बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरे पनि दुई घण्टा ढिला गरी सुरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक केहीबेरमै टुंगियो।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेपछि सुरू भए पनि मुख्य एजेन्डामा प्रवेश गरेन।
गत बिहीबार सभापति शेरबहादुर देउवाले २८ विभाग बढाएर ४१ पुर्याउने र विभागलाई पूर्णता दिनेलगायत ९ एजेन्डा पेश गरेका थिए।
ती एजेन्डामाथि छलफलका लागि बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
केहीबेर बसेको बैठकले चार वटा निर्णय भने गरेको छ।
पौडेल पक्ष सहभागी नभए पनि बैठक सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन केही निर्णय भएका छन्।
कांग्रेसले धनुषामा बम पड्किएर भएको घटना, सडक दुर्घटना र पार्टी कार्यकर्ताको निधनमा समवेदना दिने निर्णयहरू गरेको हो।
सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण र रमेश लेखकले धारणा राखे।
बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सहमति जुटाएर सोमबार फेरि बैठक बस्ने जानकारी दिए।
‘केहीबेर बसेर आजका लागि बैठक टुंगियो, भोलि दिउँसो १ बजे फेरि बस्छ,’ उनले सेतोपाटीसँग भने।
पौडेलका अनुसार शुक्रबार राति धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा बम बिस्फोटमा परी मृत्यु भएका प्रहरी निरीक्षक अमिर दाहाल, घरधनी राजेश साह र उनका छोरा आनन्द साहको निधनमा पार्टीले गहिरो दु:ख व्यक्त गरेको छ।
‘बम बिस्फोट गराउने दोषी जो भए पनि कानुनी दायरामा ल्याउने कर्तव्य निर्वाह गर्न नसक्नु र शान्ति सुरक्षा कायम गर्न निरन्तर सरकार असफल हुँदै गएको तथ्यप्रति चिन्ता प्रकट गर्दछौं,’ कांग्रेसले भनेको छ।
कांग्रेसले शान्ति सुरक्षा दिन र बिस्फोटजस्ता घटनामा गम्भीर हुन पनि सरकारलाई आग्रह गरेको छ। घटनाको छानविन गर्न कांग्रेसले माग गरेको पौडेलले बताए।
‘घटनाको उच्चस्तरीय छानविनका लागि माग गर्दै बम विष्फोटमा परेर घाइते भएकाको उपचार गर्न र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछ,’ कांग्रेस बैठकले गरेको निर्णयमा उल्लेख छ।
कांग्रेसले सडक दुर्घटना नियन्त्रण गर्न पनि सरकारसँग माग गरेको छ। कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बस आइतबार विहान दुर्घटना हुँदा १४ जनाको मृत्यु र १८ जना घाइते छन्।
‘घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको प्रवन्ध गर्न सरकारसँग माग गर्दछ,’ कांग्रेसले भनेको छ।
यस्तै कांग्रेसले श्रृंखलावद्ध दुर्घटनामा चिन्ता व्यक्त गरेको छ।
मंसिर १७ गते बागलुङमा १४ जना, मंसिर १६ गते सुनसरीमा ६ जना, मंसिर ११ गते अर्घाखाँचीमा १९ जनालगायतको मृत्यु भएको भन्दै सडक यात्रामा नागरिकको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।
‘सडक यात्रामा नागरिकको जीवनको रक्षा गर्नुपर्ने सरकार कहाँ छ भन्ने प्रश्न गम्भीर रूपमा उब्जिएको छ,’ कांग्रेसले भनेको छ, ‘सडक दुर्घटना नियन्त्रणमा सरकार असफल भएको ठहर गर्दै दुर्घटनाको मुकदर्शक नभएर नियन्त्रणका लागि पहलकदमी गर्न अपिल गर्दछ।’
कांग्रेसले कञ्चनपुरमा जंगली हात्ती आक्रमणबाट वसन्ती भट्ट र भूरी बोहराको मृत्यु भएको भन्दै उचित राहतको व्यवस्था गर्न पनि माग गरेको छ।
बरिष्ठ नेता रामचन्द्र पौडेललगायत उनीपक्षका केन्द्रीय सदस्य सरिक नभएपछि बैठक मुख्य एजेन्डामा प्रवेश गरेको थिएन। पौडेल पाथीभरा दर्शनका लागि गएका छन्।
यो पनि:
केन्द्रीय समिति बैठक छाडेर पाथीभरा पुगे पौडेल
उनी फर्केपछि सहमति गरी सोमबार दिउँसो फेरि बैठक बस्ने निर्णय कांग्रेसले गरेको हो।
१४ औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडान राख्दै पौडेल पक्ष केन्द्रीय समिति बैठकमा उपस्थित नभएको हो।
किन असन्तुष्ट पौडेल?
वरिष्ठ नेता रामचन्द्र पौडेल छिटो महाधिवेशन होस् भन्ने पक्षमा छन्।
उनले गत महासमिति बैठकदेखि नै समयमै महाधिवेशनको एजेन्डालाई प्राथमिकतामा राखेका थिए।
सभापति देउवाले एक वर्ष कार्यकाल थप गर्ने तयारी गरेपछि पौडेल अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गरेर जानुपर्ने अडानमा छन्। देउवाले महाधिवेशनको समय धकेल्दै लैजाने हुन् कि भन्ने आशंका पौडेललाई छ।
गत साउनमा बसेको केन्द्रीय समिति बैठकबाट मंसिर मसान्तभित्रमा महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने सहमति भएको थियो। त्यो सहमतिलाई कार्यान्वयनमा ल्याउन पौडेलले अहिले सभापति देउवालाई दबाब दिइरहेका हुन्।
देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिँदैछ। उनी विधानअनुसार नै थप गर्न पाउने एक वर्ष कार्यकाल थप गर्ने पक्षमा छन्।
कार्यकाल थप गर्ने भए पनि अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान पौडेलको छ।
यतिमात्र होइन, तीन महिनाभित्र गठन गर्नुपर्ने पार्टी विभाग चार वर्षसम्म गठन नगरेका देउवाले आफ्नो सहमतिबिनै विभाग गठन र थप गर्ने एजेन्डा केन्द्रीय समितिमा पेश गरेपछि पौडेल पक्ष असन्तुष्ट छ।
देउवाले गत बिहीबार केन्द्रीय समितिमा ४१ विभाग गठन गर्ने प्रस्ताव गरेका थिए।
पार्टी विधान नै संशोधन गरेर २८ बाट विभाग थपेर ४१ बनाउन लागेपछि पौडेल पक्ष सशंकित छ।
सभापति देउवाले महाधिवेशन नजिकिएका बेला आफ्ना पक्षमा चलखेल गर्न विभाग बढाउन र आफूखुसी जिम्मेवारी दिन लागेको आरोप पौडेल पक्षको छ।
भातृसंस्था नेविसंघ गत वर्ष माघदेखि नै नेतृत्वविहीन छ।
११ औं महाधिवेशन गराउन तदर्थ समिति बनाउने तयारी भए पनि ३२ वर्षे उमेरहद तोडेर नेतृत्व ल्याउन लागेको भन्दै विद्यार्थीले नै विरोध गरेका छन्।
चार जना मात्रै रहेको तरूण दलको पनि कार्यकाल सकिएको छ। छ महिना तरूण दलको म्याद थप गर्न सभापति देउवाले केन्द्रीय समितिमा प्रस्ताव लगेका छन्।
पौडेलले नेविसंघ र तरूण दलमध्ये एकमा आफूपक्षका नेताले नेतृत्व गर्न पाउनुपर्ने अडान पनि राखेका छन्।