ड नाम 'डेलिस ग्रीक योगर्ट' हो। उनीहरूले अन्य दुग्ध परिकारसमेत उत्पादन गर्ने गरी डेरी उद्योग सञ्चालन गरेका छन्।
सञ्चालकमध्येका एक सूर्य कार्कीका अनुसार डेलिस ग्रीक योगर्ट बनाउन दहीको पानी हटाइन्छ। यसपछि प्रशोधनको प्रक्रियाबाट विभिन्न स्वादमा डेलिस ग्रीक योगर्ट तयार गरिन्छ।
'हामीले ल्याएको डेलिस ग्रीक योगर्ट नेपालमा पहिलो हो,' सूर्य दाबी गर्दै भन्छन्, 'अहिले क्लासिक, स्ट्रबेरी, मिक्सबेरी र आँप गरी चार थरी स्वादमा बनाउँछौं।'
डेलिस क्लासिक सुगर फ्री (चिनी नभएको) हुन्छ। ग्रीक योगर्टको खास स्वाद थाहा पाउन डेलिस क्लासिक खानुपर्छ। त्यस्तै डेलिस स्ट्रबेरीमा स्ट्रबेरी फलको स्वाद राखिएको हुन्छ। मिश्रित बेरिजमा बजारमा उपलब्ध हुने सबै खाले बेरीहरूको स्वाद पाइन्छ। आफूहरूले प्राकृतिक स्वाद राखेर डेलिस ग्रीक योगर्ट बनाउने उनी बताउँछन्।
'दहीमा राख्ने फलफूल मेसिनबाट प्रशोधन गरिन्छ। बजारमा पाइने धेरै खानेकुरामा आर्टिफिसयल फ्लेभर (नक्कली बासना–स्वाद) हालिएको हुन्छ,' सूर्यले भने, 'हामी प्राकृतिक स्वाद राख्छौं। दही खाँदा फलका टुक्रा पनि आउँछ।'
डेलिस ग्रीक योगर्टकाे उत्पादन हुन थालेको आठ महिना मात्रै भयो। अहिले यो काठमाडौं उपत्यका, पोखरा लगायत विभिन्न सहरका सुपरमार्केट, मार्ट र पसलहरूमा किन्न पाइन्छ।
सूर्यका अनुसार डेलिस ग्रीक योगर्ट धेरैले ब्रेकफास्टसँग खान रूचाएका छन्। ओट्स, कर्नफ्लेक्स लगायत ब्रेकफास्टमा मिसाएर खाँदा स्वादिष्ट हुन्छ। यो दही शरीरका लागि फाइदाजनक भएको पनि उनको भनाइ छ। शरीरको तौल घटाउन चाहने व्यक्ति, मधुमेहका बिरामी, पाचनसम्बन्धी समस्या भएकाहरूका लागि स्वास्थ्यवर्द्धक हुन्छ।
बजारमा डेलिस दही सबभन्दा कम तौल १२५ ग्रामको प्याकेटमा पाइन्छ। झट्ट हेर्दा आइसक्रिम जस्तै प्याकेजिङ देखिन्छ। यसको मूल्य १३५ रूपैयाँ छ।
ग्रीक योगर्टका अनेक स्वाद नेपाली बजारमा पुर्याउने योजना तीन जना मिलेर बनाएका हुन्। त्यसमा पनि पढाइको सिलसिलमा अमेरिका पुगेका सुर्यले त्यहाँ ग्रीक योगर्ट खाएका रहेछन्। त्यसको स्वादमा पल्केका सूर्यलाई आफ्नो देशमा डेरी क्षेत्रमा काम गर्ने सोच त्यति बेलै आएको हो।
उनकाअनुसार पढाइ पूरा गरेर स्वदेश फर्केपछि साथीसँग भेट भयो। उस्तै उमेरका तीन जनाबीच छलफल भयो। उनीहरूले कृषि क्षेत्रमा लगानी गर्ने सोच बनाए।
सूर्य भन्छन्, '२०७४ सालमा हाम्रो भेट भयो। बिजनेस, कृषि र सिए पढेका हामी तीन जना कृषिमा केही नयाँ उत्पादन ल्याएर बजारमा भित्र्याउनुपर्छ भन्नेमा सहमत भयौं।'
कृषिमा काम त गर्ने तर के गर्ने? दुग्ध क्षेत्रमा काम गर्दा डेरी खोलेर दूध, दही, मोही, घ्यू त सबैले बेच्छन्, नयाँ के दिने!
सूर्यको आइडियाअनुसार उनीहरू ग्रीक योगर्टको स्वाद नेपाली बजारमा पस्किन सकिन्छ भन्ने निष्कर्षमा पुगे। सूर्यले ग्रीक योगर्ट खाए पनि बनाउने प्रविधि थाहा थिएन। उनीहरूले यसबारे खोजी थाले।
भारतमा पनि ग्रीक योगर्ट बन्छ भन्ने थाहा पाएर सूर्य, सन्दीप र विनय तीनै जना त्यता गए। उनीहरूलाई त 'तँ सोच, म पुर्याउँछु' भनेजस्तै भयो। मेसिनबारे बुझे, प्रविधि सिके अनि नेपाल फर्के।
ग्रीक योगर्ट उत्पादन हुने पक्का भएपछि बजार अध्ययन थाले। सामान्य दहीभन्दा महँगो पर्ने ग्रीक योगर्ट नेपाली उपभोक्ताले किन्छन् कि किन्दैनन्! बजार अध्ययनमा एक वर्ष बित्यो। नतिजा सकारात्मक देखियो। उनीहरू उत्पादन गर्ने निष्कर्षमा पुगे।
उनीहरूलाई उद्योगका लागि उपयुक्त ठाउँ चाहियो। खोजे जति दूध पाइने ठाउँ चितवन रोजे। तीन जना मिलेर 'डेलिस डेरी' नामक उद्योग दर्ता गरे। उद्योगको नाममा २०७५ सालमा एक बिघा जमिन किने। दूध प्रशोधन गर्ने मेसिन भारतबाट मगाए। कोरोना महामारीकै बीचमा उनीहरूले त्यहीँ संरचनाहरू खडा गरेर उद्योग तयार पारे।
डेलिस डेरीले एक वर्षअघि फागुनमा उत्पादन थालेको हो। सुरूमा उनीहरूले ग्रीक योगर्ट बनाएनन्। 'पञ्चमी' नाम दिएर दूध र दहीसहित केही दूग्ध परिकारहरू तयार गरे।
'हामी व्यावसायिक घरानाका थिएनौं। पहिलो पटक व्यवसाय गर्दै थियौं। पहिले स्थानीय स्वाद नै पस्किने सोच बनायौं,' सूर्यले सेतोपाटीसँग भने, 'डेरीबाट पञ्चमी ब्रान्डका परिकार बेच्न थाल्यौं।'
पञ्चमी ब्रान्डमा दही, मोही, घ्यू, पनिर, चिज उत्पादन सुरू भयो। सुरूआती दिनमा उपभोक्तालाई पञ्चमी ब्रान्ड चिनाउन निकै कठिन भयो। उनीहरू आफ्ना उत्पादन लिएर चितवन र नवलपरासीका विभिन्न ठाउँ डुल्न थाले।
पञ्चमीले बिस्तारै बजार लियो। उपभोक्ताहरूमा चिनिन थालेपछि ग्रीक योगर्ट बनाउन थाले।
'हामी दिनरात खट्न थाल्यौं। पञ्चमी आएको पाँच महिनापछि ग्रीक योगर्ट बजारमा जान योग्य बन्यो,' सूर्यले भने, 'भेनेजुएलामा खाएजस्तै डेलिस ग्रीक योगर्ट तयार भएपछि हामी धेरै खुसी भयौं।'
डेलिस ग्रीक योगर्ट बोकेर उनीहरू काठमाडौं आए। यहाँका ठूला र नामचलेका सुपरमार्केट र मार्टहरूमा पुगे।
'विदेशी स्वादको डेलिस बोकेर काठमाडौंका सुपर मार्केट घुम्यौं, कसैले पनि राख्न मानेनन्। धेरैले गुणस्तरमा प्रश्न उठाए,' उनले भने।
उनीहरूले हार मानेनन्। गुणस्तरीय र स्वस्थकर उत्पादन राख्ने ललितपुरको 'निना एन्ड ह्यागर' मा पुगे। ह्यागरले आफ्नो मापदण्ड अनुसारकै रहेको ठहर गरेपछि डेलिस ग्रीक योगर्ट बजारमा पुग्यो।
एक ठाउँ त भयो तर यतिले पुग्ने होइन।
'हामी कम्पनी खोल्न साथ दिएको नबिल बैंकमा पुग्यौं। सिइओ अनिलकेशरी शाहसँग भेट भयो। हामीले डेलिस दही खुवायौं। उहाँलाई मन परेछ,' सूर्यले सम्झिए, 'उहाँले हिमालयन जाभा, सेल्सबेरी लगायत ठाउँमा सम्पर्क गराइदिनुभयो।'
साथै, नेपाल इन्भेष्टमेन्ट बैँकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले पनि डेलिसलाई बजारमा पुर्याउन साथ दिए।
यसपछि डेलिस ग्रीक योगर्ट भाटभटेनी, बिगमार्ट लगायत स्टोरमा पुग्न थाल्यो। बिस्तारै माग बढ्यो। उनीहरूले सामाजिक सञ्जालमा आधिकारिक पेज बनाए र प्रचार थाले। अहिले यिनै माध्यममा प्रतिक्रियाहरू पाउँछन्।
स्थानीय बजारमा पञ्चमीको र सहरी क्षेत्रमा डेलिसको माग बढ्यो। सुरूका दिनमा दैनिक पाँच सय लिटर दूध खपत गर्ने डेलिस डेरीमा हाल दैनिक चार हजार लिटर खपत हुन्छ।
सूर्यका अनुसार पञ्चमी र डेलिसका लागि दैनिक दुई–दुई हजार लिटर दूध खपत हुन्छ।
'सामान्य दहीभन्दा डेलिसमा दूध बढी लाग्छ। दुई हजार लिटर दूधबाट दुई हजार कप डेलिस बन्छ,' उनले भने, 'अबको तीन महिनाभित्र सात हजार लिटर खपतमा पुग्छौं।'
उद्योगमा सन्दीप डेरीको अपरेसन हेर्छन्, विनय उत्पादन र सूर्य मार्केटिङ। चाँडै डेलिसका दुई स्वाद थप्ने उनीहरूको योजना छ।
आपसमा मिलेर अघि बढेका यी युवाले व्यवसायमा एक वर्षमै लामो फड्को मारेका छन्। सूर्यका अनुसार तीन करोड लगानीमा सुरू भएको डेलिस डेरीको पुँजी एक वर्षमै १४ करोड पुगेको छ। उद्योगले एक वर्षमा साढे पाँच करोड रूपैयाँको कारोबार गरेको छ। उद्योगमा ४० जना स्थानीयबासीले रोजगारी पाएका छन्।
डेलिस ग्रीक योगर्ट सुरूमा अनुमान गरेभन्दा तीन गुणा बढी खपत भएको सूर्यको भनाइ छ। उनीहरूले डेलिस डेरीमार्फत् घिउ, चिज, पनिर र छुर्पी पनि उत्पादन गर्छन्। यी सबैको माग राम्रो छ।
सूर्य भन्छन्, 'हामी अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने भएका छौं। हाम्रा उत्पादनको माग धेरै राम्रो छ।'
डेलिस डेरीसँग मिलेर काम गर्न ठूला व्यवसायीहरूले रूचि देखाएका सूर्य बताउँछन्। ठूला व्यावसायिक घरानाका उद्योगीहरू जोडिने खोजेकाले यी युवा उद्यमी अहिले उत्साहित छन्। आफ्ना उत्पादन चाँडै विश्व बजारमा पुग्ने उनीहरूको विश्वास छ।
भारतबाट डेलिस डेरीको अर्को कारखाना खोल्न पनि प्रस्ताव आएको छ। स्वदेशका विभिन्न ठाउँमा कारखाना खोल्ने र डेलिस ग्रीक योगर्ट र अन्य उत्पादन देशभर र अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उनीहरूको लक्ष्य छ।
(डेलिस ग्रीक योगर्टको फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८०१५४४१११)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)