बझाङ खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलमा सडक खन्न प्रयोग गरेको डोजर फिर्ता भएको छ। खेत कोतर्न रोकिएको छ।
रोपाइँको खेत हुँदै मध्यबर्खामा कुदेको डोजरले २० किसानको खेत मात्र बिगारेको थिएन, तीन वटा खानेपानी आयोजना र कुलो पनि भत्काएको थियो। यसबारे समाचार आएपछि स्थानीय प्रशासनले सडक खन्ने काम रोक्न निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालय बझाङले सडक निर्माण उपभोक्ता समिति अध्यक्ष सुरेन्द्रबहादुर सिंहलाई सदरमुकाम बोलाएर डोजर फिर्ता गर्न निर्देशन दिएको थियो।
बुधबार सडक खन्ने क्रममा खेत, कुलो र तिउने राजकोट खानेपानी, खापर दुधिर खानेपानी तथा ठण्डापानी पूजारी गाउँ खानेपानी आयोजनाका पाइप तोडिएका थिए।
सुदूरपश्चिम प्रदेश सरकारको योजना अन्तर्गत यो सडको खनिएको थियो। सडक खन्न सुरू गरे पनि पूरा गर्न नपाएको लम्तडा–कालुखेती–थामलेक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सिंहले बताए।
‘साढे ९ किलोमिटर सडकको नयाँ ट्रयाक खन्नु पर्ने हो। एक किलोमिटर बाँकी छँदै डोजर फिर्ता पठाइयो,’ अध्यक्ष सिंहले सेतोपाटीसँग भने, ‘चार पटक सर्भे गरी गाउँलेसँग छलफल गरेर सडक खने पनि विरोध भयो।’
तर यसपालि गाँउलेसँग सल्लाह नगर्नु र हतारमा सडक खन्नु कमजोरी भएको उनले स्वीकारे। भत्किएको कुलो र खानेपानी योजना बनाइदिने सहमति भैसकेको पनि बताए।
‘भत्किएको कुलो र खानेपानीका पाइप मर्मत गरिदिन्छौं भनेको हो,’ उनले भने, ‘मर्मत गर्न पाइप किनिसकिएको छ।’
खानेपानी आयोजना मर्मतका काम भइराखेको र सिँचाइ कुलो मर्मत गरेपछि किसानले खेत रोप्न पाउने उनले बताए।
मध्य वर्षामा डोजर चलाउने काम कसरी भयो, सडक खन्न किन बर्खा पर्खेनु परेको भन्ने प्रश्नमा उनले बजेट नै ढिलो आएको बताए।
आर्थिक बर्षको अन्तिममा बल्ल जेठ १० गते प्रदेश सरकारसँग उपभोक्ता समितिले सडक खन्न सम्झौता गरेको जानकारी उनले दिए।
‘सम्झौता गर्न ढिलो भयो। असार २५ सम्म खनिसक्नुपर्ने थियो हतार भएकै हो,’ उनले भने।
बर्खामा ट्रयाक खन्ने बजेटमात्र आएको पनि उनले स्वीकारे।
खनिएको सडकलाई ग्राभेल गर्ने बजेट नभएको उनले बताए।
‘अहिलेको बजेट नयाँ ट्रयाक खन्नका लागि हो। त्यही पनि पूरा काम गर्न पाइएन। पछि काम गर्ने गरी अहिले डोजर फिर्ता गरियो,’ उनले भने।
अहिलेको घटनाले गाउँलेहरूको सहमतिमा विकासका काम गर्ने पाठ सिकेको उनले बताए।
‘केही कमजोरी भयो। पाठ सिकियो। गाउँलेलाई हानी नपुग्ने गरी विकासका काम गर्नुपर्ने रहेछ,’ उनले भने।
बझाङको यो घटना बजेट सक्न गरिने ‘असारे विकास’को नमूना भएको छ।
बर्खामा रोपाईं भएको खेतको बिचबाट ट्र्याक खोलेर छाडेपछि त्यो सडक बर्खा सकिन्जेलमा पुरिइसक्छ।
यो पनि पढ्नुस्: