राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीमा नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको भिडन्तमा नमारिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
आयोग सदस्य सुदीप पाठक नेतृत्वमा सर्लाही गएको टोलीले सर्लाहीमा दोहोरो भिडन्त पुष्टि गर्न नसकिएको बताएको हो।
सदस्य पाठकले सर्लाहीमा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भिडन्त भएको पुष्टि गर्न आफूहरूलाई गाह्रो भएको सेतोपाटीलाई बताए।
‘सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त भएको भन्न सकिने अवस्था पुष्टि गर्न गाह्रो छ,’ सर्लाहीबाट मंगलबार फर्केपछि सदस्य पाठकले भने, ‘यसमा हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानको रिपोर्ट भोलिसम्म आउने भएकाले अहिलेलाई यति भन्न सकिन्छ।’
उनले सर्लाहीमा मारिएका विप्लवका जिल्ला इञ्चार्ज पौडेलको शरीर कस्तो थियो, कस्ता दाग थिए, थिएनन् भन्नेबारे फोटो मागेको र घटनामा फरार भनिएका तीन जना मान्छे कहाँ छन् भन्नेबारे अनुसन्धान जारी रहेको बताए।
‘सर्लाही र सिन्धुली जिल्लाको सिमानामा बस्तीभन्दा अलि पर घटना भएको देखिन्छ, यो घटना के हो भन्ने विषयमा मानवअधिकार आयोगले गम्भीरतापूर्वक लिएकैले त्यसमा उत्पन्न शंकाबारे अनुसन्धान थालिएको हो,’ उनले भने, ‘गोली कति वटा लागेको हो, सबै कुराबाट हेर्दा पोष्टमार्टम रिपोर्ट पनि कुर्नुपर्ने भएकाले त्यो मागेका छौं। यसमा फरेन्सिक विज्ञबाट अनुसन्धान पनि जरुरी देखिएकाले त्यताबाट पनि घटनाको विस्तृत बुझिरहेका छौं।’
गत असार ५ गते सर्लाहीको लालबन्दीमा प्रहरीको गोली लागेर पौडेल मारिएका थिए। प्रहरीले भीडन्तका क्रममा पौडेल मारिएको दाबी गरेको छ।
त्यसक्रममा पौडेलसँगै रहेका अन्य तीन जना गोली चल्दाचल्दै फरार भएको प्रहरी बताउँछ। तर, ती को थिए अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन।
दोहोरो मुठभेड नै भएको भनिए पनि घटनामा कुन पक्षबाट कति राउन्ड गोली चल्यो प्रहरीले यकिन गर्न सकेको छैन। प्रहरी आफैंले के कति गोली चलायो भन्ने पनि स्पष्ट हुन सकेको छैन।
‘दोहोरो मुठभेडमै पौडेलको मृत्यु भएको हो, कसबाट कति गोली चल्यो त्यो अनुसन्धानकै क्रममा रहेकाले अहिले यति नै भन्न सकिएन,’ प्रहरी प्रवक्ता विश्वराज पोखरेलले भने।
सर्लाही घटनालाई लिएर मानवअधिकार आयोग तथा व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले असन्तुष्टि जनाउँदै छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। सत्तारूढ दलकै सांसदहरूले पौडेललाई नियन्त्रणमा लिएर मारिएको बताएका छन्।
राज्य व्यवस्था समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग सोमबार धेरै प्रश्न गरेको थियो। जवाफमा खनालले दोहोरो मुठभेडमै पौडेल मारिएको दाबी गर्दै सांसदहरूलाई पौडेलको विगत हेर्न आग्रह गरेका थिए।
संसदीय समितिले प्रश्न उठाउँदा समेत प्रहरीले दोहोरो मुठभेडको परिस्थिति कसरी बन्यो भन्नेबारे चित्तबुझ्दो जवाफ दिएको छैन।
प्रहरी प्रवक्ता पोखरेलले प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताए।
‘बाहिर हल्ला चलेजस्तो नियन्त्रणमा लिएर मारिएको हैन,’ पोखरेलले भने, ‘आत्मरक्षाका लागि गोली चलाउँदा यस्तो घटना हुन पुगेको हो।’
सर्लाही घटनामा नेपाल प्रहरीबाट तीन दर्जन सुरक्षाकर्मी खटिएका थिए। उच्च सुरक्षा अधिकारीका अनुसार यतिका सुरक्षाकर्मीमाथि पौडेलको समूहले फायर गर्ने अवस्था थिएन। यहाँ प्रहरीले आत्मरक्षा तथा अधिकारकै दुरुपयोग गरेर पौडेलमाथि गोली चलाएको बुझ्न सकिने ती सुरक्षा अधिकारी बताउँछन्।
पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीका अनुसार दोहोरो मुठभेडमा आफ्नै ज्यान खतरामा पर्ने अवस्थामा प्रहरीले आत्मरक्षा निम्ति गोली चलाउन सक्छ।
तर, समान हैसियत (उस्तै हतियार, फौजी अभ्यास र हतियार) प्रयोग गर्ने समूहसँग मात्रै।
‘सर्लाहीमा मारिएको व्यक्ति फौजी हैन, दर्जनौं प्रहरीमाथि एक-दुई जनाले गोली चलाउने हिम्मतै गर्दैन,’ भण्डारी भन्छन्, ‘उसमाथि त्यो समूह राजनीतिक मुद्दा उठाएर राज्यसँग चुनौती दिइरहेको छ, राज्यको नीति नियन्त्रण गर्ने वा वार्तामार्फत समस्या समाधान गर्ने हुनुपर्ने हो। यहाँ त राज्यले मान्छे मार्ने नीति लिएको हो कि भन्ने सन्देह उत्पन्न भएको छ।’
अपराध अनुसन्धानमा लामो समय बिताएका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी पनि भण्डारीको भनाइमा सहमत छन्। मुलुकमा अपराध नियन्त्रणको सवालमा नियन्त्रकको भूमिका संयम हुनुपर्ने उनको धारणा छ।
उनी भन्छन्, ‘ऐन नियमले मुद्दा चलाउँदा सम्भव हुने परिस्थितिमा ज्यानको क्षति गराउनु हुन्न। मुठभेडकै सन्दर्भमा पनि फिल्डमा खटिने प्रहरीले न्यूनतम् क्षति अपनाएर कानुनी पक्रियामा जानुपर्छ।’
ठकुरी सर्लाही घटनामा साँच्चिकै ‘इन्काउन्टर’ भएको हो भने त्यो ‘अपरेसन’मा त्रुटी भएको औंल्याउँछन्।
पूर्वएआइजी भण्डारीका अनुसार प्रहरी ऐन नियममा पनि गोली हान्ने विषयका पद्धति र प्रक्रिया छन्। आत्मरक्षाको लागि गोली चलाउँदा ‘इन्काउन्टर’ हुन सक्छ तर, त्यो आफ्नै ज्यान जोखिममा परेको अवस्थामा मात्र। त्यसमा पनि ‘सेल्फ डिफेन्स’मा रहेर प्रहरीले कारबाही गर्न सक्छ।
‘कम्मरमुनि गोली हानेर नियन्त्रणमा लिन सकिन्छ,’ भण्डारी भन्छन्, ‘ज्यानै मारेर त समस्या सुल्झिएन नि।’
भण्डारी बहालमा (एआइजी) रहँदा २०७० सालमा नेपालमा संविधानसभाको दोस्रो निर्वाचन भएको थियो। त्यसबेला वैद्य समूहले निर्वाचन बहिस्कार गरेको थियो। उसले संसदीय व्यवस्था मान्दिनँ भनेके थियो। चुनाव बिफल पार्न ठाउँ-ठाउँमा बम राख्थ्यो। त्यो समूहमा अहिलेका गृहमन्त्री रामबहादुर थापा पनि थिए। ‘हामीले गोली हानेर नियन्त्रण लिने रणनीति बनाएको भए त्यतिबेलै द्वन्द्वको बिजारोपण हुन्थ्यो तर हामी संयम् भयौं,’ भण्डारीले भने, ‘त्यो राजनीतिक समस्या थियो, अहिले विप्लवको जे छ। गृह प्रशासन किन द्वन्द्वको बीउ रोप्न उद्धत छ, अचम्म लागेको छ।’
उस्तै घटना, कारबाही फरक
विप्लव समूहका व्यक्तिहरूले हातहतियार देखाएर चन्दा असुलेको गुनासोको आधारमा मोरङ प्रहरीले अपरेसन चलायो। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ ५ बजे बेलबारी नगरपालिका वडा नम्बर ३ स्थित स्कुलडाँडामा को१७प ४५८६ नम्बरको मोटरसाइकल रोकेर तलासी लिँदा दुई जना विप्लव कार्यकर्ता समातिए।
त्यसक्रममा सुन्दर–हरैंचा नगरपालिका वडा नं. १२ का ४० वर्षीय अशोक राई र कंश धिमाल समातिएका थिए।
मोरङ प्रहरीका अनुसार चन्दा उठाउन सक्रिय ती दुवैमाथि अपरेसन चलाइएको थियो। दुवै एउटै मोटरसाइकलमा फेला परेका थिए। प्रहरीले यहाँ चाहेको भए दुवैमाथि सर्लाही घटना दोहोर्याउन सक्थ्यो। तर, प्रहरीले यसमा थप अनुसन्धान देख्यो।
दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरियो। अनुसन्धानको क्रममा हतियार लुकाएको खुलेपछि प्रहरी टोलीले ८ गते नै धिमालको घरमा छापा हान्यो। उनको घरमा अटोमेटिक पेस्तोल दुई थान, म्यागजिन चार थान र १४ वटा गोली फेला परे।
यहाँ कंशको विगतको आपराधिक पृष्ठभूमि खुल्यो। पेस्तोल देखाई केही हतियारधारी समूहले २०६६ सालमा झापाको लक्ष्मी बैंक लुटेको थियो। लुटेराहरूले बैंकबाट दिउँसै ७५ लाख रुपैयाँ लुटेर लगेका थिए।
प्रहरीले व्यापक खोजी गरी एक दर्जन व्यक्तिहरूलाई पक्राउ गरेको थियो। तीमध्ये एक थिए, कंश धिमाल। र, उनी सात वर्ष जेल सजाय भुक्तान गरेर दुई वर्षअघि मात्र रिहा भएका थिए। रिहा भएको केही समयपछि उनी विप्लव समूहमा लागेर चन्दा असुली धन्दामा लागेका थिए। राई विप्लवको मोरङ जिल्ला जनपरिषद प्रमुख थिए भने कंश सक्रिय कार्यकर्ता। दुवैलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान थालिएको छ।
यो पनि हेर्नुहोस्