इसाई धर्म परिवर्तन- ३
घोराही उपमहानगरपालिका–४, पारखेतका ७४ वर्षीय रामबहादुर नेपालीको यही कात्तिक ३० गते शुक्रबार निधन भयो।
परिवारले त्यसै दिन शव गाड्ने तयारी गरे। क्रिश्चियन धर्म अंगालेकाले 'मृत्युपछि शव गाडिदिनू' भन्ने रामबहादुरको इच्छा थियो।
माइला छोरा नयनका अनुसार ७४ वर्षको उमेरमा निधन भएका रामबहादुरले झन्डै १४ वर्षअघि क्रिश्चियन धर्म अंगालेका थिए। नयन र उनकी पत्नी भने हिन्दु धर्म नै मान्थे।
उनले बाबुको अन्तिम इच्छाअनुसार शव गाड्ने तयारी गरे। तर, स्थानीय स्तरमा शव गाड्ने ‘चिहान’ थिएन। हिन्दु धर्मअनुसारै अन्त्येष्टि गरिनुपर्छ भन्ने कुरा पनि उठ्यो। राति अबेरसम्म विवाद टुंगिएन। भोलिपल्ट पनि दिनभरि नै गाउँमा तनाव उत्पन्न भयो।
मृत्यु शोकमा डुबेको परिवारमा शव गाड्ने विवादले झन् पीडा थप्यो।
फरक धर्म अंगालेकै कारण गाउँलेहरूले शव गाड्ने जमिन नदिएको परिवारका सदस्यहरूको भनाइ छ। उनीहरूले गाउँकै सामुदायिक वनमा शव गाड्ने प्रयास गरे। वन उपभोक्ता समूहका सदस्यले दिएनन्।
त्यसपछि रामबहादुरको परिवार शव गाड्ने अनुमति माग्दै उपभोक्ता समितिका अध्यक्ष गोवर्द्धन थापा र स्थानीय सरकार गुहार्न पुग्यो।
शनिबारकै दिन सामुदायिक वनका पदाधिकारी र उपभोक्ताको बैठक बस्यो। बैठकले वनक्षेत्रमा गाड्न नदिने निर्णय गर्यो। शव गाड्दा पानीको मुहान प्रदूषित हुने उनीहरूको तर्क थियो।
विवाद चर्कंदै ठूलो रूप लिन सक्ने स्थिति बनेपछि प्रहरी परिचालन गर्नुपरेको थियो। प्रहरीले शव गाड्न खोज्ने र गाड्न नदिने दुवै पक्षको भावनाअनुरुप विवाद समाधानको उपाय सुझायो।
अन्ततः घरनजिकै बालिम खोलाको बगरमा रामबहादुरको शव गाड्ने सहमति भयो। मृत्युको २४ घन्टा बितेपछि शनिबार सूर्यास्त हुँदै गर्दा रामबहादुरको शव गाडियो।
केही वर्षयता स्थानीय स्तरमा धर्म परिवर्तनको क्रम बढेको छ। खासगरी विपन्न समुदायको बसोबास रहेका ठाउँमा विभिन्न संस्था र उपचारका नाममा गएकाहरूले धर्म परिवर्तनको प्रचार गर्ने गरेका छन्।
धर्म परिवर्तनको क्रम बढेपछि विधिविधान गर्दा कुन परम्परा अपनाउने भन्नेमा परिवारभित्रै र स्थानीय स्तरमा कलह देखिन थालेको छ। पारखेतको यो घटना त्यसैको एउटा उदाहरण हो।
धेरैजसोले उपचार निम्ति क्रिश्चियन धर्म अंगालेको बताउँछन्।
भीमबहादुर नेपालीले बिरामी हुँदा धामी, झाँक्रीलाई देखाउँदा पनि सन्चो नभएपछि धर्म परिवर्तन गरेका थिए।
‘म धेरै बिरामी थिएँ। कसैगरी पनि सन्चो नभएपछि एक जनाले क्रिश्चियन धर्ममा लागे ठिक हुन्छ भन्ने सल्लाह दिए,’ घोराही वडा नम्बर ४ का अध्यक्ष भीमबहादुरले भने, ‘नभन्दै सन्चो भयो। त्यसपछि विधिवत् रूपमा यो धर्म अंगालेँ।’
तत्कालीन नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित उनी मृतक रामबहादुरका साइलाबुवा हुन्। ५९ वर्षीय उनी १३ वर्षदेखि क्रिश्चियन धर्म मान्दै आएका छन्।
उनले रामबहादुरको शव गाड्ने अनुमति दिलाउन खुबै प्रयास गरेका थिए। उनले वडाध्यक्षका हैसियतमा गाउँलेहरूलाई मनाउन दुई दिनसम्म सहजीकरण गर्न खोजे। तै सफल भएनन्।
‘यसअघि गाउँलेले मेरो यतिविधि चर्को विरोध कहिल्यै गरेका थिएनन्,’ उनले भने, ‘शव गाड्ने विषयमा गाउँकै भद्र भलाद्मीसमेत विवादमा ओर्लेको देखेर आश्चर्यमा परेको छु।’
ठूलै झगडा होला भन्ने डरले प्रहरी डाक्नुपरेको उनले बताए।
पारखेत गाउँमा सार्वजनिक जग्गाको अभाव नभए पनि क्रिश्चियन धर्मावलम्बीलाई चार हात जग्गा दिन नमान्दा मुठभेडकै स्थिति सिर्जना भएको उनको भनाइ छ।
घोराही उपमहानगर–४ अन्तर्गत तारीकिने, सुनपुर, पारखेत, वनखेत लगायत गाउँका दर्जनौं घरपरिवार पछिल्लो समय क्रिश्चियन धर्ममा लागेका छन्। उनीहरू स्थानीय रामपुर र गोग्लीको चर्चमा जम्मा भएर प्रार्थना गर्छन्।
वडाध्यक्ष भीमबहादुरका अनुसार सबैभन्दा धेरै थारू समुदायका मानिस धर्म परिवर्तन गरि क्रिश्चियन बनेका छन्। दलित र जनजाति समुदायमा क्रिश्चियन धर्मप्रति आकर्षण बढेको छ। बाहुन–क्षत्री पनि क्रमशः आकर्षित हुँदै गएको उनले दाबी गरे।
धर्म परिवर्तनले समाजभित्र कलह भने जन्माउन थालेको छ। मृत्युपछि अन्त्येष्टि गर्दा कुन धर्मपद्धति अपनाउने भन्नेमा समाज बाँडिने गरेको भीमबहादुरले बताए।
हिन्दु धर्मावलम्बीको बाहुल्य रहेको गाउँमा क्रिश्चियनहरूलाई शव गाड्ने चिहानको व्यवस्था नहुँदा समस्या झेल्नुपरेको उनको भनाइ छ। ‘शव गाड्ने जमिन उपलब्ध गराइदिन आग्रह गर्दा ‘आफ्नै आँगनमा लगेर गाड्’ भन्ने कटुवचन सुन्नुपर्छ,’ उनले भने।
यो पनि हेर्नुहोस्