इसाई धर्म विस्तार- २
बुटवल उपमहानगरपालिका–११, देवीनगर बस्दै आएका जीतेन्द्र थापा २०७३ असार ६ गते अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा मारिए।
२०५० सालमा बिहे गरेका जीतेन्द्रका एक श्रीमती गौमती र दुई सन्तान पहिल्यै थिए। जेठी श्रीमतीसँगको असमझदारीपछि उनले काठमाडौंमा सविता लामासँग दोस्रो बिहे गरेका थिए। दोस्रो पत्नीबाट अर्को सन्तान पनि जन्मेको थियो।
काबुल घटनाको तेस्रो दिन जीतेन्द्रको शव बुटवल ल्याइयो। त्यसपछि सुरु भयो उनको अन्त्येष्टि हिन्दु वा इसाईमध्ये कुन धार्मिक परम्पराअनुसार गर्ने भन्ने विवाद।
विवाद हुनुको कारण उनका दुई श्रीमती अलगअलग धर्म मान्थे। जेठी श्रीमती र दुई छोरा इसाई धर्मावलम्बी थिए। कान्छी श्रीमती हिन्दू। दुवैले आफ्नै धार्मिक विधानअनुसार अन्त्येष्टि गर्न चाहे।
कान्छी श्रीमती सञ्चिताका अनुसार जीतेन्द्रले हिन्दू धर्म मान्दै आएको र धर्म परिवर्तनकै विषयमा मतान्तर भएपछि जेठी छाडेर दोस्रो बिहे गरेका थिए। आफूहरूको बिहे र चार महिनाअघि छोराको न्वारन हिन्दू संस्कारअनुसार गरेको उनले दाबी गरेकी थिइन्।
यही अन्यौलबीच स्थानीय प्रशासनको समन्वयमा जेठी श्रीमती र छोराहरूको चाहनाअनुसार इसाई परम्पराअनुसारै अन्त्येष्टि गर्ने तय भयो।
सञ्चिता पनि जीतेन्द्रसँग बिहेका फोटोबाहेक अरू प्रमाण केही नभएकाले प्रशासनको निर्णय मान्न तयार भइन्।
यो एउटा उदाहरण मात्र हो। केही वर्षयता विपन्न समुदायको घना बस्ती रहेको क्षेत्र, सुकुम्बासी बस्ती र दलित समुदायको बस्तीमा धर्म परिवर्तन क्रम बढेको छ। विभिन्न संस्था र उपचारका नाममा गएकाहरूले धर्म परिवर्तनका लागि प्रचार गर्ने गरेको प्रहरीले जनाएको छ। धर्म परिवर्तनको क्रम बढेपछि विधिविधान गर्दा कुन परम्परा अपनाउने भन्नेमा परिवारभित्रै कलह हुन थालेका छन्।
धर्म परिवर्तनको यस्तै घटना छ वर्षअघि पनि सार्वजनिक भएको थियो।
रुपन्देहीको तत्कालीन मधवलीया गाविस (हालको तिलोत्तमा नगरपालिका–१५), कोटिहवास्थित अविनाश अनाथाश्रमका बालबालिकालाई आश्रमकै सञ्चालकले यौनशोषण गरेको घटना सार्वजनिक भयो।
आश्रमका सञ्चालक प्रहरी नियन्त्रणमा परेपछि त्यहाँका बालबालिकाको बिचल्ली हुन नदिन स्थानीय समुदायले व्यवस्थापन समिति गठन गर्यो। त्यसलगत्तै बालबालिकालाई प्राप्त हुँदै आएको सहयोग मात्र रोकिएन, त्यहाँभित्रको धर्म परिवर्तनको तथ्य पनि खुल्यो।
उक्त आश्रमलाई आर्थिक सहयोग गर्दै आएको मिसन इस्ट नामक संस्थाले नयाँ व्यवस्थापन समिति गठनपछि ‘दैनिक रूपमा येशू प्रार्थना गर्ने सुनिश्चित नभएसम्म आर्थिक सहयोग नदिने’ आशयको पत्र पठाएको थियो।
स्थानीयले त्यस्तो सर्तमा सहयोग नलिने अडान लिए। सहयोगका नाममा केटाकेटीको धर्म परिवर्तन गराउनुभन्दा स्थानीय स्रोत जुटाएर पनि बिचल्ली हुन नदिने उनीहरूले घोषणा गरे।
अहिले आश्रममा १५ बालबालिका छन्। सबै निजी स्कुलमा पढ्छन्।
धर्म परिवर्तनको क्रम यतिमै रोकिएको छैन।
केही दिनअघि बुटवल उपमहानगरपालिका–१४, पदमपुरमा धर्म परिवर्तनका लागि स्थानीयको घरघर पुगेर प्रलोभन दिँदै गरेका चार जनालाई बुटवल प्रहरीले स्थानीयकै सहयोगमा नियन्त्रणमा लियो।
उक्त कार्यमा संलग्न दुई जना जापानी महिला ४९ वर्षीया यासुको ओवा र ४४ वर्षीया मकिहिकुला तथा तिलोत्तमा नगरपालिका–५ की २५ वर्षीया पुष्पा घिमिरे र बुटवल सुख्खानगर बस्दै आएकी ३५ वर्षीया तीर्थमाया घले थिए।
सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउँदै हिँड्ने ती जापानी महिलालाई जापान फिर्ता पठाइएको छ। नेपाली महिलाहरू भने हिरासतमै छन्। अहिले उनीहरूविरुद्ध मुद्दा चलिरहेको छ।
इसाई धर्म विस्तार- १
हजुरबाले दसैं टीका लगाइदिँदै भन्नुभयो- प्रभु येशुले तेरो सधैँ रक्षा गर्नेछन्
बहुसंख्यक हिन्दू बस्ती रहेको बुटवलमा सय वर्ष नाघेका ५० भन्दा बढी मन्दिर र एउटा मस्जिद रहे पनि चर्च बन्न थालेको धेरै भएको छैन। मन्दिरहरू पछिल्लो समय भत्किने र मासिँदै जान थालेका छन्। चर्चहरू हरेक वर्ष थपिने क्रम बढेको छ। अधिकांश चर्च विपन्न, दलित तथा सुकुम्बासी बस्तीमै बन्ने गरेका छन्।
बुटवलमा मात्र अहिले ४२ वटा चर्च छन्। सबभन्दा धेरै वडा नम्बर ११ मा १४ वटा चर्च रहेको विगत २८ वर्षदेखि इसाई धर्म मान्दै आएका चित्रबहादुर गुरुङले जानकारी दिए। तिनाउ नदी वारि र पारि रहेको वडा नं. ११ मा अधिकांश सुकुम्बासी बस्ती छ।
विपन्न समुदायलाई आर्थिक प्रलोभन र उपचारका नाममा धर्म पराउने गराउने गरेको पाइन्छ।
गुरुङले झन्डै ६० वर्षअघि बुटवल बहुमुखी क्याम्पसस्थित ज्योति पथबाट इसाई धर्म अँगाल्ने प्रचलन सुरु भएको बताए। बुटवलमा करिब ४ हजार व्यक्तिले इसाई धर्म मान्दै आएको उनले दाबी गरे। ज्योति पथमा मात्र करिब ३ सय जना इसाई रहेको उनले बताए।