प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायु सेवा निगमले वाइड बडी जहाज खरिदबारे छानबिन गर्न उपसमिति बनाएको छ। जहाज खरिदबारे छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमिति बनाएको हो।
कांग्रेस सांसद प्रकाशमान सिंह संयोजक रहेको उपसमितिमा नेकपाका सांसद नारदमुनि राना र संघीय समाजवादी फोरमकी सांसद रेनुका गुरूङ सदस्य छन्। उपसमितिले छानबिन गरी एक महिनाभित्र प्रतिवेदन दिनेछ।
उपसमितिले जहाज खरिद प्रक्रियादेखि बजारीकरणसम्मका विषयमा छानबिन गरी समितिमा प्रतिवेदन बुझाउने छ।
वाइड बडी जहाज आएपछि दैनिक १ करोड रूपैयाँ घाटामा गएको र सरकारसँग अनुदान माग गरेको निगमको उडान र व्यवस्थापनबारे समेत उपसमितिले छानबिन गर्ने छ।
समिति सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपसमितिले गहिराइमा पुगेर छानबिन गरी र सत्यतथ्य बाहिर ल्याउनु पर्ने बताए। अनियमितताको आशंका बढेकोलाई समितिमार्फत् जनतालाई प्रष्ट पार्न पार्ने उपसमिति बनाइएको उनको भनाइ छ।
यसअघि समितिको छलफलमा उपस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दुई वटा एयरबस ए ३३० जहाजको स्वामित्व निगममै रहेको बताएका थिए।
ती जहाज किनेर ल्याएको र तिनको स्वामित्व पनि निगमसँगै भएको अधिकारीले दाबी गरेका थिए।
कानूनअनुसारको खरिद प्रक्रिया पूरा गरी जहाज ल्याएको र अहिले व्याजसायिक उडानमा रहेको उनको जिकिर थियो।
निगमले पहिलो वाइड बडी जहाज असार १४ गते र दोस्रो जहाज साउन १० गते ल्याएको थियो।
यो पनि हेर्नुहोस्