संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सोमबार दिउँसो खाजा समयपछि अन्तिम चरणमा प्रवेश गरेको थियो।
त्यतिबेलै शाही इजलासमा आइन्।
न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरा पक्षका वकिलहरूको बहस सकिसकेको थियो।
महराका वकिलमा नियुक्त भएका पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ उठे र रोशनीलाई आफ्ना कुरा राख्न दिन माग गरे।
'जाहेरीवाली यहीँ आउनुभएको छ श्रीमान्, उहाँलाई आफ्ना कुरा राख्ने मौका दिनुपर्यो,' वरिष्ठ अधिवक्ता श्रेष्ठलाई उदृत गर्दै इजलासमा उपस्थित एक वकिलले भने।
महराको पक्षमा सबभन्दा बलियो प्रमाण भनेको पीडितले अदालतमै आएर दिएको इन्कारी निवेदन हो।
शाहीले अदालतमा दिएको लिखित निवेदनमा भनेकी छन्, 'असोज १५ गते प्रहरीमा दिएको दोस्रो निवेदन नै साँचो हो। त्यसैलाई अदालतले स्वीकारोस्।'
उनले घटनाको तेस्रो दिन असोज १५ गते आफ्ना श्रीमान् चित्रजंग शाहीसँग प्रहरीकहाँ गएर महराले आफूलाई केही नगरेको निवेदन दिएकी थिइन्।
डिप्रेसनको औषधि खाइरहेकाले बीच-बीचमा फरक कुरा बोलेको भए पनि असोज १५ गते प्रहरीमा दिएको निवेदनलाई नै आफ्नो आधिकारिक धारणा मान्न उनले अनुरोध गरेकी छन्।
न्यायाधीशले शाहीको निवेदन मिसिलसाथ राख्न आदेश दिइसकेका थिए।
महरालाई थुनामुक्त गर्नुपर्ने जिकिरलाई पुष्टि गर्न आज पनि उनका वकिलले रोशनीको इन्कारी बयान इजलासमा गराउन कोशिस नगर्ने कुरै थिएन।
वरिष्ठ अधिवक्ता श्रेष्ठको माग सुनेपछि सरकारी वकिल उमाकान्त पौडेल बोल्न उठे।
सरकारी वकिल अपराध पीडितका तर्फबाट मुद्दा लड्छन्।
'श्रीमान्, आज थुनछेक बहस चलिरहेको हो। हाम्रो बहस नै सकिएको छैन। पीडितको वकपत्र (अदालतमा न्यायाधीशसामू पीडितले गर्ने बयान)को आफ्नै प्रकृया छ। पीडितलाई त्यही बेला बोल्न दिनुपर्छ,' सरकारी वकिल पौडेललाई उदृत गर्दै इजलासमा उपस्थित स्रोतले भन्यो, 'पीडितलाई पछि अदालतले सम्मानजनक तरिकाले वकपत्रका लागि बोलाउँछ त्यसबेलामात्र उहाँले आफ्ना कुरा राख्न पाउनुहुन्छ, श्रीमान्!'
दुवै वकिलका जिकिर सुनेर रोशनी भने चुपचाप नै बसिन्।
न्यायाधीशले पनि बोल्न दिने वा नदिने केही बोलेनन्। खाली बहस अघि बढाउन सरकारी वकिललाई इशारा गरे।
त्यसपछि महरालाई थुनामै राखेर कारबाही गर्नुपर्ने जवाफी बहस सरकारी वकिल पौडेलले अघि बढाए।
दुवै पक्षका वकिलको बहस सुनेपछि जिल्ला न्यायाधीश पाण्डेले महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिए।
अहिलेसम्म आएका तथ्य र प्रमाण हेर्दा महरालाई थुनाभित्रै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भन्दै थुनुवा पुर्जी दिएर डिल्लीबजार कारागार पठाउन उनको आदेशमा उल्लेख छ।
पक्राउ परेको ४ दिनपछि बिरामी भएको भन्दै थापाथलीस्थित नर्भिक अस्पतालमा बसिरहेका महरा कारागार पुगेका छन्।
उनलाई नर्भिकमै पठाउने कि थुनामा राख्ने निर्णय डिल्लीबजार कारागारले नै गर्ने छ।
असोज १२ गते साँझ रक्सी खाएर शाहीको घरमा पुगेको र उनलाई जबर्जस्ती गर्न खोजेको भन्दै सरकारी वकिल कार्यालयले उनीविरूद्ध अदालतमा मुद्दा दायर गरिसकेको छ।
जबरजस्ती करण उद्योगको कसूरमा साढे तीन देखि पाँच वर्ष र सार्वजनिक पदमा बसेर त्यस्तो कसूर गरेकोमा त्यसको डेढी सजाय हुनुपर्ने सरकारी वकिलको माग छ।
दुवै जोडेर साढे पाँचदेखि साढे सात वर्षसम्मको कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो।
घटना सार्वजनिक भएको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टीले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो।
उनले भने सभामुखबाट मात्र राजीनामा दिएका छन्।
महराविरूद्ध जाहेरी परेपछि असोज १९ गते उनलाई प्रहरीले सभामुख निवास बालुवाटारबाटै पक्राउ गरेको थियो।
यो पनि :
अदालतमा रोशनी शाही 'होस्टायल'