प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक रोस्ट्रमबाट नै प्रस्तुत हुने बताएका छन्।
बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख महराले विधेयक संसदीय प्रक्रियाअनुसार नै टुंग्याइने बताएका हुन्।
‘चिकित्सा शिक्षा विधेयक प्रक्रियाअनुसार नै टुंग्याउनु पर्छ,’ सभामुख महराले भने, ‘के हुन्छ भन्नेकुरा भोलि नै थाहा हुन्छ।’
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विद्येक संसद प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको थियो। आफ्ना दुई पूर्वसभापतिका नाममा अस्पतालबारे कांग्रेसले संसद अवरोध गरिरहेको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले शुक्रवारको बैठक पनि कांग्रेसले अवरोध गरे कुर्सीबाटै विधेयक पेश गर्ने चेतावनी दिएका थिए।
चिकित्सा शिक्षा सुधारका लागि १६ औं पटक आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीको अनसनलाई सम्बोधन नगरी किन हतारमा विधेयक ल्याएको भन्ने पत्रकारको प्रश्नमा सभामुख महराले भने, ‘यो सरकारले सोच्ने कुरा हो। प्रतिपक्षीलाई चित्त बुझाएर विधेयक आउनुपर्छ। म आशावादी छु।’
चिकित्सा शिक्षा विधेयक प्रक्रियामा गइसकेको हुनाले विधेयक पास गर्न राम्रो हुने सभामुख महराले बताए।
‘अस्पताल र विधेयक विषय फरक हुन्। अस्पतालको विषय सरकारको कुरा हो,’ कांग्रेसले संसद अवरुद्ध गरेको प्रसंगमा सभामुख महराले भने।
नेपाली कांग्रेसले लामो संसदीय अभ्यास गरेको हुनाले संसदीय मर्यादा भुल्न नहुने सभामुख महराको भनाइ छ।
सरकार र प्रतिपक्षी दल कांग्रेससँग पनि विधेयकबारे छलफल भइरहे पनि निष्कर्षमा नपुगेको उनले बताए।
सभामुख महराले कांग्रेस सांसदको माग अनुसार आफूले माफी नमाग्ने बताए। मंगलबारको बैठकमा सभामुखले संसदीय परम्परा, विधि र मर्यादा लत्याएर सरकारको निर्देशनमा मर्यादापालकहरूलाई सांसदविरुद्ध प्रयोग गरेको आरोप कांग्रेसले लगाएको थियो। बैठकपछि कांग्रेस सांसद गगन थापाले ‘एउटा दलप्रति रुझान राखेर व्यवहार गरेको’ आरोप सभामुख माथि लगाएका थिए। उनले सभामुखले मन्त्रीलाई बैठक अघि नै रोष्टममा लैजानेसम्मको काम गरिएको भन्दै आपत्ती जनाउँदै सभामुखले चित्त बुझ्ने गरि माफी माग्नुपर्ने अडान राखेका थिए।
‘प्रतिपक्षी सांसद उठिरहेका बेला जबर्जस्ती संसद बैठक चलाउने प्रयत्न गरियो। सदनमा पहिलोपटक होला, प्रतिपक्षले वेल घेराउ गर्दागर्दै सरकारको विजनेश अगाडि बढाउन सत्तापक्षका सांसदहरू सहभागी भए', थापाले भनेका थिए, '‘सरकारले जबर्जस्ती विधेयक पारित गराउन खोज्दा पार्टीको कार्यकर्ताजस्तो भएर सदन चलाउने प्रपञ्चमा सभामुख आफैं संलग्न हुने? ‘सभामुखले ११ गते बैठक राख्ने भन्नुभएको छ। त्यसअघि कांग्रेससँग बसेर हाम्रो चित्त बुझ्ने गरी क्षमायाचना गर्ने, आजको गल्ती स्वीकार्ने र आइन्दा यस्तो गल्ती नगर्ने सुनिश्चितता नगरेसम्म अब सदनको कारबाही सभामुखले चाहेर पनि अघि बढाउन सक्नुहुन्न।'
तर सभामुख महराले भने बैठक बस्न २४ घण्टा भन्दा कम समय बाँकी रहँदा समेत माफी माग्नुपर्ने कुनै कारण नभएको बताए।
‘मैले माफी माग्नु पर्ने कुनै कारण छैन,’ महराले भने।
सभामुख महरा माथि प्रतिपक्षले अपशब्द प्रयोग गरेको आरोप सत्तापक्षले लगाएँदै आएको छ। सत्तापक्षका सांसदहरुले सभामुखले प्रतिपक्षका सांसदलाई कारवाही गर्नुपर्ने माग समेत राख्दै आएका छन्। तर महराले भने आफूले कुनै अपशब्द नसुनेको भन्दै खण्डन गरेका छन्।
‘उहाँहरूले बोलेको कुरा मैले सुनेको छैन', महराले भने, 'सांसदहरु मर्यादित भएर संसदीय अभ्यासमा लाग्नुपर्छ भन्ने मेरो धारणा हो।'
सम्बन्धित समाचार
संसदमा सत्तापक्ष-प्रतिपक्ष कुइनो ठेलाठेल