झन्डै आठ वर्षअघि नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड इञ्जिनियरिङ कलेजमा उनीहरूको भेट भएको थियो।
चितवनको माडीका जीवन दवाडी, सप्तरीको राजविराजका सुनिलकुमार यादव र बाराको निजगढका सागर तिमिल्सिना उक्त कलेजमा इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इञ्जिनियर बन्न आएका थिए।
अहिले यी तीनै जना उद्योगी भएका छन्।
उनीहरूको कम्पनी 'एड्भान्स टेक' ले बिजुलीका स्विचहरूको बोर्ड बनाउँछ। भित्तामा टाँसिएको र त्यहीँ पुगेर किटीकिटी पारेर थिच्ने सामान्य बोर्ड होइन, रिमोट वा एप्सबाट टुच्चटुच्च छोएर अन-अफ गर्न मिल्ने डिजिटल स्मार्ट स्विच बोर्ड। यसलाई आफू जहाँ छ, त्यहीँबाट खोल्न र बन्द गर्न सकिन्छ।
कम्पनीका सञ्चालकमध्येका एक, २७ वर्षीय जीवन दवाडीले भने, 'यस्तो बोर्ड नेपालमा हामीले नै पहिलोपटक बनाउने थालेका हौं।'
यसको आइडिया भने उनीहरू कलेज पढ्दै फुरेको हो। २०७४ सालतिर उनीहरू स्नातक तहको अन्तिम वर्षमा पढ्थे। कलेजले विद्यार्थीहरूलाई कुनै नयाँ विद्युतीय सामग्री बनाउने जिम्मा दियो। यो उनीहरूको परीक्षा थियो। पाँच जनाको समूहमा थिए यी तीन युवा।
आफ्नो समूहमा निकै समय सोचविचार गरेपछि उनीहरूले त्यति बेलासम्म नेपालमा उत्पादन हुन नसकेको डिजिटल स्मार्ट स्विच बोर्ड बनाउने निधो गरे। तयार पारेर बुझाए पनि।
'घरभित्र र बाहिर जहाँ रहेर पनि बत्ती, पंखा, फ्रिज, टिभी लगायत विद्युतीय उपकरण नियन्त्रण गर्न सक्ने क्षमता यो बोर्डमा हुन्छ,' जीवनले भने, 'हाम्रो सिर्जनालाई कलेजमा धेरैले तारिफ गरे।'
अरूले तारिफ मात्र गरे, अध्यापकहरूले यसलाई उत्पादनमै लैजानुपर्छ भनेर हौस्याए।
स्नातक सकियो। अब कतै जागिर खाने कि विदेश जाने? वा आफैंले नयाँ काम थाल्ने?
जीवनका अनुसार त्यसपछि बल्ल उनीहरूलाई आफ्ना अध्यापकले कलेजको 'प्रोजेक्ट वर्क' मा बनाएको डिजिटल स्विच उत्पादन गर्न भनेको कुरा याद आयो।
'साथीहरू कोही जागिर खान थाले, कोही विदेश गए। मलाई यी दुवैमा इच्छा थिएन। के गर्ने भन्ने निर्णय लिन पनि सकेको थिइनँ,' जीवनले भने, 'त्यही बोर्ड उत्पादन गरेर बेच्न सकिन्छ कि भनेर हाम्रो समूहमा गफ भयो।'
उनीहरूको समूहका पाँच जनामध्ये दुई जना विदेश पुगिसकेका थिए। जीवन, सुनिल र सागर तीन जनाले नै प्रयास गर्ने भए। स्मारट स्विच बोर्डको उत्पादन सम्भाव्यता, बजार र उपभोक्ताबारे अध्ययन गरे। अनुसन्धानबाट यसमा सम्भावना देखे।
उद्योग नै खोल्ने भनेपछि ठूलो लगानी चाहिन्थ्यो। त्यो लगानी यी युवाहरूसँग थिएन।
'मध्यमवर्गीय परिवारका हामीसँग ठूलो लगानीका लागि पुँजी हुने कुरा भएन। आफ्नो सोच बताउँदा चिनेजानेका कसैले लगानी गर्न सघाउलान् कि भन्ने आशा थियो। हामी आफ्ना कुराहरू राख्दै हिँड्यौं,' जीवनले भने।
भर्खरै इञ्जिनियरिङ सकेका युवाहरूको नयाँ सोचको तारिफ गर्ने मान्छेहरू भेटिन थाले। लगानी गर्न तयार पनि भेटिए। त्यही समयमा कोरोना लकडाउन भयो। तत्काल उद्योग खोलेर काम सुरू गर्ने चाहनामा ठेस लाग्यो।
महामारी लम्बिँदै गयो। उनीहरूले आफ्नो योजनालाई मर्न भने दिएनन्। कम मूल्यमा उत्कृष्ट उत्पादन, कच्चा पदार्थ जोहो, बजार बिस्तार कसरी गर्न सकिन्छ भन्ने जस्ता योजना लकडाउनकै बेला बनाउन थाले। यसको डिजाइन र सफ्टवेयर पनि नेपालमै तयार पारे।
अवस्था सामान्य हुँदै गयो। उनीहरूले लगानी गर्न इच्छुक व्यक्तिहरूलाई भेटे। मनाए।
'आफ्नो योजना आमाबुबालाई सुनाएँ। उहाँहरूले विश्वास गरेर लगानीका लागि केही पैसा जोहो गरिदिनुभयो। अन्य दुई जना साथीले पनि लगानी गरे,' उनले सुनाए।
तीन युवाको यो समूहमा अहिले २८ जना जोडिएका छन्। सबैले १५ लाख रूपैयाँभन्दा बढी लगानी गरेका छन्। अरू विभिन्न लगानी थप्दा उनीहरूले स्थापना गरेको एड्भान्स टेक इन्डस्ट्रिज प्रालिको लगानी अहिले १० करोड रूपैयाँ पुगेको जीवन बताउँछन्।
एड्भान्स टेकको कारखाना भरतपुर महानगरपालिकाको वडा नम्बर १६ मा छ। यसले घर, कार्यालय, उद्योग जता पनि राख्न मिल्ने डिजिटल स्मार्ट स्विच बोर्ड बनाएर बजारमा पठाउँछ।
'नेपालमा अहिले प्रायःले परम्परागत स्विच बोर्ड प्रयोग गर्छन्। बिस्तारै मोडुलर स्विच बोर्ड पनि प्रयोगमा आउन थालेका छन् तर डिजिटल स्मार्ट स्विच बोर्डको प्रयोग असाध्यै कम छ,' उद्योगका अर्का सञ्चालक तथा अध्यक्ष समेत रहेका सुनिलकुमार यादवले भने, 'यो अरूभन्दा केही महँगो त हुन्छ। तर यसमा सुविधा पनि धेरै हुन्छ। आकर्षक र सुरक्षाका दृष्टिले पनि प्रभावकारी हुन्छ।'
उनका अनुसार यो स्विच बोर्डमार्फत विद्युतीय उपकरण चलाउन मोबाइल एप्स, रिमोट र टच स्क्रिनको व्यवस्था छ। रिमोटले करिब १५ मिटरको दुरीबाट काम गर्छ। एप्समार्फत विश्वको जुनसुकै ठाउँमा बसेर विद्युतीय उपकरण खोल्न, बन्द गर्न सकिन्छ। साथै कुनै समय निश्चित गरेर उपकरण चलाउन र बन्द गर्न टाइमर सेट गर्न पनि सकिन्छ।
'घरको भित्री, बाहिरी सबै भागमा जुनसुकै तरिकाको वायरिङमा यो सजिलै फिट हुन्छ। हामीले केही वर्ष प्रयोग परीक्षण गरेपछि मात्रै बजारमा ल्याएका हौं,' ३१ वर्षीय सुनिलले भने।
विदेशी उत्पादनलाई विस्थापित गर्दै स्मार्ट उपकरणको प्रयोग बढाउने उद्देश्यले गुणस्तरमा विशेष जोड दिएको उनीहरूको भनाइ छ।
जीवनले थपे, 'नेपालमा प्रायः परम्परागत र मेकानिकल सामग्री उत्पादन भइरहेका छन्। प्रविधिका विद्यार्थी भएकाले प्राविधिक क्षेत्रमा केही गर्न सक्छौं भनेर लागेका हौं।'
स्तरीय इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स सामग्रीका लागि नेपाल विदेशीमै भर परिरहेको छ। यो अवस्थामा आफूहरू स्वदेशमै स्मार्ट र अटोमेटिक सामग्रीको उत्पादन बढाउँदै लैजाने सोचमा रहेको उनीहरूले बताए।
उनीहरूले बनाएको डिजिटल स्मार्ट स्विच बोर्ड अहिले नयाँ सामग्रीका सौखिन र उच्च वर्गीयले प्रयोग गरिरहेका छन्। विशेषता थाहा पाएपछि बिस्तारै अरूले पनि प्रयोग बढाउने सञ्चालकहरूको विश्वास छ।
एड्भान्स टेकमा तीन सञ्चालकबाहेक अरू इञ्जिनियर र प्राविधिकहरूले पनि काम गरिरहेका छन्। अहिले उद्योगको क्षमता महिनामा दुई हजारदेखि २५ सय बोर्ड उत्पादन गर्ने हो।
'यस्तो स्विच बोर्ड नेपालमै पहिलोपटक भरतपुरमा बनाउन थालिएको हो,' जीवनले भने, 'यसअघि चीनबाट आयात गरिन्थ्यो। हामीले पनि बोर्ड बनाउन चाहिने केही सामग्री चीनबाटै आयात गरिरहेका छौं।'
अबको पाँच वर्षमा कुनै पनि कच्चा सामग्री आयात गर्न नपर्ने गरी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।
यो समूहले डिजिटल स्मार्ट स्विच बोर्डसँगै अन्य इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स सामग्री पनि उत्पादन गर्ने लक्ष्य राखेको अर्का सञ्चालक सागर तिमिल्सिनाले बताए।
'कलेजमा पढेर जानेका कुरालाई प्रयोग गरेर व्यावसायिक उत्पादन बढाउँदै लैजाने सोच छ,' २८ वर्षीय सागरले भने।
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)