निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खाडी राष्ट्र कतारले इच्छा देखाएपछि नेपालले छलफल अघि बढाएको छ। कतारको प्रस्ताव आएपछि नेपाल सरकारले पनि विमानस्थलको विस्तृत विवरण कतारलाई पठाएको हो।
विमानस्थल परियोजनाबारे सबै विवरण समेटेर कतारस्थित नेपाली राजदूतावासमार्फत् कतार सरकारलाई प्रस्ताव पठाइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बद्ध उच्च स्रोतले सेतोपाटीलाई जानकारी दियो।
कतारले निजगढ विमानस्थल बनाउन राखेको प्रस्तावमा थप छलफल गर्न कुटनीतिक प्रक्रिया थालिएको हो।
सरकारले विमानस्थलमा अहिलेसम्म भएका प्रगति, अहिलेको अवस्था, नेपाल सरकारले चाहेको संरचना, निर्माण तथा संचालन मोडालिटी समेटिएको अवधारणापत्र कतार सरकारलाई पठाइएको स्रोतले जानकारी दियो।
‘हामीले हाम्रो आधिकारिक धारणा समेटेर कतार सरकारलाई पठाएका छौं। यसपछि छलफलबाट मोटामोटी सहमति भएपछि हामी मन्त्रिपरिषाबट निर्णय गरेर ‘जी टु जी’ प्रणालीबाट सम्झौता प्रक्रिया अघि बढाउछौं,’ स्रोतले भन्यो।
गत कात्तिकमा भएको राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा कतारले निजगढ विमानस्थल बनाउने इच्छा देखाएको थियो।
त्यसपछि नेपाल र कतारका सरकारबीच लगानी, मोडालिटी र सञ्चालनका विषयमा दुई/तीन पटक छलफल भइसकेको स्रोतले जानकारी दियो।
कतारले सुरूमा इपिसिएफ (इन्जिनियरिङ प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन, फाइनान्सिङ) मोडालिटीमा विमानस्थल बनाउन प्रस्ताव गरेको थियो।
नेपाल सरकारले उक्त विमानस्थल बुट (निर्माण, स्वामित्व, सञ्चालन, हस्तान्तरण) मोडलमा निर्माण गर्ने निर्णय गरिसकेकाले कतारलाई सोही मोडलमा विमानस्थल बनाउन प्रस्ताव गरेको छ। यो पटक कतार सरकारलाई पठाइएको अवधारणापत्रमा यी कुरा समेटिएको छ।
‘हामी निर्माण मोडलबारे सहमतिनजिक पुगेका छौं,’ स्रोतले भन्यो, ‘राजनीतिक तहबाट मोडल टुंगो लागेमा प्राविधिक अध्ययन गर्नुपर्नेछ।’
कतारले विमानस्थल बनाउने टुंगो भएपछि यो परियोजनाबारे थप कुरा सरकार–सरकारबीचको सम्झौताबाट निर्धारण हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालले सरकारले अब ठूला आयोजनाहरू टेन्डर नगरी सिधै सरकारसँग नेगोशिएसन गरी निर्माण जिम्मा दिने बताएका थिए।
नेपालको वायु सेवा क्षेत्रमा सहकार्य गर्न कतारले यसअघि पनि प्रस्ताव गरेको थियो। नेपाल वायु सेवा निगमलाई कम्पनी मोडलमा लैजाने सरकारी निर्णयपछि कतार एयरवेजले आफू साझेदार बन्न इच्छुक रहेको बताएको थियो।
सन् २०१७ जुनमा साउदी बहराइन, इजिप्ट र युएईले नाकाबन्दी लगाएपछि कतारले पछिल्लो समय टाढाका मित्र राष्ट्रसँग सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेको छ।
केही समयअघि कतार एयरवेजले चाइना साउदर्न एयरलाइन्सको ५ प्रतिशत सेयर किनेको थियो।
२०५१ सालमा पहिलो पटक सम्भाव्यता अध्ययन भएको निजगढ विमानस्थलको अहिलेसम्म वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएको छ। निर्माण मोडालिटी टुंगो लागेको छ। ग्राउन्ड क्लियरेन्सका लागि मुआब्जा वितरण भइरहेको छ। चार किल्ला तोकिएको छ। निर्माणस्थलमा रहेको टांगिया बस्तीको व्यवस्थापनको मोडालिटी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ।
यसअघि कोरियन कम्पनी ल्याण्डमार्कले गरेको विस्तृत सम्भाव्यता अध्ययनले पहिलो चरणको विमानस्थल बनाउन ९१ अर्ब रूपैयाँ लाग्ने देखाएको थियो।
यो पनि,
निजगढ विमानस्थल बनाउन कतार इच्छुक