नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोहराटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आधा घण्टा भलाकुसारी गरे।
दुई दिनअघि बसेको केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि असन्तुष्ट पौडेललाई सहमतिमा ल्याउन उपसभापति विमलेन्द्र निधिलाई लिएर देउवा शनिबार पौडेल निवास पुगेका थिए।
देउवा-पौडेलबीच भएको भलाकुसारी उपसभापति निधि र पौडेल पक्षका केन्द्रीय सदस्य हृदयराम थानीले पनि छेवैमा बसेर सुने।
कुराकानीको थालनी देउवाले यसरी गरे- तपाईंले मलाई सघाउनुपर्यो, विभाग गठन गरेर केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनु पर्नेछ।
तर पौडेलले आफ्नो पूर्ववत् अडान छाडेनन्।
‘१४ औं महाधिवेशनको कार्यतालिका ल्याएपछि मात्रै केन्द्रीय समिति बैठकमा उपस्थित हुन्छौं,’ पौडेलले पुरानै अडान दोहोर्याए।
पौडेल आफ्नो अडानबाट टसमस नहुने देखेपछि देउवाले सम्झाउने प्रयास गरे।
‘समायोजनपछि कार्यतालिका ल्याउने पहिले नै निर्णय गरिसकेका छौं। समायोजन सक्न अझै १५/२० दिन लाग्ला,’ देउवाले भनेका थिए।
देउवाले अझै प्रष्टाउन खोजे।
कार्यतालिका ल्याउने केन्द्रीय समितिले होइन। यो त निर्वाचन समितिले हो। केन्द्रीय समितिले त बरू पार्टी महाधिवेशनका गर्न समय थप गर्ने हो।
आफ्ना कुरा ध्यान दिएर सुनिरहेका पौडेललाई देउवाले थप कुरा पनि भनिहाले- निर्वाचन समितिले कार्यतालिका बनाउँदै गर्छ। हामी महाधिवेशनका लागि म्याद थप गर्ने हो।
कुराकानीका क्रममा देउवाले भातृसंस्थाबारे पनि चिन्ता प्रकट गरे।
‘नेविसंघ, तरूण दल र विभाग गठनमा सघाउनुहोस्,’ पौडेललाई देउवाले आग्रह गरे।
यतिञ्जेल देउवाका कुरा सुनेका पौडेलले महाधिवेशनको कार्यतालिका बनाउन छाडेर भातृसंस्थाको चिन्ता नगर्न देउवालाई आग्रह गरे।
‘यी सब तपशीलका कुरा हुन्। पहिले महाधिवेशनको कार्यतालिका चाहिन्छ। महाधिवेशनको एजेन्डा पहिलो सर्त हो। पार्टीलाई एकजुट बनाएर अहिलेको चुनौती हल गर्नुपर्छ,’ पौडेलले भने।
भातृसंस्थाका कुरा निकालेर महाधिवेशन कार्यतालिकाको एजेन्डा पर धकेल्न खोजेको शंका लागेपछि पौडेलले तपशीलका कुरा सम्झाएका हुन्।
यति कुरा गरेपछि ‘वार्ता समिति बनेकै छ, त्यहीँबाट सबै कुरा टुंग्याऔं’ भन्दै देउवा-पौडेल उठे।
पौडेल स-परिवार आइतबार पाथीभरा दर्शनका लागि जाँदैछन्।
यता आइतबार नै कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको छ। उनी बैठकमा सहभागी हुने छैनन्।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि देउवा र पौडेलले वार्ता गर्न समिति पनि बनाएका छन्।
देउवा पक्षबाट वार्ताको जिम्मा उपसभापति निधिले र पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दिइएको छ।
‘सभापति र वरिष्ठ नेताबीच छलफल भए पनि केही सहमति भएन,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीसँग भने, ‘आजै बेलुकीसम्म सहमति जुटाउने गरी कुराकानी भइरहेको छ।’
वार्ताको जिम्मेवारी पाएका निधिले शनिबार नै सिंहसँग छलफल गर्दैछन्।
उनीहरूबीच सिंह निवास चाक्सीबारीमा कुराकानी हुने तय भएको छ।
किन असन्तुष्ट पौडेल?
वरिष्ठ नेता रामचन्द्र पौडेल छिटो महाधिवेशन होस् भन्ने पक्षमा छन्।
उनले गत महासमिति बैठकदेखि नै समयमै महाधिवेशनको एजेन्डालाई प्राथमिकतामा राखेका थिए।
सभापति देउवाले एक वर्ष कार्यकाल थप गर्ने तयारी गरेपछि पौडेल अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गरेर जानुपर्ने अडानमा छन्। देउवाले महाधिवेशनको समय धकेल्दै लैजाने हुन् कि भन्ने आशंका पौडेललाई छ।
गत साउनमा बसेको केन्द्रीय समिति बैठकबाट मंसिर मसान्तभित्रमा महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने सहमति भएको थियो। त्यो सहमतिलाई कार्यान्वयनमा ल्याउन पौडेलले अहिले सभापति देउवालाई दबाब दिइरहेका हुन्।
देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिँदैछ। उनी विधानअनुसार नै थप गर्न पाउने एक वर्ष कार्यकाल थप गर्ने पक्षमा छन्।
कार्यकाल थप गर्ने भए पनि अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान पौडेलको छ।
यतिमात्र होइन, तीन महिनाभित्र गठन गर्नुपर्ने पार्टी विभाग चार वर्षसम्म गठन नगरेका देउवाले आफ्नो सहमतिबिनै विभाग गठन र थप गर्ने एजेन्डा केन्द्रीय समितिमा पेश गरेपछि पौडेल पक्ष असन्तुष्ट छ।
देउवाले गत बिहीबार केन्द्रीय समितिमा ४१ विभाग गठन गर्ने प्रस्ताव गरेका थिए।
पार्टी विधान नै संशोधन गरेर २८ बाट विभाग थपेर ४१ बनाउन लागेपछि पौडेल पक्ष सशंकित छ।
सभापति देउवाले महाधिवेशन नजिकिएका बेला आफ्ना पक्षमा चलखेल गर्न विभाग बढाउन र आफूखुसी जिम्मेवारी दिन लागेको आरोप पौडेल पक्षको छ।
भातृसंस्था नेविसंघ गत वर्ष माघदेखि नै नेतृत्वविहीन छ।
११ औं महाधिवेशन गराउन तदर्थ समिति बनाउने तयारी भए पनि ३२ वर्षे उमेरहद तोडेर नेतृत्व ल्याउन लागेको भन्दै विद्यार्थीले नै विरोध गरेका छन्।
चार जना मात्रै रहेको तरूण दलको पनि कार्यकाल सकिएको छ। छ महिना तरूण दलको म्याद थप गर्न सभापति देउवाले केन्द्रीय समितिमा प्रस्ताव लगेका छन्।
पौडेलले नेविसंघ र तरूण दलमध्ये एकमा आफूपक्षका नेताले नेतृत्व गर्न पाउनुपर्ने अडान पनि राखेका छन्।
यो पनि:
विवाद समाधान गर्न निधिले भेटे सिंह
देउवा र निधिले भेटे पौडेललाई
४१ विभाग बनाउने देउवाको प्रस्ताव