सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीसँग चार कम्पनी सेना रहेको बताएका थिए।
आइतबार राजधानीमा बम विस्फोट हुँदा चार जनाको मृत्यु र आधा दर्जन बढी विप्लव कार्यकर्ता घाइते भएको घटनाबारे जवाफ दिँदै गृहमन्त्री थापाले विप्लवसँग सेना रहेको बताएका थिए।
उनले भनेका थिए, ‘विप्लव माओवादीसँग चार वटा कम्पनी जनसेना छन्।’
संसदमै गृहमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि त्यसको सत्यता के हो भन्ने चासोको विषय बनेको छ।
सरकारका चार वटा सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विप्लवको कम्पनी सैन्य संरचनाबारे औपचारिक पुष्टि गरेका छैनन्।
विप्लव माओवादीमाथि तीव्र कारबाही गरिरहेको नेपाल प्रहरीले विप्लव माओवादीसँग रहेका भनिएका सेनाबारे प्रतिक्रिया दिन मानेन।
‘हामीलाई त्यसबारे केही जानकारी भएन,’ प्रहरी प्रवक्ता विश्वराज पोखरेलले भने।
के हो कम्पनी सेना ?
माओवादी जनयुद्धकै शैलीमा विप्लव माओवादीले सैन्य संरचना निर्माण गरेको सुरक्षा स्रोत बताउँछन्। विभिन्न स्रोतहरूका अनुसार विप्लव समूहले निर्माण गरेको एक कम्पनी सेनामा १ सय ५० जनाको जत्था छ।
त्यसमा पाँच सदस्यीय ‘हेडक्वाटर’ छुट्टै हुन्छ। कम्पनी भाइस कमाण्डर, कम्पनी कमाण्डर र तीन जना प्लाटुन कमाण्डरले एउटा कम्पनी चलाएका हुन्छन्।
एउटा कम्पनीमा नौ वटा सेक्सन हुन्छन्। हरेक सेक्सनमा ९, ११, १३, १५ र १६ जनासम्म हुन्छन्।
‘एउटामा डेढ सयको हिसाबले संख्यात्मक रूपमा विप्लवसँग चार कम्पनीमा ६ सय सेना रहेको बुझिन्छ,’ उच्च सुरक्षा स्रोतले सेतोपाटीसँग भन्यो।
गृहमन्त्री थापाले केन्द्रीय सुरक्षा समितिमा प्राप्त केही सूचनाका आधारमा विप्लव समूहसँग चार कम्पनी सेना रहेको बताएको स्रोतले उल्लेख गरेको छ। तर, कुन जिल्लामा कति सेना छन् भन्ने यकिन आँकलन भने गृहसँग पनि छैन।
रक्षा मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषदबाट यो तथ्यांक गृहमा नगएको बतायो।
‘परिषदको बैठक नबसेको थुप्रै भइसकेको छ, गृहमन्त्रीले संसदमा भनेको त्यो तथ्यांक अन्यत्रैबाट गएको हुन सक्छ,’ ती अधिकारीले भने।
रक्षाका एक अधिकारीका अनुसार गृहमन्त्रीको पृष्ठभूमि माओवादी र युद्धसँग जोडिएको हुनाले उनी आफैंले विभिन्न स्रोतबाट त्यो सूचना पाएका पनि हुन सक्छन्। केन्द्रीय सुरक्षा समितिमा भएको ‘ब्रिफिङ’का आधारमा थापाले यसो भनेका हुन सक्छन्। गृह उच्च स्रोतले भने यसबारे बताउन चाहेन।
नेपाली सेनाले विप्लव समूहले सैन्य संरचना निर्माण गरेको बताएको छ। तर, त्यसको ढाँचा र संख्यात्मक गणना भने गर्न नसकिने जंगी अड्डा स्रोतले जनायो।
‘विप्लव समूहसँग सैन्य संरचना रहेको घटनाक्रमहरूबाट देखिन्छ, तर यो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले भन्न मिल्दैन,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने।
स्रोतका अनुसार केही पूर्वमाओवादी लडाकु र बहिर्गमित केही लडाकुबाहेक विप्लवसँग तालिमप्राप्त सेना खासै छैनन्। विप्लव माओवादीले जनयुद्धकै अनुभवका आधारमा सैन्य दस्ता निर्माण गर्न खोजेको देखिन्छ। अहिले विप्लवसँग कम्पनी, प्लाटुन र स्कवाड (गुरिल्ला) छन्।
‘यसको काम फौजी एक्सन गर्ने हो। बम बिस्फोट गर्ने, भिडन्त गर्ने र विकेन्द्रित ढंगले (छापामार शैली) आक्रमण गरेर भाग्ने हो,’ तत्कालीन माओवादी सेनाका एक कमाण्डर भन्छन्, ‘यसले बढी छापामार गतिविधि गर्छ।’
उनका अनुसार युद्धको प्रारम्भमा प्रचण्ड माओवादीले पनि यस्तै गतिविधि गरेको थियो।
‘सहर बजारमा कम्पनी चल्दैन। सहरमा गतिविधि गर्दा स-सानो युनिटहरू बनाइएका हुन्छ, अहिले बम बिस्फोटका घटनामा दुईदेखि तीन जनाको संलग्नता देखिन्छ,’ उनले भने।
विप्लव माओवादीको सेक्सन स्तरको र गुरिल्ला दस्ता भने जिल्लाहरूमा सक्रिय रहेको बताइन्छ।
‘अहिले जुन किसिमले सेना बनाइएको छ र विस्तार गर्ने योजना छन्, त्यसलाई कमजोर ठानिन हुँदैन,’ सैनिक स्रोतले भन्यो, ‘माओवादीका कतिपय नेता पक्राउ परे पनि उसका गतिविधि रोकिएको देखिँदैन, वार्तामा आउन चाहेको पनि देखिँदैन।’
सशस्त्र युद्धताका तत्कालीन माओवादीको सैन्य संरचनाको शीर्ष नेतृत्वमा सर्वोच्च कमाण्डर थिए। प्रचण्डलाई सर्वोच्च कमाण्डर भनिन्थ्यो। त्यसमूनि कमिसार, जनमुक्ति सेना कमाण्डर, डिभिजन कमाण्डर, ब्रिगेड र बटालियन थिए। डिभिजन, ब्रिगेड र बटालियनको संख्या भने यकिन थिएन।
जनमुक्ति सेना माओवादीको सैन्य बलको प्रमुख आधार थियो। शान्ति वार्तामा आउनुपूर्व माओवादीसँग खप्पीस लडाकु भने कम नै थिए। मिलिसिया र स्क्वाड बढी थिए। मिलिसिया र स्क्वाड कमजोर हातहतियार बोक्थे, यिनीहरूले छापामार तालिम पूरा पाएका थिएनन्।
विप्लवले पनि आफूसँग सेना रहेको विज्ञप्तिमार्फत खुलाएका थिए। विप्लव माओवादीसँग आधुनिक हतियारहरू फेला परिसकेका पनि छन्। प्रहरीले धरानबाट एम–१६ राइफलसहित एक जना र कपिलवस्तुबाट दुई वटा एसएमजी राइफलसहित एक जनालाई पक्राउ गरेको थियो। दुबैलाई हातहतियार तथा संगठित अपराध मुद्दा चलाइएको छ।
यो पनि :
संसदमा गृहमन्त्रीले भने : विप्लवका चार कम्पनी जनसेना छन्