आइतबार अपरान्ह सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीश सिफारिश चोलेन्द्र शमशेर जबराको सुनुवाइ चल्दै थियो। दिउँसो २ बजे सुरू भएको सुनवाइमा समिति सदस्य सांसदहरूले न्यायाधीश जबरालाई प्रश्न सोधिरहेका थिए।
दुई जना सांसद बोल्न बाँकी छँदै घडीमा ४ बज्यो। घडी हेरिरहेका संसदका कर्मचारी जर्याकजुर्युक उठे र फाइल बोकेर हिँडे। यद्यपी महासचिव लगायत पदाधिकारी भने पूर्ववत: रूपमै बसिरहेका थिए।
१० देखि ४ बजेसम्म भन्दा बढी काम गर्दा अतिरिक्त पारिश्रमिक पाउनु पर्ने माग राख्दै आन्दोलित कर्मचारीले जबराको सुनुवाइमा पनि निरन्तरता दिएका हुन्।
कर्मचारी उठेपछि सभापति लक्ष्मणलाल कर्णले जबराको सुनुवाइ सोमबार ११ बजे राख्ने प्रस्ताव गरे।
समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरूल पुस १६ गते आफूहरू राष्ट्रिय मेलमिलाप दिवसमा सहभागी हुनुपर्ने बताएपछि सुनुवाइ मंगलबार ११ बजेका लागि सरेको छ।
कर्मचारीको आन्दोलनले यसअघि संसद र समितिका बैठकहरू पनि प्रभावित हुँदै आएका थिए।
यो पनि पढ्नुस् :