चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गराउन खोज्दा संसदीय प्रक्रिया मिचिएको भन्दै सत्तापक्ष र प्रतिपक्ष आरोप-प्रत्यारोपमा ओर्लिएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको वेल घेराउ गरिएका बेला पनि सभामुख कृष्णबहादुर महराले संसद सञ्चालन गर्नुलाई प्रक्रिया मिचिएको रूपमा अर्थ्याएको छ।
सामान्यतया संसदमा प्रमुख प्रतिपक्षी दल उभिएको अवस्थालाई अवरोधका रूपमा व्याख्या गरिन्छ। सभामुख महराले सोमबार प्रतिपक्षी उभिएकै अवस्थालाई अवरोध भनेका थिए। मंगलबार भने कांग्रेसले वेल घेराउ गर्दा पनि उनले अवरोध मानेनन्। बरू चिकित्सा शिक्षा विधेयक अगाडि बढाउँदै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेस गर्न रोष्ट्रममा डाके।
यसरी सभामुखले प्रतिपक्षद्वारा गरिएको वेल घेराउलाई मान्यता नदिएकोमा कांग्रेस रुष्ट छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने 'अल्पमतले बहुमतलाई बन्धक बनाएको' दाबी गरेको छ। प्रधानमन्त्री नै नेपालमा नभएका बेला मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने अडान राखेर कांग्रेसले असंसदीय माग राख्दै संसद बन्धक बनाएको नेकपाका प्रमुख सचेतक देव गुरुङले आरोप लगाएका छन्।
कांग्रेसले संसदको वेल घेराउ गर्ने क्रममा सभामुख र सरकारको निर्देशनमा मर्यादापालकले बीचमै रोक्न खोजेकोमा पनि आपत्ति जनाएको छ। मर्यादापालकहरूको जिम्मेवारी सभामुखको रक्षा गर्ने मात्र हुने भन्दै कांग्रेसले 'वेलको बीचमै आएर रोक्नु संसदीय मर्यादाविपरीत' भनेको छ।
कांग्रेस सांसद मिनेन्द्र रिजालले संसद बैठकमै चिच्याउँदै ‘सभामुखको आदेश हो कि गृहमन्त्रीको, मर्यादापालक कहाँसम्म आउने हो? सभामुखले पदको मर्यादा राख्नुपर्छ’ भनेका थिए।
नेकपाले भने मन्त्रीलाई संसद बैठकमा कुइनोले घचेट्नुलाई मर्यादाविपरीत भनेको छ। नेकपा सांसद खगराज अधिकारीले संसद बैठकमा मन्त्रीलाई कसैले छुन नमिल्ने बताए।
कांग्रेस सांसदहरूले सभामुखलाई मुख छाड्नेसम्म काम गरेको नेकपाको आरोप छ। सभामुखलाई ‘ओइ तल आइज’ भनेर कांग्रेस सांसदहरूले भने,' नेकपाका एक सांसदले आरोप लगाए, ‘कांग्रेसले संसदीय मूल्यमान्यता मान्दैन भन्ने देखियो।'
कांग्रेसले भने सभामुखले संसद बैठक नै सत्तापक्षको इसारामा चलाएको आरोप लगायो। सत्तापक्षका नेताको एसएमएसबाट संसद बैठक प्रभावित हुन थालेको उसको भनाइ छ।
संसद बैठकपछि कांग्रेस सांसद गगन थापाले संसद सचिवालयका कर्मचारीमार्फत् एमएमएसमा कुरा भएको उल्लेख गरेका हुन्। सभामुखले दलप्रति रुझान राखेर व्यवहार गरेको उनको आरोप छ।
नेकपाले भने सभामुखलाई आफ्नो चेम्बरबाट बैठक कक्षसम्म आउने बाटो छेक्नुलाई नै संसदीय प्रक्रियाविपरीत भनेको छ। संसदीय इतिहासमै पहिलोपटक सभामुखको कार्यकक्षअगाडि धर्ना दिने काम नेपाली कांग्रेसले गरेको हो। कांग्रेसले सभामुख प्रवेश गर्ने संसद बैठकको ढोकाअगाडि पनि अवरोध गरेको थियो। यसलाई नेकपाले 'गैरसंवैधानिक' भनेको छ।
नेपाली कांग्रेसले भने आफूहरू अवरोधमा ओर्लिएपछि नेकपा सांसदहरूले मन्त्रीलाई रोष्ट्रममा लैजान खोज्नु नै गलत भनेको छ। कांग्रेस सांसद गगन थापाले सत्तापक्षका सांसदहरू बसेको ठाउँबाट उठ्दा ‘हाउस डिसअर्डर’ हुने उल्लेख गर्दै त्यस्तो अवस्थामा कसरी संसद चल्यो भन्दै प्रश्न गरेका छन्।
नेकपाले भने प्रतिक्रियास्वरुप उभिएको जवाफ दिएको छ।
सभामुखले संसदमा जबर्जस्ती बैठक अघि बढाएकोमा माफी माग्नुपर्ने धारणा कांग्रेसले राखेको छ। सत्तापक्षले भने आफूहरूसँग सल्लाह नगरी सभामुखले मंगलबारको बैठक स्थगित गरेको आरोप लगाएको छ।
यी पनि हेर्नुहोस्: