तपाईंलाई कटन अर्थात् सुतीका गुणस्तरीय तन्ना, पर्दा, सिरानीका खोल, बेबी–बेडिङ इत्यादि चाहिएको छ? सिरक, ब्ल्यांकेट, खास्टो, कुसनको खोल, टेबल कभर, डाइनिङ टेबलमा राख्ने कभर पनि चाहिएको छ कि!
छ भने तपाईंको आवश्यकता पूरा गर्छ ललितपुरको 'कटन मिल' ले।
कटन मिलका सञ्चालक हुन् दिदीबहिनी प्रशन्ना बस्नेत र प्रियंका बस्नेत। उनीहरू बजारबाट सुतीको सेतो कपडा किन्छन् र त्यसमा बुट्टा छापेर विभिन्न डिजाइनका घरायसी कपडा तयार गर्छन्।
कटन मिलमा घरमा प्रयोग हुने प्रायः सबै किसिमका कपडा पाइन्छन्। गज्जब के छ भने सबै उत्पादन स्वदेशी हुन्। कटन मिलको कारखाना ललितपुरको थेंचोमा छ। बिक्रीका लागि ललितपुरकै सानेपा र काठमाडौंको रातोपुलमा शोरूम छन्।
प्रशन्नाका अनुसार कटन मिलको उत्पादन राष्ट्रियसँगै अन्तर्राष्ट्रिय बजारले पनि रूचाएको छ।
'पाँच वर्षयता हाम्रो उत्पादनले स्वदेशी र विदेशी बजारमा राम्रो स्थान पाएको छ,' उनले भनिन्, 'धेरै सेलेब्रेटीले कटन मिलका बेडशीट (तन्ना) प्रयोग गर्नुहुन्छ।'
कटन मिलको सुरूआत व्यवसायी बन्ने ठूलो महत्वाकांक्षा र ठूलो योजनाअनुसार भएको होइन। जागिरको साटो आफ्नै केही काम गर्ने चाहनाले भएको हो।
यसमा अर्को पनि कारण छ। त्यो हो, बजारमा आफ्नो रूचि अनुसारको तन्ना नपाउनु। यसले बस्नेत दिदीबहिनीलाई कटन कपडाको व्यवसायमा तान्यो।
'बेडमा सधैं एकै खाले तन्ना राख्नुपर्थ्यो। नयाँ किन्न जाँदा पनि उस्तै खालको मात्र पाइन्थ्यो,' प्रशन्नाले भनिन्, 'त्यही समस्या समाधान गर्न कटन मिल सुरू भएको हो।'
दिदीबहिनी दुबै जागिरे थिए। प्रशन्ना एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्थिन्, प्रियंका एयरलाइन्स कम्पनीमा। सुरूमा प्रशन्नाले चीनबाट राम्रो डिजाइनका तन्ना ल्याएर बेच्ने विचार गरिन्। आफ्नो आइडिया बहिनी प्रियंकालाई सुनाइन्। उनी पनि सहमत भइन्। उनीहरू जागिर छाडेर तन्नाको व्यवसाय गर्ने निष्कर्षमा पुगे। यही क्रममा सन् २०१० मा 'ट्रेड कम्पनी' दर्ता गराए।
दिदीबहिनी दुबै चीन गए। त्यहाँ उनीहरूले करिब आधा दर्जन कपडाका कारखाना हेरे। कपडा उत्पादनबारे बुझ्ने मौका पाए। कारखानाहरू हेरेपछि उनीहरूमा सुतीका कपडा किनेर आकारप्रकार र बुट्टा डिजाइन गर्ने सोच बन्यो।
'चीनमा यसरी उत्पादन भइरहेको छ भने हामी पनि गर्न सक्छौं भन्ने सोच आयो,' प्रशन्नाले भनिन्, 'हामी केही कपडा किनेर फर्कियौं।'
उनका अनुसार उनीहरूले डेढ लाख रूपैयाँको कटन कपडा किनेर ल्याए। व्यवसायको सुरू लगानी यही भयो।
चीनबाट फर्केपछि बस्नेत दिदीबहिनीले काठमाडौं, ललितपुर र भक्तपुरका कपडा कारखाना अवलोकन गरे। आफूले सोचेको व्यवसायको सम्भावना खोजी गरे। स्वदेशी कारखाना अवलकोनपछि उनीहरू काम गर्न सक्छौं भन्ने निष्कर्षमा पुगे।
अब चाहियो डिजाइन, सिलाइ लगायतका लागि दक्ष जनशक्ति। मुख्य चुनौती यही थियो। कपडा स्वदेशी उद्योगबाटै लिने भए। जोखिम र चुनौती स्वीकार गर्दै दिदीबहिनी अघि बढे।
काठमाडौंको जोरपाटीमा एउटा कोठा भाडामा लिए। कटनका कपडा लिएर तन्ना बनाउन सुरू गरे। सिलाउने कामका लागि एक जना महिला कर्मचारी राखे। प्रशन्ना र प्रियंका युट्युबमा तन्नाका डिजाइन हेर्थे र कर्मचारीलाई भन्थे। कर्मचारीले सिलाउने काम गर्थिन्।
'आफ्नै बचत लगानी गरेर हामीले उद्योगमा दिनरात मेहनत गर्यौं। तन्नामा बुट्टा भर्ने तरिका इन्टरनेटमा खोज्यौं। युट्युबमा हेर्दै डिजाइन बनायौं,' प्रशन्नाले सुरूआती दिनको अनुभव सुनाइन्, 'कतिपटक त बुट्टा कोरेको नमिलेर तन्ना फिर्ता लिनु पर्यो।'
काम सिक्दै गर्दै करिब चार वर्ष बित्यो। सुरूमा आफ्नै प्रयोगका लागि केही उत्पादन गरे। अनि छरछिमेक, आफन्त र अरू चिनारूकहाँ पुर्याए। उनीहरूले रूचाएर किने। यो प्रयोगले उनीहरू उत्साहित भए। अनि बजारमा पठाउन सक्ने गरी उत्पादन गर्न थाले।
प्रशन्नाले भनिन्, 'आफूसँग धेरै सिप थिएन। अध्ययनबिना नै आएका थियौं। चार वर्ष त हामीलाई आत्मविश्वासी हुनै लाग्यो।'
यही समय भृकुटीमण्डपमा एउटा मेला आयोजना भयो। त्यसमा सहभागी भए। स्वदेशी कपडाको त्यो मेला उनीहरूको लागि एउटा मौका बन्यो। उनीहरू मेलामा कटनका तन्ना, डाइनिङ टेबल कभर, पर्दा लगायतका सामग्री लिएर पुगेका थिए। अवलोकनकर्ता स्वदेशी र विदेशीहरूले मन पराए। यही मेलाबाट उनीहरूको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पनि पुग्यो।
प्रशन्नाका अनुसार त्यो मेलामा एक जापानी नागरिकले एकैपटक तीन सय वटा तन्ना अर्डर गरे। केही अग्रिम रकमसहित तीन महिनामा सात फरक डिजाइनका तीन सय तन्ना तयार गरे।
'यसरी पहिलोपटक हाम्रो उत्पादन जापान पुग्यो,' उनले भनिन्।
दिदीबहिनीको व्यावसायिक कम्पनीको नाम सुरूमा 'ट्रेडिङ कम्पनी' थियो। कटनका कपडाको मात्र कारोबार भएपछि नाम नै 'कटन मिल' राखेका हुन्।
उनीहरूले स्वदेशी बजारमा विस्तार गर्न शोरूम खोले। कारखानामा सिलाइ, कटाइ र बुट्टा छपाइका लागि एकैपटक सात जना कर्मचारी राखे। उनीहरूले बेलाबेला आयोजना भइरहने प्रदर्शनी र मेला छुटाएनन्।
'त्यति बेलाको मार्केटिङ भनेकै प्रदर्शनी र मेला थियो,' प्रशन्नाले भनिन्, 'जोरपाटीको एउटा कोठाबाट सुरू भएको कटन मिल बिस्तारै काठमाडौं उपत्यकामा फैलिन थाल्यो।'
प्रशन्ना र प्रियंका रातदिन खटे। कर्मचारीलाई काम सिकाए। सामानको बिक्री बढ्यो। क्रेताहरू कारखाना र शोरूममा पुग्न थाले। सामाजिक सञ्जालको प्रयोग बढेपछि उत्पादनको बजारीकरण गर्न फेसबुक र इन्स्टाग्राम पेज बनाए।
सुरूमा फेसबुक र पछि इन्स्टाग्रामले उनीहरूको व्यापार प्रवर्द्धन र बजारीकरण गर्यो। उत्पादन सुरू भएको पाँच वर्षपछि कटन मिलको व्यापार राम्रो हुन थालेको उनले बताइन्।
सन् २०१४ मा कटन मिलको एउटा शोरूम नागपोखरीमा थियो। सन् २०१८ सम्म आइपुग्दा काठमाडौं र ललितपुरमा चार वटा शोरूम भए। पर्यटकीय क्षेत्रमा शोरूम भएकाले व्यवसाय राम्रो भयो। प्रशन्नाका अनुसार कटन मिलले डिजाइन र उत्पादन गरेका तन्ना र अन्य सामग्रीका लागि बजार अभाव छैन। बुटिक होटल, रेस्टुरेन्ट र घरायसी प्रयोगकर्ता मुख्य ग्राहक हुन्। नेपालमा बस्ने विदेशी पनि कटन मिलका ग्राहक हुन्।
प्रशन्ना भन्छिन्, 'अर्डरअनुसार पनि उत्पादन गर्छौं। शोरूमबाट हुने खुद्रा बिक्री पनि राम्रो छ।'
सामग्रीको माग बढेपछि उत्पादन पनि बढाउनै पर्यो। उनीहरूले एकैपटक धेरै कर्मचारी थपेर ४० जना पुर्याए। व्यवसाय चल्दै थियो। कोभिडले मुलुक लकडाउन भयो। कटन मिलका शोरूमहरू बन्द भए।
त्यही बेला उनीहरू डिजिटल मार्केटिङतिर लागे। सामान घरमै पुर्याउन एउटा भ्यानमा दुई जना कर्मचारी खटाए। फेसबुक, इन्स्टाग्राम र वेबसाइटमा सक्रिय भए।
'लकडाउनमा सामाजिक सञ्जालबाट अत्यधिक अर्डर आउन थाल्यो,' प्रशन्नाले भनिन्, 'पहिलो लकडाउनले व्यवसायमा केही असर पुर्याए पनि त्यसपछि व्यापार राम्रो भयो। कोरोनाकै समयमा मास्क बनाएर पनि बेच्यौं।'
अहिले कटन मिलका दुई वटा मात्र शोरूम छन्। थेंचोमा पाँच वर्षअघि सरेको कारखानामा लिभिङ, डाइनिङ, खास्टो, गिफ्ट र बेबी गरी पाँच समूहमा ५० भन्दा बढी प्रकारका कपडा तयार हुन्छन्।
प्रशन्नाका अनुसार सुरूमा कपडा डिसइन्फेक्ट (निःसंक्रमित) गर्नुपर्छ। रङ, डिजाइन, छपाइ इत्यादि सबै काम सकेर शोरूममा ल्याउन तीन साता लाग्छ। कटनका कपडा टिकाउ हुन्छन्। तन्ना ओछ्याउन रहर पुगेपछि अन्य काममा उपयोग सकिने उनको भनाइ छ।
काम सुरू गरेदेखि आजसम्म सबैभन्दा बढी माग तन्नाकै छ। तन्नामा धेरै आकार छ। त्यसमा डेढ सयभन्दा बढी डिजाइन छन्। बजारमा अझै पनि राम्रो कपडाको तन्ना नपाइने भएकाले पनि ग्राहकले कटन मिलका उत्पादन रूचाएको उनले बताइन्।
उनले भनिन्, 'मासिक कम्तीमा दुई हजार वटा तन्ना बिक्छ। मिलमा दैनिक सरदर ७० वटा तन्ना तयार हुन्छ।'
सुरूमा उनीहरूले बेबी–बेडिङको योजना भने बनाएका थिएनन्। उनी आफैंले छोरी जन्माएपछि खास्टोलगायत सामान चाहियो। त्यसपछि उनीहरूले बेबी–बेडिङ सुरू गरे। बजारमा यसको राम्रो माग भएको उनी बताउँछिन्।
कोरोना महामारीपछि कटन मिलको व्यवसाय बढेको छ। सबैभन्दा बढी माग काठमाडौं उपत्यकामै हो। पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज, हेटौंडा लगायतका सहरमा पनि कटन मिलले आफ्नो बजार बनाएको छ।
'हाम्रो उत्पादन सहरसँगै गाउँघरका ग्राहकहरूले पनि रूचाउनुभएको छ,' प्रशन्नाले भनिन्, 'कटन मिलको ८० प्रतिशत बजार काठमाडौं उपत्यका हो, बाँकी बाहिर।'
कटन मिलको उत्पादन अनलाइनमार्फत नै अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ। केही वर्षयता कटनका तन्ना, पर्दा र अन्य केही सामान विदेशी बजारले रूचाएको उनको भनाइ छ। खासगरी अमेरिका, युरोप र अस्ट्रेलियामा बस्ने नेपालीहरूबाट पनि माग आउँछ। उनीहरूले ती सामान प्रयोग गरेको फोटा पनि पठाउँछन्। यसले उनीहरूलाई कमीकमजोरी सुधार्दै अगाडि बढ्ने हौसला थप्छ।
विशेषगरी कटन वातावरणअनुकूल र टिकाउ हुने भएकाले देशभर यसको उत्पादन जतिसक्दो धेरै बिक्री गर्ने बस्नेत दिदीबहिनी सोच छ।
'अन्य कपडाको तुलनामा कटन केही महँगो हुन सक्छ। तर टिकाउ र सहजताका हिसाबले यो जति राम्रो केही हुँदैन। त्यसमाथि स्वदेशी उत्पादन हो,' प्रशन्ना भन्छिन्।
उनीहरूलाई कटनका लगाउने लुगाको पनि माग आउँछ। तर लुगा उनीहरूको प्राथमिकतामा छैन। उनीहरू तन्ना, सिरक, खास्टो, सिरानी-कुसनका खोल, टेबल कभरहरू लगायत घरायसी प्रयोजनका कपडालाई नै ब्रान्ड बनाइरहेका छन्।
उत्पादनमूलक उद्योगहरूमा धेरै किसिमका समस्या रहेको पनि प्रशन्ना बताउँछिन्। उनका अनुसार सरकारले यस्ता उद्योगलाई विशेष प्राथमिकतामा राख्नुपर्छ। यसो भयो भने रोजागारीको अवसर बढ्छ। स्वदेशी उत्पादनको प्रयोग पनि बढ्छ। त्यस्तै दक्ष जनशक्तिको अभाव पनि निकै ठूलो समस्याका रूपमा रहेको उनको अनुभव छ।
चुनौतीहरूलाई सामना गर्दै भए पनि युवाहरूलाई उद्यममा लाग्न उनी सुझाउँछिन्।
भन्छिन्, 'काम सुरू गर्न ढिलो नगर्नुस्। बजार बुझ्नुस् र उत्पादनमा लाग्नुस्।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
(कटन मिलको फेसबुक पेजका लागि यहाँ र वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८०१०३९५१५)
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)